(उद्यमी सदस्यसँग आदर्श संवाद)
सिर्जना पन्त, बागलुङ
३७ वर्षीय अस्मिता आजभोली हरेक विहान बागलुङ कालिका मन्दिरको प्रवेशद्वार अगाडी कटन क्यान्डी बेच्दै गरेको भेटिनुहुन्छ ।
अस्मिताको जीवनमा उमेरको मात्र संख्या बढेको छैन्, सहज जीवनयापनको लागि गरेका संर्घषको चाँङ पनि थपिदो छ । २०४२ सालमा म्याग्दीको राखु भगवतीमा जन्मिएकी अस्मिताको म्याग्दीकै मंगला गाउँपालिका–३ बराङ्जाका गणेश विकसँग भयो ।
विवाह लगत्तै २०६३ सालमा सुनौलो भविश्यको सपना देखेर गरेर खानको लागि बागलुङ बजार छिरेका विक दम्पत्तीको संघर्षका दिन सुरु भए ।
सुरुवाती दिनमा अस्मिताले बागलुङ बजारको हल्लनचोकमा टंकी थापेर तरकारी बेच्नुहुन्थ्यो । त्यही समयमा उहाँका जेठा छोराको जन्म भयो । जेठा छोरा यतिबेला रुद्रेपीपल माध्यामिक विद्यालयमा कक्षा १० मा पढ्नुहुन्छ । अस्मिता र गणेशका दुई छोरा हुनुहुन्छ । कान्छा छोरापनि रुद्रपिपल माविमै कक्षा ५ मा पढनुहुन्छ ।
विद्यालय जान नपाएकी अस्मितालाई छोराहरुले धेरै पढुन भन्ने चाहना छ । छोरालाई पढाउँनकै लागि उहाँले कालिका मन्दिर प्रवेशद्वारमा फुलप्रसाद पनि बेच्नुभयो । सोचेजस्तो आम्दानी नभएपछि अस्मिता कालिगण्डकी नदीबाट बालुवा निकाल्ने काम गरेको बताउनुहुन्छ ।
अस्मिताका श्रीमान गणेश वैदेशिक रोजगारीको लागि साउदी पुग्नुभएको थियो । विदेशमै विरामी परेर दुख पाएपछि ६ वर्ष पहिले विदेशबाट फर्कुनुभयो ।
धन कमाउन विदेशिएको श्रीमान विरामी परेर फर्किएपछि छोरालाई पढाउन र दुई छाक खुवाउनको लागि समस्या हुने देखेर अस्मिताले ५० हजार रुपैयाँ ऋण लिएर कटन क्यान्डी बनाउने मेसिन किन्नुभएको हो ।
पछिल्लो ६ वर्ष यता सोही मेसिन अस्मिताको सुख दुखको साथी बनेको छ । विरामी निको भएपछि घर निर्माणको काम सुरु गरेका अस्मिताका श्रीमान गणेशले डेढ वर्ष पहिलेबाट आफ्नै अटो रिक्सा चलाउन सुरु गर्नुभएको छ । श्रीमान श्रीमती दुवै मिलेर छोराहरुको भविश्य उज्वल बनाउने अठोट सहित अगाडी बढेका विक दम्पत्तीले एक जनाको कमाईले घर खर्च चलाउने र अर्काको कमाइले अटोको किस्ता तिर्ने र केही रकम सहकारीमा बचत गर्ने गरेको बताउनुहुन्छ ।
‘कुनै कुनै दिन एउटा पनि क्यान्डी विक्रि हुँदैन,’ अस्मिता भन्नुहुन्छ, ‘कहिले काँही ४, ५ हजार पनि हुन्छ, कमाएर सम्पत्ती जोड्ने रहर छैन् छोराले दुख नपाउन, धेरै पढुन् भन्ने चहाना छ ।’ अफ्ट्यारोमा पनि आँट, साहास र परिवारको मायाले हरेक चुनौतीसँग लड्न सहज भएको उहाँको भनाई छ ।
‘खुसी जीवन जीउनको लागि श्रीमान श्रीमती एक अर्काको मुख ताकेर हुँदैन अस्मिता आफ्नो अनुभव सुनाउनु हुन्छ, हरेक परिस्थतीमा सहयात्री बन्नुपर्छ ।’