‘दलितमाथि हुने विभेद अहिले पनि उस्तै’

डम्मर बुढा मगर, बागलुङ
बागलुङमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले अन्तरजातीय विवाहका कारण दलित थप पीडित बन्दै गएको बताएका छन् । उमेर पुगेका युवायुवतीले मन मिलेर अन्तरजातीय विवाह गरे पनि परिवारले युवकमाथि बलात्कार, अपहरण लगायतका मुद्धा लगाएर जेलमा हाल्ने गरेको उनीहरुको भनाई छ । राष्ट्रिय दलित आयोगका प्रवक्ता सुन्दर बुर्कुटीसँगको अन्तरिक्रिया कार्यक्रममा यहाँका दलित अगुवाहरुले अहिले पनि समाजमा दलित समुदायलाई हेर्ने दृष्टिकोण नबदलिएको बताए ।

राज्यले दलितका मुद्धालाई उठान तथा समस्या समाधान गर्न नीति कानुन बनाए पनि कार्यान्वयन नहुँदा अहिले पनि आफूहरु समाजको तल्लो दर्जामै रहनु परेको उनीहरुको गुनासो छ । उनीहरुले भने– “हाम्रा लागि संविधानमा धेरै कुराहरु लेखियो तर अहिलेसम्म व्यवहारमा लागु भएन, यसको कार्यान्वयन गर्ने निकायनै गायब जस्तो छ, समाजले गर्ने विभेद हामीहरुलाई थाहा छ, जसले भोग्छ उसैले मात्रै थाहा हुँदो रैछ, दलित भएर बाँच्नुको पीडा अरुले बुझेनन् ।

दलित अगुवा धनबहादुर परियारले बागलुङमा अपमानित नाम थर भएका व्यक्तिहरुको नागरिकतामा नाम फेरि दिन प्रशासन कार्यालयले आनाकानी गरेर दुःख दिने गरेको गुनासो गर्नुभयो । उहाँले अहिले पनि वर्षौँदेखिका दलितहरुका मुद्धा जिल्ला अदालतमा थन्किएको सुनाउँदै सरोकारवाला निकायले यसको छानबिन गरि न्यान दिलाउन नसकेको प्रति दुखेसो पोख्नुभयो ।

परियार भन्नुहुन्छ– “बागलुङ दलित आन्दोलनमा मुख्य थलो हो, यहाँका दलित समुदाय अहिले पनि माथिल्लो जातभन्नेहरुबाट पीडित हुनु परेको छ, यहाँका अड्डाहरुमा दलिका मुद्धाहरु धेरै छन्, यहाँ हाम्रो पक्षमा बोल्ने, सुन्ने कोही नहुँदा दलितहरुका मुद्धा यतिकै हराउँदै गए, कार्यालयहरुमा जाँदा समयमै काम गरि दिँदैनन्, यो वा त्यो बहानामा दुःख दिन्छन्, संविधानले व्यवस्था गरे अनुसारको काम गरि दिन पनि हिचकिचाउने र पीडा दिने काम बढी भएको छ ।”

उहाँले राष्ट्रिय दलित आयोग दलितका माग र मुद्धालाई स्थापित गर्न स्थापना भए पनि वास्तविक विभेदमा परेका दलित समुदायसम्म पुग्न नसकेको बताउनुभयो । जल्लाका दूर दराजमा अहिले पनि जातीय विभेद र छुवाछुत पहिलेको जस्तै रहेको परियारको भनाई छ । गाउँ घरमा पनि विभिन्न प्रथाका नाममा दलितमाथि हुने अन्याय र अत्याचार उस्तै भएको उहाँ बताउनुहुन्छ ।

स्थानीय पवित्रा सुनारले अहिलेसम्म दलित समुदायसम्म सहज रुपमा न्याय नपुगेको बताउनुहुन्छ । घर टोल छिमेक र समाजमा खुलेआम छुवाछुत हुने गरेको भन्दै यस्ता मुद्धा लिएर न्यायलयमा जाँदा न्याय पाउन नसकेको उहाँको गुनासो छ । बेलाबेलामा दलित समुदायमाथि विभेद हुँदै आएको उहाँको भनाई छ । उहाँले माथिल्लो जातिसँग प्रेम सम्बन्ध तथा विवाह गरे समाजबाट निस्कासित हुनु परेको घटना जिल्लामा धेरै भएको बताउनुभयो ।

दलित संघ बागलुङका अध्यक्ष ताराबहादुर विकले जिल्लामा धेरै दलितहरु भूमिहीन रहेको सुनाउँदै उनीहरुलाई राज्यबाट कुनै पनि सहयोग हुन नसकेको बताउनुभयो । ज्याला मजदुरी गरेर पेट पाल्दै आएका नागरिकलाई सरकारले गास, बास र कपाससँगै समाजमा सहज रुपमा जिउने वातावरण मिलाउने आश्वासनहरु धेरै आए पनि अहिलेसम्म कार्यान्वयन नभएको उहाँको भनाई छ ।

विक भन्नुहुन्छ– “यहाँका कयौँ दलितको आफ्नो घर छैन, जग्गा जमिन छैन, उनीहरु कहाँ बसौँ, के खाउँ भन्ने अवस्थामा छन्, त्यसमाथि माथिल्लो जातीबाट हुने दमन, विभेद र छुवाछुत उनीहरुमाथि झम्टि रहेको हुन्छ, यस्तो अवस्थामा दलित आयोग कहाँ छ, खै उनीहरुलाई न्याय दिएको, प्रहरी प्रशासन कहाँ छ, दलित समुदाय कहिलेसम्म थिचोमिचोमा बस्ने ?”

स्थानीय भक्तबहादुर विकले माथिल्लो पदकै व्यक्तिबाट दलितमाथि विभेद हुने गरेको बताउनुभयो । उहाँले सभा समारोह तथा कार्यालयका कामहरुमा सँगै चिया, खाजा तथा खाना खाँदा पनि विभेद हुने गरेको बताउनुभयो । अहिले पनि धेरै दलितहरुमा शिक्षा, स्वास्थ्यको सहज पहुँच पुग्न नसकेको भन्दै राष्ट्रिय दलित आयोगले उनीहरुलाई सचेताना मुलक र जीवनशैली सम्बन्धित तालिम दिन आवश्यक रहेको उहाँको भनाई छ ।

“अहिलेको युगमा पनि जातीय छुवाछुत, विभेद हुन्छ, हाम्रो समाज कता तिर गइरहेको छ ?, धेरै नीति कानुन बने तर कार्यान्वयन भएन,” उहाँले भन्नुभयो– “पढे लेखेका र बुझेका व्यक्तिले त छुवाछुत गर्छन् भने दुर दराजका अशिक्षित नागरिकहरुको अवस्था कस्तो होला ?, अहिले पनि दलित हुँदाको कारण धेरैले अकालमा ज्यान गुमाएका छन् ।”

राष्ट्रिय दलित आयोगका प्रवक्ता सुन्दर बुर्कुटीले जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयमा दलित सेला स्थापना गरि उनीहरुलाई सहज र सरल रुपमा सेवा प्रदान गर्न निर्देशन दिनुभयो । प्रशासनले अपमानित नाम थर परिवर्तन गर्न आउने नागरिकलाई समस्यामा नपार्न पनि प्रशासनलाई आग्रह गर्नु भयो । अन्य जिल्लामा भन्दा बागलुङ जातीय विभेद र छुवाछुत सम्बन्धि घटनाहरु धेरै हुने गरेको भन्दै प्रशासन र प्रहरी चनाखो हुनु पर्नेमा जोड दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *