स्ववियू निर्वाचनमा पनि विकृत राजनीतिको जड

सम्पादकीय
विश्वविद्यालय र क्याम्पसहरु शैक्षिक प्राज्ञिक स्थल हो । तर, यस पवित्र प्राज्ञिक स्थलहरुमा देखिने अतिवादको राजनीतिले शैक्षिक स्थल प्रदुषित बनिरहेका छन् भने अराजक, बेथितिग्रस्त दृश्य सर्वत्र देखिन्छ । विश्वविद्यालय र क्याम्पसहरु राजनीतिक दलहरुको भर्ति केन्द्र जस्ता बनेका छन् । प्राध्यापक, शिक्षक र त्यसमा नियुक्त पदाधिकारी, कर्मचारी राजनीतिक दलकै भातृ संगठनमा बस्ने मात्र होइनन्, क्यापसको जिम्मेवारी भन्दा दलहरु प्रति नै उत्तरदायी भएर काम र गतिविधि गर्ने प्रवृत्तिले शैक्षिक क्यालेण्डर प्रभावित मात्र होइन, उच्च शैक्षिक स्थलहरु प्रतिको भरोसा समेत टुट्दै जान थालेको छ । प्राज्ञिक स्थलहरु अर्को शब्दमा भन्दा राजनीतिक क्रिडास्थल बनेका छन् । जुन भविष्यको दक्ष जनशक्ति उत्पादन गर्ने थलोको सबै भन्दा खतरानक परिदृश्य हो ।

अहिले देशभरका विश्वविद्यालय र क्याम्पसमा यही चैत्र ५ गते स्ववियू निर्वाचन गर्ने कार्यतालिका छ । जसका लागि राजनीतिक दलका भातृ संगठनको रुपमा रहेका विद्यार्थी संगठनहरु चुनावी रस्साकस्सीमा छन् । तर, दुर्भाग्य भन्नुपर्छ विद्यार्थीहरुले आफ्नो अभिमत मार्पmत विद्यार्थीको हकहितमा काम गर्ने नेतृत्व चुन्ने बेला विद्यार्थी संगठनहरु अस्वस्थ खेलमा मात्र होइन, खुलेआम अराजक गतिविधिमा उत्रिरहेका छन् । जुन देख्दा मात्रै पनि लज्जाबोधको अनुभूति हुन्छ । संघीय राजधानी काठमाडौंका क्याम्पसहरुमा विद्यार्थीहरु खुकुरी नचाइरहेका छन् । अरु विश्वविद्यालय र क्याम्पसहरुमा पनि आपसी झडप र तालाबन्दीको छरपष्ट दृश्य देखिन्छ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति नजिकिँदै जाँदा धौलागिरी बहुमुखी क्याम्पसमा समेत उस्तै फोहोरी खेलको पुनरावृत्ति भइरहेको छ । साविक धौलागिरी अञ्चलको एक मात्रै आंगिक क्याम्पसमा केही विद्यार्थी संगठनले फर्जी विद्यार्थी भर्ना र परिचयपत्र भेटिएको विषयलाई लिएर तालाबन्दी गरिरहेका छन् । अनेरास्ववियु, अखिल क्रान्तिकारी, अखिल क्रान्तिकारी बहुमत, अखिल क्रान्तिकारीका विप्लव र अखिल संयुक्त प्यानल बिरोधमा छन् भने नेपाल विद्यार्थी संघ तत्काल उम्मेदवारी मनोनयनको पक्षमा छन् । फलस्वरुप अझै सम्म मनोनयन दर्ता हुन सकेको छैन । जबकि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन कार्यतालिकामा आइतवार उम्मेदवार मनोनयन पत्रको नामावली दाखिला तथा प्रकाशित गर्ने थियो ।

निर्वाचन लोकतन्त्रको सबै भन्दा सुन्दर पक्ष हो । निर्वाचन निर्धारित समयमा नियमित रुपमा हुनु पर्दछ । तर, स्ववियू निर्वाचन राजनीतिक सम्बद्ध विद्यार्थी संगठनहरुको अनेकन विवाद र बाहनाका बाबजुद लामो समयदेखि हुन सकेको थिएन । अहिले त्रिभुवन विश्वविद्यालयले निर्वाचन गर्ने अठोट लिएको छ । अब निर्वाचन कुनै पनि विवाद र बाहनामा रोकिनु हुँदैन । यसो भन्दैमा निर्वाचन जित्नका लागि जे पनि गर्ने हठकण्डाबाट सचेत, शिक्षित र जागरुक मानिएका विद्यार्थी संगठन र भोलिका उदाउँदा नेताहरु समेत त्यसमै लामबद्ध हुनु दुर्भाग्यपूर्ण कुरा हो । चुनावका लागि फर्जि विद्यार्थी भर्ना गर्ने, परिचय पत्र बनाउने कार्य रातारात भइरहेको छ भने त्यो गलत हो । अहिले निर्वाचनको सम्मुखमा त्यसको यथोचित पहिचान गरेर फर्जि विवाद समयमै समाधान गर्न नसक्नु क्याम्पस प्रशासन र निर्वाचन समितिको कमजोरी हो । र उम्मेदवारी मनोनयनको घडीमा आएर निर्वाचन नै बिथोलिने गरी तालाबन्दी गर्ने कार्य पनि हारको मानसिकताको उपज हो । यसको समष्टिगत समाधान खोज्न क्याम्पस प्रशासन, विद्यार्थी संगठन र निर्वाचन समितिले अब ढिलाई गर्नु हुँदैन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *