उत्तरगंगा जलाशय जनताको चाहना अनुसार नै बन्छ : मुख्यमन्त्री अधिकारी

आदर्श अनलाइन, बागलुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमालेका स्थायी कमिटि सदस्य खगराज अधिकारीले ढोरपाटनमा बन्ने तयारीमा रहेको उत्तरगंगा जलाशय स्थानीय जनताको चाहना अनुसार नै निर्माण हुने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

नेकपा एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियान अन्तरगत आइतवार ढोरपाटन नगरपालिका वडा नं. ९ ढोरपाटनमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री अधिकारीले जनताले चाहेकै आधारमा जलाशय बन्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

ढोरपाटन मुलुक चिनाउने महत्वपूर्ण क्षेत्र हो, यसलाई व्यवस्थित गराउन सकेको खण्डमा यो क्षेत्र र देशकै उन्नतीमा योगदान पुग्न सक्छ, मुख्यमन्त्री अधिकारीले भन्नुभयो–‘ढोरपाटनलाई पर्यटकीय क्षेत्रका रुपमा सबै हिसावले विकास गर्न गण्डकी प्रदेश सरकार तयार नै छ ।’

सडक सञ्जाललाई व्यवस्थित गराई आन्तरिक तथा बाह्य पर्यटकलाई सहज रुपमा ढोरपाटन पुग्ने वातावरण सिर्जना गर्नका लागि तिनवटै तहका सरकारबीच सहकार्य र समन्वय आवश्यक रहेको उहाँले बताउनुभयो ।

नेकपा एमालेको नेतृत्वमा मुलुक निर्माण महत्वूर्ण परियोजनाहरु सञ्चालन भएको भन्दै उहाँले एमालेले विकास निर्माण र राष्ट्रियताको पक्षमा गरेका कामकै कारण सबैतिरबाट आक्रमण भएको दावी गर्नु भयो । एमालेलाई जति दवाउन खोज्छन्, एमाले त्यतिनै शसक्त भएर जनताका बीचमा स्थापित हुने उहाको भनाइ थियो ।

ढोरपाटन नगरपालिकाको समग्र विकासका बारेमा चर्चा गर्दै उहाँले १५ बेडको अस्पताल बनाउने कुरा चलेको छ, यो क्षेत्र स्वास्थ्यका हिसावले संवेदनशिल क्षेत्र भएकाले ५० बेडको अस्पताल निर्माणमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रममा प्रतिनिधिसभाका सदस्य देवी भट्टचनले विकासका लागि सबैको बीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो ।

गण्डकी प्रदेशसभाका सदस्य कृष्ण पाठकले बागलुङको पहिचान बढाउनका लागि ढोरपाटनको विकासलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको थियो ।

कार्यक्रममा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य तथा ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपाली, सचिवालय सदस्यहरु प्रेम खरेल र मञ्जु चालिसे, प्रदेश कमिटि सदस्य टंक प्रसाद पौडेल, जिल्ला उपाध्यक्ष लक्ष्मण पुन लगायतले एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानमा पार्टीका नेता कार्यकर्ताको भूमिका लगायतका विषयमा धारणा राख्नु भएको थियो ।

कार्यक्रम एमाले जिल्ला सचिवालय सदस्य बीर बहादुर विश्वकर्माको अध्यक्षता, जिल्ला सदस्य नन्द सुनारको स्वागत र जिल्ला सदस्य चुन्न घर्तिको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *