कुश्मामा सहकारी व्यवस्थापन तालिम

रोहन जि.सी, पर्वत

हितकारी कल्याण केन्द्र गण्डकी प्रदेश कार्यालय पोखराको आयोजना तथा कुश्मा नगरपालिकाको सहयोगमा सहकारीका सञ्चालक र कर्मचारीको क्षमता अभिवृद्धि तथा सहकारी व्यवस्थापन तालिम पर्वतको कुश्मामा आइतवारदेखि शुरु भएको छ ।

एक हप्तासम्म सञ्चालन हुने तालिमको उद्घाटन हितकारी कल्याण केन्द्र गण्डकीका सहायक सेनानी गोपाल कुँवरले गर्नु भएको थियो । सो अवसरमा बोल्दै उहाँले नेपाली सेनाबाट सेवा निवृतहरुले सञ्चालन गरेका सहकारीहरुलाई संस्थागत रुपमा सक्षम बनाउदै सदस्यहरुको आर्थिक विकास र सामाजिक रुपान्तरणमा योगदान गर्ने उद्देश्यका साथ तालिम आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रममा तालिमका सहजकर्ता राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारी व्यवसायलाई प्रभावकारी रुपमा सञ्चालनका लागि सहकारीका सञ्चालकहरुले यसको अवधारणा स्पष्टसंग बुझ्नु पर्नेमा जोड दिनुभयो ।

सहकारी सञ्चालन गर्ने, यसको विकास गर्ने, प्रवद्र्धन गर्ने र संकटमा जोगाउने भनेको सदस्यले हो, सदस्यलाई वेवास्ता गरेर सञ्चालकहरुको मनोमानीका कारण कतिपय सहकारीहरु संकटमा पर्दै गएको भन्दै उहाँले सदस्य सचेतनामा थप ध्यान दिनु पर्ने बताउनुभयो ।

कुश्मा नगरपालिका सहकारी शाखाका प्रमुख ऋषिराम शर्माले सहकारीहरुमा समस्या आउनुको मुख्य कारण सुशासनको कमी देखिएकाले सबै मिलेर सुशासन कायम गर्दै सहकारीको साख जोगाउनु पर्नेमा जोड दिनुभयो ।

चैत ३ गतेसम्म सञ्चालन हुने तालिममा सहकारीको अवधारणा, कसरी किन र कसलाई, सहकारीका मुल्य मान्यता र सिद्धान्त, सहकारी संस्थाको आन्तरिक संरचना र सुशासन, सहकारीमा नेतृत्वको भूमिका र क्षमता विकास लगायतका विषयमा सहजीकरण गरिने कुश्मा नगरपालिका सहकारी शाखाका प्रमुख ऋषिराम शर्माले जानकारी दिनुभयो ।

तालिम उद्घाटन कार्यक्रम नेपाल भूूतपूर्व सैनिक बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शिव शर्माको अध्यक्षता, सचिव देवेन्द्र नेपालीको सञ्चालन र कोषाध्यक्ष खडग बहादुर गुरुङको स्वागतमा सम्पन्न भएको थियो ।

तालिममा नेपाल भूतपूर्व सैनिक बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक, कर्मचारी र शेयर सदस्यहरु सहित ३० जनाको सहभागिता रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *