‘बुट्टेनली हरायो, अब मायाको चिनो के दिने ?’

डम्मर बुढा मगर, बागलुङ
“अहिले त आँखा देख्नै छोडेँ, पहिले–पहिले दिनमा दुई वटासम्म नलीमा चित्र बनाउने गर्थे, नली पनि प्रसस्त पाइन्थ्यो तर अहिले लेकमा जान पनि सक्दैन, अहिले त बुट्टेनली हरायो, अब मायाको चिनो के दिने ?” ढोरपाटन नगरपालिका–९ का टेकबहादुर घर्ती मगर उमेरले ८३ मा लाग्नु भयो । अहिले पनि उहाँ घर भित्र बाहिरको काम सहजै गर्न सक्नु हुन्छ । आँखा कमजोर हुँदा चित्र कोर्ने रुची हुँदा हुँदै पनि सक्नु हुन्न ।

चित्र कलामा पोक्त घर्ती मगरले जवानीमा काठ तथा बुट्टे नलीमा धेरै आकृति कोर्नु भयो । एक दशक अगाडिसम्म पनि उहाँले सजिलै बुट्टेनली बनाउने गर्नु हुन्थ्यो तर आँखामा मोतिया बिन्दु भएपछि आँखाको अप्रेशन गर्नुभयो । त्यसपछि उहाँले चित्र कोर्न नसक्ने हुनु भयो । ग्रामीण जनजीवन र मौलिक संस्कृति झल्काउने बुट्टेनली अहिले जिल्लामै बनाउने कलाकारहरु पाइँदैन् । बुट्टेनलीले बागलुङ जिल्लाको चिनारीका रुपमा रहेको छ । नयाँ पुस्तामा सिप पुस्तान्तरण नहुँदा बुट्टेनली अहिले लोपोन्मुख अवस्थामा छ ।

बाँस, देकमा पाइने गजिङ, मालिङ लगायतका बाँसजन्य काठमा हातले कलात्मशैलीमा कुँदेर विभिन्न प्रकारका आकृति दिने गरिएकोमा अहिले त्यो प्रचलन हराउँदै गएको घर्ती मगरले गुनासो पोख्नुभयो । उहाँले देवी देवता खुसी बनाउनका लागि उनीहरुको चित्र बनाउने गरेको बताउनुभयो । बुट्टेनलीमा भगवानको चित्रसैँ फूल, चरा लगायत मौलिक सांस्कृति बोकेका वस्तुहरुको चित्र कोरिने गरेको उहाँको भनाई छ ।

घर्ती मगर भन्नुहुन्छ– “हाम्रो पालामा बुट्टेनली बनाउन समस्या थिएन, बाउ बाजेले बनाउँथे उनीहरुबाटै सिक्यौँ, बनायौँ पनि, अहिले ठिटाहरुले यस्तो काम गर्दैनन्, सिक्न पनि चाहन्न्, त्यसले गर्दा हराउँदै गयो, अहिले पनि गाउँमा दुई/चार जना बुढाहरु छन्, उनीहरुले राम्रो चित्र कोर्थे, अहिले त उनीहरु पनि म जस्तै आँखा नदेख्ने भए ।”

बुट्टनली देश भित्र मात्रै नभई युरोप अमेरिका लगायतका ठूला–ठूला देशमा निर्यात हुने गरेको उहाँले सम्झिनुभयो । अहिले कसैले किन्न चाहे पनि गाउँमा पाइन छोडेको घर्ती मगरले बताउनुभयो । बागलुङ जिल्लाको चिनारी बनेको बुट्टेनली लोप हुँदै गएपछि पहिचान जोगाउनै हम्मेहम्मे पर्ने स्थिती आएको छ । स्थानीय प्रेमबहादुर सुनारले गाउँमा आउने पाहुनालाई मायाको चिनो स्वरुप बुट्टेनली दिने गरेको स्मरण गर्नु भयो ।

सुनारले अहिले ढोरपाटन घुम्न आउने पर्यटकहरुले बुट्टेनली किन्न खोज्ने गरेको सुनाउँदै उनीहरुलाई विक्री गर्ने बुट्टेनली गाउँघरमा पाइन छोडेको बताउनुभयो । लौरोका रुपमा प्रयोग गरिने बुट्टेनली अहिले गाउँका एकाध बुढापाका बाहेक अरुसँग नभएको उहाँले बताउनुभयो । बुट्टेनली बन्न छोडेपछि गाउँका बुढापाकाले बजारमा आएका फलामका लौरोहरु प्रयोग गर्न थालेको उहाँको भनाई छ ।

“हामीहरु त लेकमा बस्ने मान्छे हौँ, सधैँ लेकबेसी गर्नु पथ्र्यो, लेकबेसी गर्दा त्यही बुट्टेनली टेकेर हिडिन्थ्यो, तल–तल बजार तिर जाँदाँ साहु साहेबहरुले उतै राख्नुहुन्थ्यो, निकै राम्रो लाग्थ्यो रे उहाँहरुलाई, कहिले काहीँ गाउँमा आउँदा इष्ट मित्रलाई मायाको सम्झनाका लागि बुट्टेनली दिने चलन थियो” सुनारले भन्नुभयो– “अहिले त त्यस्तो चलन छैन, त्यो चलन पनि हरायो, बुट्टेनली पनि हरायो ।”

निसीखोला गाउँपालिका–६ का तेजिन्द्र घर्ती मगरले बुट्टेनलीसँगै चोयाँबाट बन्ने डोको, नाङ्लो, कोक्रो लगायतका सामानसमेत बुन्न छोडिएको बताउनुभयो । आयातित प्लास्टिकका सामानले चोयाँबाट बन्ने सामग्रीहरु ओझेलमा परेको सुनाउनुभयो । आफ्नो घरमा तीन वर्ष अगाडिसम्म दुई वटा बुट्टेनली रहेकोमा पोखराबाट घुम्न आएका पर्यटकले लिएर गएको उहाँ बताउनुहुन्छ ।

“जुग जमाना फेरिए, पहिले–पहिले निकै प्रयोगमा आउने धेरै सामानहरु अहिले भेट्याउन सकिदैन, त्यस मध्ये बुट्टेनली पनि महत्वपूर्ण मानिन्छ, जिजुबाजेबाट बाजेले सिके, बाजेबाट बाउहरुले सिके तर बाउहरुबाट हामीहरुले सिक्न सकेनौँ, त्यही भएर अहिले कसैले खोज्यो भने कतै पनि भेट्याउन सकिदैन” उहाँले भन्नुभयो ।

साविक धौलागिरी अञ्चलको बागलुङमा बढी प्रचलित बुट्टेनली नेपालमै चर्चित काष्ठकलाका रुपमा लिइन्थ्यो । गाउँमा आउने विदेशी पर्यटकलाई बुट्टेनलीले लोभ्याउने हुँदा उनीहरुले हजारौँ रुपैयाँ तिरेर लैजाने गरेको बुढापाका बताउँछन् । बुट्टेनलीसँगै भेडाका रौँबाट बनेका राडिपाखी र लेकाली गाईको घ्यूसमेत विदेशीले लैजाने गरेको उनीहरुको भनाई छ । अहिले लेकाली गाईको घ्यू र बुट्टेनली भेट्याउनै मुस्किल पर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *