मुलुक निर्माणको स्पष्ट खाका र दृष्टिकोण सहितको नेतृत्व एमालेसंग मात्रै छ : विश्वकर्मा

आदर्श अनलाइन, बागलुङ
नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री जगत विश्वकर्माले मुलुक निर्माणको स्पष्ट खाका र कार्यान्वयन गर्ने तत्परता भएको नेतृत्व एमालेसंग मात्रै भएको दावी गर्नु भएको छ ।

एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियान अन्तरगत मंगलवार काठेखोला गाउँपालिका वडा नं. २ भीमापोखरामा आयोजित कार्यक्रममा बोल्दै नेता विश्कर्माले यस्तो बताउनु भएको हो ।

२०४६ सालको परिवर्तनपछि मुलुकको नेतृत्व गर्ने पार्टीहरु मध्ये आम जनताको भावना र चाहना अनुसार मुलुक परिवर्तन गर्ने काम एमालेले नेतृत्व गरेको सरकारले मात्रै गरेको उहाको भनाइ थियो ।

लोककल्याणकारी राज्य निर्माणको खाका र कार्यान्वयन गर्ने नेतृत्व एमालेमा मात्रै छ, नीति र नेतृत्वका हिसावले एमालेबाट मात्रै मुलुक परिवर्तन संभव छ, नेता विश्वकर्माले भन्नुभयो,–‘एमालेसंग नीति र नेतृत्व दुवै सही भएकै कारण चौतर्फी घेरावन्दी भएको छ, यसलाई चिर्नका लागि मिसन ग्रासरुट अभियान सफल बनाउनु पर्छ । ’

राज्यको मुल प्रवाहबाट ओझेलमा परेका श्रमजिवी र शोषित पीडित जनताको आवाज उठाउदै जनताको अभिमतबाट शासन सत्तामा पुगेर समृद्ध नेपाल सुखी नेपाली बनाउने राष्ट्रिय अभिभारा पुरा गर्न सिंगो एमाले पंक्तिलाई जनताका बीचमा केन्द्रीत गर्न उहाँले आव्हान गर्नु भयो ।

मिसन ग्रासरुट अभियान पार्टी सुदृढीकरणसंगै एमालेका नेता कार्यकर्ताहरुलाई जनताका बीचमा स्थापित गर्ने, जनताका भावना, चाहना र आवश्यकताको पहिचान गरी पार्टीको नीतिमा जनताका आवाज समेट्नका लागि समेत भएकाले सोही अनुसार अभियानलाई केन्द्रीत गर्न उहाँले आग्रह गर्नु भयो ।

कार्यक्रममा एमाले गण्डकी प्रदेश कमिटिका सदस्य एवं केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागका सदस्य राम बहादुर जिसीले मिसन ग्रासरुट अभियान अन्तरगत काठेखोला वडा नं. २ को कार्ययोजना र जिम्मेवारीका विषयमा सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रममा एमाले जिल्ला सचिवालय सदस्यहरु दिपक गौतम, नेत्र बहादुर विष्ट, रुद्र बहादुर महत र कोपिला खरेल सापकोटा, एमाले काठेखोलाका अध्यक्ष डिल बहादुर कार्की लगायतले मिसन ग्रासरुट अभियान सफल पार्न पार्टीको सम्पूर्ण पंक्ति उच्च मनोबलका साथ लाग्नु पर्नेमा जोड दिनु भएको थियो ।

कार्यक्रम नेकपा एमाले वडा कमिटिका अध्यक्ष नारायणदत्त रेग्मीको अध्यक्षता, सचिव ऋषिराम शर्माको सञ्चालन र उपसचिव भीम केसीको स्वागतमा सम्पन्न भएको थियो ।
मिसन ग्रासरुट अभियान अन्तरगत भीमापोखराका साविकका ९ वटा वडामा चैत ३ देखि १० गतेसम्म टोल भेला आयोजना गरिएको पार्टीका वडा अध्यक्ष नारायणदत्त रेग्मीले जानकारी दिनुभयो ।

अभियानका क्रममा पार्टी सदस्यता नविकरण, नयाँ सदस्यता वितरण, जनवर्गीय संगठन गठन, प्रशिक्षण लगायतका कार्यक्रम गरिने रेग्मीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *