न्यू लाइफ स्कुलको अनुकरणीय प्रयास

सम्पादकीय
शिक्षा परिवर्तन, विकास र समृद्धिको मुख्य आधार । शिक्षा चेतना, जागरणको संवाहक । शिक्षा बिना न मानिस सच्चा मानिस बन्न सक्छ, न समाज र देश । शिक्षा बिनाको मानिस त पशुवत हुन्छ भनेर उहिले देखि पढ्दै पढाइदै आइएको पनि छ । फलस्वरुप शिक्षामा हरेकजसो नागरिकको पहँुच बढ्दो क्रममा छ । पहिलेको तुलनामा अहिले तल्लो तह सम्म सरकार मात्र पुगेको छैन, शिक्षामा पूर्वाधार सहित पहुँच पनि विस्तारै पुग्न थालेको छ । स्थानीयमा पनि शिक्षा प्रतिको जागरणमा उल्लेख्य सुधार आएको छ । तर, शैक्षिक गुणस्तर, व्यावहारिक शिक्षाको विषयमा भने अपेक्षित प्रगति र सुधार हुन सकेको छैन ।

पछिल्लो समय विद्यालय स्तरबाटै केही सकारात्मक पहल र प्रयासहरु शैक्षिक गुणस्तर कायम गर्ने सन्दर्भमा भइरहेका छन् । त्यो चाहे संस्थागत विद्यालय होस्, चाहे सामुदायिक विद्यालय । दुवै तर्फ तुलनात्मक रुपमा परिवर्तन देखिएका छन् । यही अनुक्रममा बागलुङका केही विद्यालयले पनि सकारात्मक अभ्यास थालेका छन् । गलकोट स्थित न्यू लाइफ बोर्डिङ सेकेण्डरी स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर मान्यता प्राप्त गरेको खबर सार्वजनिक छ । विद्यालयले प्रदान गर्ने शिक्षाको गुणस्तर, मापदण्ड, शैक्षिक नीति, पाठ्यक्रम कार्यान्वयनका आधारमा अन्तर्राष्ट्रिय गुणस्तर मान्यता आइएओ ९००१ ः२०१५ चिन्ह प्राप्त गरेको हो । गुणस्तर प्राप्तका लागि शीर्ष १० आइएसओ प्रमाणपत्रका उपाधि र १२ भन्दा बढी आइएसओ मानकहरु प्रमाणित गर्नु सामान्य कुरा होइन । यद्यपि, विद्यालयले पहिलो चरणको काम पुरा गरेको छ ।

न्यू लाइफ स्कुल गलकोट क्षेत्रको प्रतिष्ठित विद्यालय हो । यो अब जिल्लामा मात्रै नभएर राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा समेत परिचित बन्ने बाटोमा छ । विद्यालयको शैक्षिक गुणस्तर, बाल अधिकारको सुनिश्चितता, नैतिक शिक्षा, विद्यार्थी र अभिभावकको नियमति अन्तरक्रिया लगायतका विषयमा उल्लेख्य प्रगति हुनुपर्ने अन्तराष्ट्रिय गुणस्तर चिन्ह लिने प्रयास गर्नु नै सकारात्मक हो । त्यसमा पहिलो चरणको अन्तराष्ट्रिय गुणस्तर चिन्ह प्राप्त गर्नु सिंगो जिल्लाका लागि त गौरवको विषय हो नै, यो सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयका लागि न्यू लाइफ स्कुलले गरेको यस खालको अभ्यासको अनुसरण समेत गर्नु अपरिहार्य छ । अहिलेको समयमा शिक्षा दिनु मात्र ठुलो कुरा होइन, गुणस्तरिय र व्यावहारिक शिक्षाको सुनिश्चित गर्नु सरकारको दायित्व हो भने सरोकारवाला, विद्यालय र अभिभावकको जिम्मेवारी हो । यसमा सबैको पहल र भूमिका जरुरी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *