सरोजराज पन्त
संसारको सबैभन्दा विवेकशील, सर्वश्रेष्ठ प्राणी मानव आज कस्तो बनेको छ भन्ने बिषय जो कोहीलाई थाह नभएको कुरा होइन । सर्वश्रेष्ठ प्राणीको उपाधि धारण गरेको मानिसको जन्म सँगसँगै उसले अवलम्वन गर्ने सामाजिक व्यवहारहरू के कस्ता र कसरी हुने गरेका छन । सामाजिक व्यवहार मानिसले समाजमा सामाजिकीकरणको निम्ति कति लाभदायक छन ।
सामाजिकीकरण सामाजिक अनुकूलताको एक प्रक्रिया भएकोले व्यक्तिहरू सामाजिक नियम र मूल्यहरूअन्तर्गत रहेर सहअस्तित्वमा बस्ने, सिक्ने र आन्तरिकीकरण गर्नुपर्नेमा विश्वव्यापी बदलावसँगै सामाजिक व्यवहारको प्रकृति र स्वरूपमा पनि बदलिएको छ । यसरी बदलिनु स्वाभाविक भएतापनि विश्वव्यापीकरण, परसंस्कृतीकरण, आधुनिकीकरण, प्रविधिकीकरण एवं राज्य व्यवस्थामा आएको फेरबदलले सामाजिक व्यवहारलाई नवीनतम् र समयानुकूल बनाउने नाममा आएका विकृतिहरुबाट समाजलाई जोगाउन चुनौतिपूर्ण अवस्था सृजना भएको छ ।
हामी आधुनिक मानिसहरु सामाजिकीकरण अन्तर्गत रहेर सामाजिक नेटवर्कमा हुर्किरहेछौं र सोही अनुरुप आफ्नो समय व्यतित गरिरहेका पनि छौं । यसकालागि मानिस र समाजबीच एकापसमा परिपूरण सम्बन्ध हुन्छ । एकको अस्तित्व विना अर्कोको अर्थ र अस्तित्व कायम रहन सक्दैन भन्ने ज्ञान पनि छ । दुईबीचको अस्तित्वलाई सन्तुलन राख्नको लागि मानिसले समाजमा आफ्ना क्रियाकलापहरू गरिरहन्छ ।
यसैले मानव क्रियाकलापहरूको समग्रता अनुरुप समाजमा मानिसले जन्मदेखि मृत्युसम्म गरिरहने व्यवहार सामाजिक व्यवहार हो । परम्परागत रुपमा सामाजिक व्यवहार अन्तर्गत गर्भदेखि चितासम्मका संस्कार पर्दछन । जन्म, न्वारान, पास्नी, जन्मदिवस, छैठी, विवाह, ब्रतवन्ध, चुडाकर्म, बुढोपास्नी र पितृ कार्यसम्म पर्दछन् । समय परिवर्तनसँगै सामाजिक व्यवहारका प्रकृति र स्वरूपमा पनि अनेकौ बदलाव आएको छन । यसका कारकतत्वमा विश्वव्यापीकरण, परसंस्कृतीकरण, आधुनिकीकरण, प्रविधिकीकरण एवं राज्य व्यवस्थामा आएको फेरबदल आदि रहेका छन । सामाजिक व्यवहारलाई नवीनतम् र समयानुकूल बनाउने पक्ष विकसित मुलुकको तुलनामा विकासोन्मुख देशमा बढी नकारात्मक बनेको पाइन्छ ।
संस्कृति तथा परम्परागत मूल्यमान्यता र मौलिक संस्कृतिको जगेर्ना एवं निरन्तरता दिने नाउँमा हुने गरेका यस्ता क्रियाकलापहरू आर्थिक रूपमा अलि जोखिम हुने गरेका छन । नेपाल, भारत, बङ्गलादेश, मौरिसस जस्ता देशहरू जहाँ हिन्दु धर्मावलम्बीहरूको बाहुल्य बढी रहेको छ, । ती मुलुकहरूमा सामाजिक व्यवहार सम्बन्धी गतिविधि बढी हुने देखिन्छ ।
हाम्रा कतिपय धार्मिक, सांस्कृतिक क्रियाकलापहरूलाई अहिले भडकिला, आडम्बरिला भएका छन् । चाडपर्वहरू मनाइने तौरतरिकाहरूले मानव आफै खर्चिलो, भड्किलो, पेचिला र अस्वस्थ्य प्रतिस्प्रर्धि बनेका छन । परम्परागत मूल्यमान्यतालाई विर्सिएर वर्तमान समयमा बाह्य धर्म, संस्कृति, मूल्यमान्यता, परम्परागत रीतिरिवाजमा रमाएको कारण मौलिकताहरूको संरक्षण र निरन्तरताको खतरामात्र बढेको छैन । सामाजिक व्यवहार अन्तर्गतका क्रियाकलाप र चाडपर्वहरू मनाउने शैली तथा प्रचलन भड्किला बन्दै गएका कारण जीवन कष्टकर बन्दैं गएको देखिन्छ ।
हिजोआज नेपाली समाजका दैनिक सामाजिक व्यवहारमा गरिने तडकभडक र फजुल प्रवृत्तिले अनावश्यक गतिबिधि बढि रहेका छन । समाजका सम्भ्रान्तहरूबीच हैसियत र प्रतिष्ठाको प्रतिस्पर्धा देखाउने व्यवहारले एकातर्फ समाजमा गरिव, निमुखा, कमजोर र न्यून आय भएका नागरिकलाई प्रताडित बनाएको छ । असल सामाजिक व्यवहारको अभावका कारण सामाजिक सद्भाव, सहिष्णुता र भाइचारामा विखण्डन ल्याइदिएको छ । समाजमा सम्पन्न र विपन्नवर्ग बीचको खाडल दिनहुँ गहिरिदैं गएको छ । कष्टकर रुपमा निर्वाहमुखी जीवन गुजारिरहेकाहरू समाजमा लतारिएर जीउन बाध्य बनेका छन् ।
बाहिरी प्रभाव स्वरुप आफ्नो हैसियतभन्दा देखावटी शैलीमा अभ्यस्त चलनमा जीउन विवश छन् । क्षणिक उक्साहटले जीवनका खुशी र सुखीलाई तिलाञ्जली दिंदै दिनहीन जीवन व्यतित गरिरहेका कैयौ भेटिन्छन् । यस्ता सामाजिक व्यवहारले गर्दा समाजमा हुनेखानेहरू विलासिता र नहुनेहरूको लागि गलपासोको हुने गरेको छ । कुनै समयमा समाजका विभिन्न संस्कारहरु छैठी, पास्नी, ब्रतबन्ध, विवाह आदि कार्यमा अनावश्यक तामझाम गर्नेहरू जनकारबाहीमा पर्ने गर्दथे भने धर्म र परम्परागत मौलिक संस्कृतिलाई समाजका ठूलाठालूले कमजोरहरू माथि गर्ने शोषणको रूपमा व्याख्या गरिन्थ्यो । तर विडम्बना आफूलाई सर्वहारावर्गका हिमायती भन्नेहरु सशस्त्र युद्धका अगुवाहरू आज राज्यको महत्वपूर्ण निर्णायक तहमा क्रियाशील रहदा र राज्यको बागडोर समालिरहदा यो समस्या बढदैजानु उदेक लाग्दो बनेको छ ।
सर्वहारावर्गका लागि लडेका समूह आज आफ्नो धरातल बिर्सिएर विलासी दैनिकीमा लिप्त भएका छन् । विश्वव्यापीकरण, परसंस्कृतीकरण, आधुनिकीकरण, प्रविधिकीकरणमा आएको अनुत्पादक खर्चले पारिवारिक बोझ, खस्किंदो जीवनयापन शैली, कमजोर सामाजिक सद्भाव तथा सहिष्णुता एवं समग्र राष्ट्रमा प्रतिकूल प्रभाव पर्न जाने सम्भावना छ ।
नेताहरुमात्र होइन जनस्तरमा पनि वर्षौंको मिहिनेत र मितव्ययी जीवनयापनबाट जोगाएको रकम परिवारको कल्याण र उत्पादनमुखी कार्यमा लगाउन बिर्सिएको छ । तडक भडक सामाजिक व्यवहार भोजभतेर जस्ता अनुत्पादक कार्यमा खर्च गरेर सक्ने चलन हरेक दिन मौलाउँदैं गएको छ । समाजमा विकृति र अनैतिक कार्यलाई प्रोत्साहन पाएको छ । समाजमा देखा परेका यस्ता विकृति रोकी सामाजिक क्रियाकलाप एवं सांस्कृतिक चाडपर्वहरूमा गरिने यस्ता किसिमका तडकभडक र अनावश्यक खर्चलाई रोक्न जरुरी छ । सामाजिक व्यवहारमा भइरहेको बढ्दो प्रतिस्पर्धात्मक भडक र फजुल खर्चमा नियन्त्रण गर्न मौजुदा कानुनको रूपमा सामाजिक व्यवहार (सुधार) ऐन तथा नियमावली, २०३३ क्रियाशील छ । जनआवाज र बहसका बाबजुद सामाजिक व्यवहारहरूलाई सुधार, नियमन गर्न बनेको मौजुदा कानुन हाल मृतप्रायः बनेको छ । विगत ४६ वर्ष अघिदेखि सो कानुन कार्यान्वयनको निम्ति नेतृत्वले कुनै चासो देखाउन सकिरहेको छैन ।
क्याटेरिङ तथा पार्टी प्यालेस आदिको उपयोगबाट थुप्रै रोजगारीको अवसरहरू सृजना भएका छन् । गरिबी न्युनीकरणमा मद्दत पुगेको छ । युवाहरूलाई विदेश पलायन हुनबाट केही हदसम्म रोक्ने कार्य सफल भएको पनि छ । परम्परागत कार्यशैलीमा परिवर्तन आइ, कष्टकर सामाजिक जीवनमा केहीहदसम्म सहजता आएको छ । तत्कालीन समयमा भड्किलो सामाजिक व्यवहारलाई नियन्त्रण गर्ने अभिप्रायले निर्माण गरिएको उक्त मौजुदा कानुनमा विविध प्रावधान रहेका छन् । जसमा विवाहमा जन्ती वा वरियात लाने क्रममा बाजावालासहित एकाउन्न जना भन्दा बढी हुन नहुने, भाडावाला नाच, आतसवाजी, ११ जना भन्दा बढी बाजावाला, विवाह भोजमा नजिकको नातेदार बाहेक छरछिमेकी, इष्टमित्रहरू मध्येबाट ५१ जना भन्दा बढी हुन नहुने, छैठी, न्वारान, जन्मदिन, पास्नी, चुडाकर्म, ब्रतवन्ध, बुढोपास्नी र पितृ कार्य समेतको भोजमा नजिकको नातेदार बाहेक अन्य मध्येबाट पच्चीस जनासम्मको सीमा निर्धारण गरिएको छ । उल्लिखित कानुनी व्यवस्थाहरूको बेवास्ता गरेमा आवश्यकता अनुसार कैद तथा जरिवाना सजाय समेतको प्रावधान रहेको छ । कानुनमा तोकिएका त्यस्ता बन्धनकारी प्रावधानको उल्लङ्घनकर्ता उपर स्थानीय तहले निगरानी राख्ने, सम्झाउने र अटेर गर्नेलाई आवश्यक कानूनी कारबाही हुने व्यवस्था रहेको छ ।
व्यक्तिको सोच, व्यवहार, क्षमता र राज्यको समेत भूमिकामा आएको तीव्रतासँगै सामाजिक व्यवहारलाई सुधार गर्नको लागि सामाजिक व्यवहार (सुधार) ऐन, २०३३ लाई समयानुकूल बनाउँदै कार्यान्वयन गर्ने उद्देश्यले २०७१ सालमा संसदको राज्यव्यवस्था समितिमा दर्ता सामाजिक व्यवहार सुधार गर्न बनेको विधेयक, २०७१ संसदको कार्यसूचीमै प्रवेश पाउन सकेन । छलफलमा आउन नसकेको उक्त विधेयकमा दाइजो, तडकभडक खर्च तथा भोजभतेर सम्बन्धी युगानुकूल नियमन गर्ने भनी विवाहको वरियात तथा भोजमा ५१ जनाबाट बढाएर ५५१ जना र छैठी, न्वारान, जन्मदिन, पास्नी, चुडाकर्म आदि कार्यको भोजमा २२५ जनासम्मको हदबन्दी तोकिएको थियो । यद्यपि यसबारे विभिन्न सामाजिक अभियन्ता, कानुनका जानकारहरू, मानवअधिकारवादी, महिला अधिकारकर्मी, उपभोक्तावादी एवं आर्थिक विश्लेषकले व्यापक खण्डन तथा राज्य संयन्त्रकै अनिच्छाको कारण उक्त विधेयकले पूर्णता पाउन नसकेको स्थिति छ ।
बढदो सामाजिक बिकृति रोक्न र धनि र गरिववीच हुने यस्तो असमान व्यवहार रोक्न कानुनमै व्यवस्था गरेर स्थानीय तहलाई यस सम्बन्धमा नियमन गर्ने विशेष अख्तियारी दिनुपर्ने देखिन्छ । विवाहमा दाइजो, तिलक जस्ता उपहारहरूलाई मौद्रिक मूल्यमा मापन गरी उल्लेख्य प्रगतिशील कर निर्धारण गर्न आबश्यक छ । क्याटरिङ, पार्टी प्यालेस, समाज घर लगायत समुदायमा सामाजिक क्रियाकलापहरूलाई सहजता प्रदान गर्दै आर्थिक उपार्जन गर्न, सञ्चालनमा ल्याइएका संरचनाहरूको राज्यको तर्फबाट अनुगमन गर्नु जरुरी छ । यसमा मापदण्ड निर्धारण गर्न, सहुलियत, छुट तथा अनुदानको व्यवस्था गरी सर्वसाधारणको लागि समेत सर्वसुलभ बनाउनुपर्ने देखिन्छ । सामाजिक सद्भाव, सहिष्णुता, सरल सहज जीवनशैली एवं सामूहिक भावनाको लागि ऐक्यबद्धताको वातावरण सृजना गर्दै सामाजिक व्यवहारमा सुधार गर्नु आजको आवश्यकता भएकाले सबै नागरिकमा यस सम्बन्धी चेतनाको विकास हुन, सरल, मितव्ययी र मर्यादित जीवनशैली अबलम्वन गर्नु अपरिहार्य देखिन्छ ।