जनताले पार्टी एमाले रोज्ने, प्रत्यक्षमा नरोज्ने किन भयो, समिक्षा गरौ : एमाले नेता विश्वकर्मा

आदर्श अनलाइन, बागलुङ

नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री जगत विश्वकर्माले चुनावमा जनताले पार्टी रोज्दा एमाले रोज्ने तर प्रत्यक्षमा एमालेका उमेदवार पराजित हुने अवस्था किन आउछ ? भन्दै मिसन ग्रासरुट अभियानमा मसिनो गरी समिक्षा गर्नु पर्नेमा जोड दिनुभएको छ ।

एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियान अन्तरगत बुधवार काठेखोला गाउँपालिका वडा नं. ७ रेशमा आयोजित कार्यक्रममा बोल्दै नेता विश्कर्माले यस्तो बताउनु भएको हो ।

निर्वाचनमा समानुपातिक तर्फ जनताले एमालेलाई पहिलो पार्टी बनाए, प्रत्यक्षमा थोरै मतको अन्तरमा धेरै ठाउँमा एमालेका उमेदवार पराजित भएका छन्, नेता विश्वकर्माले भन्नुभयो, एमाले भित्रको समस्याका कारण त हाम्रा उमेदवार पराजित भएका छैनन ? यो विषयमा अभियानका क्रममा मसिनो गरी समिक्षा गरी कमजोरी भएको भए सुधार गरौ ।

पार्टीभित्र दक्षिणपन्थी अवसरमा बेला बेलामा प्रकट हुने गरेको उहाको भनाइ छ । पार्टीमा समस्या माथि देखि नै आएको चर्चा गर्दै उहाले व्यक्तिगत स्वार्थ, कुण्ठा र प्रतिसोधले मानिस गलत बाटोमा लाग्ने बताउनुभयो । तीन पटकसम्म पार्टीको प्रमुख पदमा बसेर काम गरेका, एमाले निर्माणमा महत्वपूर्ण योगदान गरेका माधव नेपाल र झलनाथ खनालहरु कांग्रेसका पछि लागेर कम्युनिष्ट सिद्धाउन हिडेको भन्दै नेता विश्वकर्माले पार्टीमा देखिने यस्ता खाले अवसरवादलाई पहिचान गरी नेतृत्वले गलत गर्दा कार्यकर्ताले खबरदारी गर्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा एमाले जिल्ला अध्यक्ष हिरा बहादुर केसीले पार्टी भित्रका आन्तरिक समस्याहरुलाई समाधान गरेर मिसन ग्रासरुट अभियानसंगै एकीकृत, सुदृढ र सशक्त पार्टीका रुपमा एमालेलाई स्थापित गर्न सम्पूर्ण नेता कार्यकर्ताहरु उच्च मनोवलका साथ लाग्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा एमाले गण्डकी प्रदेश कमिटिका सचिवालय सदस्य गिता शर्मा, गण्डकी प्रदेश कमिटि सदस्यहरु हुमा कुमारी जिसी (अञ्जु), हरिनारायण गौतम, राम बहादुर जिसी, जिल्ला सचिवालय सदयहरु प्रेम लामिछाने, दिपक गौतम, नेत्र बहादुर विष्ट, हुमादेवी खड्का र कोपिला खरेल सापकोटा, एमाले काठेखोलाका अध्यक्ष डिल बहादुर कार्की लगायतले मिसन ग्रासरुट अभियानमार्फत एमालेलाई जनताका बीचमा थप लोकप्रिय पार्टीका रुपमा स्थापित गर्नु पर्ने बताउनु भएको थियो ।

कार्यक्रम नेकपा एमाले वडा कमिटिका अध्यक्ष भूमिराज शर्माको अध्यक्षता, सचिव रामचन्द्र गौतमको सञ्चालन र उपसचिव महेन्द्र कार्र्कीको स्वागतमा सम्पन्न भएको थियो ।

मिसन ग्रासरुट अभियान अन्तरगत रेशका साविकका ९ वटा वडामा चैत ३ देखि ११ गतेसम्म टोल भेला आयोजना गरिएको पार्टीका वडा अध्यक्ष भुमिराज शर्माले जानकारी दिनुभयो ।

अभियानका क्रममा पार्टी सदस्यता नविकरण, नयाँ सदस्यता वितरण, जनवर्गीय संगठन गठन, प्रशिक्षण लगायतका कार्यक्रम गरिने शर्माले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *