डम्मर बुढामगर/खेमराज गौतम, बागलुङ
कच्ची पहाडी बाटोको लामो सकसपूर्ण यात्रा, त्यो पनि खोला र जंगले छिचोल्दै पुग्नु पर्ने गन्तव्य । जुन गन्तव्य नपुग्दासम्म मन आत्तिने तर पुगिसके पछि सोही स्थानमा रमाइरहन मन लाग्छ । ढोरपाटन त्यही आकर्षक गन्तव्य हो । जहाँ आन्तरिक र बाह्य पर्यटक मात्र होइन, विश्वका सौखिन सिकारीहरु पनि नाउर र झारलको सिकार खेल्न आइपुग्छन् । पश्चिम नेपालमा धौलागिरी हिमश्रृंखला भित्र पर्ने ढोरपाटन समुन्द्री सतहबाट दुई हजार ८५० मिटरदेखि पाँच हजार ५०० मिटर उचाईमा यो अवस्थित छ ।
सिकार आरक्षको केन्द्र रहेको ढोरपाटन बागलुङको मुख्य पर्यटकीय गन्तव्य हो । प्राकृतिक सौन्दर्यले भरिपूर्ण ढोरपाटन पूर्वाधारका हिसाबले पछाडि छ । ढोरपाटन सिकार आरक्षको स्थापना वि.सं. २०४० मा भए पनि २०४४ मात्र सरकारी मान्यता प्राप्त गरेको थियो । त्यस यता विदेशीको आकर्षणको केन्द्र बनेको ढोरपाटन अहिले सम्म पनि पूर्वाधारमा फड्को मार्न सकेको छैन । आठ किलोमिटर क्षेत्रमा फैलिएको हरियाली उपत्यका । बुकी क्षेत्रमा फुलेका सुन्दर फूलहरु । ढोरबराहको मुटुभित्रबाट निस्किएको कञ्चनझै बग्ने उत्तरगंगा नदी ।
श्रीस्वस्थानी ब्रत कथामा भनेझै ढोरपाटनको सौन्दर्यताको बखान नगर्ने सायदै हुन्छन् । पर्यटन, शिकार र कृषिले परिचित नेपालको १०० पर्यटकीय गन्तव्यमा सुचिकृत ढोरपाटन क्षेत्र विश्वमा परिचित गन्तव्य हो । केही पर्यटकीय गन्तव्यहरु पूर्वाधारका कारण चर्चित छन् भने केही गन्तव्यहरु सौन्दर्यताका लागि चर्चित छन् । तर, बागलुङको ढोरपाटन साहसी पर्यटक र सौन्दर्यता अवलोकन दुवै कारण चर्चित छ । ढोरपाटन सिकार पर्यटकहरुका लागि चाखलाग्दो गन्तव्य हो ।
तर, भौगोलिक विकटता, सडक सकस र पर्यटकीय पूर्वाधारका कारण ढोरपाटन नेपालका अन्य गन्तव्यमा जस्तो पर्यटकहरुको व्यापक आकर्षक भने छैन । सिकार पर्यटनमा विदेशी पर्यटकहरुले मात्रै पहुँच पु¥याउने गरेका छन् भने नेपाली पर्यटकहरु सुन्दर ढोरपाटन अवलोकनमा सीमित मात्रमा आउने गरेका छन् । विश्वमा चर्चित गन्तव्य भएर पनि पर्यटकहरुको संख्यामा उल्लेख्य उपलब्धि देखिएको छैन ।
पछिल्लो समय पर्यटकहरुको संख्यामा क्रमश उकालो लाग्न थालेको विभिन्न तथ्याङ्कहरुले देखाउछ । ढोरपाटनको सौन्दर्यता र अपार सम्भावनालाई बाहिर ल्याउन आवश्यक रहेको ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीले बताउनुभयो ।
“अन्यले स–साना क्षेत्रलाई समेत धेरै अगाडी बढाइसके, हामी पछि नै छौ भन्ने लाग्छ, तर सम्भावनाको उजागर गर्न सके ढोरपाटन पर्यटनबाटै समृद्ध बन्न सक्दछ,” मेयर नेपालीले भन्नुभयो “ढोरपाटन ठूलो परियोजना भएकाले नगर एक्लैले धेरै काम गर्न सक्दैन, संघीय सरकारले सय गन्तव्यमा सुचिकृत भइसकेको क्षेत्रलाई प्राथमिकतामा राखिरहेको छैन, नगरपालिकाको क्षेत्रबाट केही कामहरु भइरहेका छन्, जस्तैः मोटरबाटो स्तरोन्नती, घरबास प्रर्बद्धन अभियान तथा तथ्याङ्क संकलन कार्य भइरहेको छ ।”
नगर प्रमुख नेपालीका अनुसार चालु आर्थिक वर्षमा मात्रै ढोरपाटन क्षेत्रको विकासका लागि एक करोड बजेट कार्यान्वयनको चरणमा रहेको बताउनुभयो । नगरपालिकाले ढोरपाटन उपत्यकामा रहेको नौ नम्बर वडाको समन्वयमा कृषि पर्यटनसंग जोडेर विकास गर्नका लागि डिपिआर बनाउने कार्यमा लागेको बताउनुभयो ।
यस क्षेत्रमा फैलिएको ढोरपाटन शिकार आरक्ष नेपालको एक मात्र शिकार आरक्ष हो । यो आरक्ष पश्चिम नेपालमा धौलागिरी हिमश्रृंखला भित्र रुकुम, म्याग्दी र बाग्लुङ गरी तीन जिल्लामा फैलिएको छ जसको मुख्य कार्यालय र संरचना ढोरपाटन उपत्यकामै पर्ने गरेको छ ।
बागलुङ बजारबाट एक दिनको यात्रामा पुग्न सकिने ढोरपाटन क्षेत्रमा बुर्तिबाङसम्म मध्यपहाडी लोकमार्ग र बुर्तिबाङबाट ढोरपाटन सालझण्डी सडक भएर ढोरपाटन पुग्न सकिन्छ । सिकारको लागि प्रख्यात यस आरक्षमा पेशेवर सिकारीको लाईसेन्स प्राप्त सिकारीले ९ नाउर र ११ झारलको सिकार गर्न पाउने प्रवधान रहेको छ । आरक्षमा रहेका हिउँ चितुवा, घोरल, हिमाली कालो भालु, भुक्ने मृग र लुंगुरलगायत लोपोन्मुख वन्यजन्तुको सिकार गर्न निषेध गरिएको छ ।
स्विजरल्याण्ड झल्को दिने ढोरपाटन उपत्यका
ढोरपाटन उपत्यकालाई पर्यटनप्रेमीले मिनी स्विजरल्याण्डको उपनाम दिएका छन् । विशेषगरी हिमपात भएको समयमा स्विजरल्याण्डको झल्को दिने गरेको पर्यटन व्यवसायीहरुको भनाई छ । स्विजरल्याण्डमा हिउँले भरिदा देखिने दृश्य र ढोरपाटनमा हिमापत हुँदाको दृश्य एकै लाग्ने पर्यटन व्यवसायी महादेव शर्मा बताउछन् ।
शर्माको पहलमा विश्वक प्रख्यात नेपाली साइकलयात्रीहरु ढोरपाटन प्रवद्र्धनका लागि साइकलमा त्यहाँ पुगेका थिए । ढोरपाटन पुगेका पर्यटकहरुले हिउँ सहितको दृश्य देख्दा वाओ मिनी स्वीजरल्याण्ड भनेर रमाउँदै प्रतिक्रिया दिएको शर्मा सम्झन्छन् ।
सडकले बदलियो जनजीवन
ढोरपाटन नगरपालिका–९ मा पर्ने ढोरपाटनको प्रवेशद्वारका रुपमा बुर्तिबाङ बजारलाई लिइन्छ । पर्यटकीय राजधानी पोखरादेखि बागलुङ हुँदै बुर्तिबाङसम्म पक्की सडकमा यात्रा गर्न पाइए पनि ढोरपानसम्म पुग्न सकस हुन्छ । राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडक बुर्तिबाङदेखि ढोरपाटन उपत्यकासम्मको स्तरोन्नति चलिरहे पनि अपेक्षित गतिमा काम हुन सकेको छैन । कच्ची सडकले भए पनि ढोरपाटन जोडिएपछि स्थानीय र आगन्तुकलाई केही सहज भने भएकै छ । एक दशक अगाडिसम्म सडकले नजोडिँदा यहाँका स्थानीयले निकै सास्ती खेप्न बाध्य थिए । स्थानीय ६८ वर्षीय गोकुल अदैले सडकले ढोरपाटन जोडिएपछि यहाँको नागरिकको जीवनशैली र दैनिकीनै बदलिएको बताउनुभयो ।
खास गरि घुम्ती बसाइँ गर्ने यहाँका स्थानीय बर्खामा ढोरपाटन र हिउँदमा बोबाङ, अधिकारीचौर लगायत झर्ने गर्छन् । यसरी घुम्ती बसाइँ गर्दा सामान ओसारपसार गर्दा निकै सास्ती खेपेको अदैको भनाई छ । उहाँले सडक संचालनमा आएपछि भारी बोकेर ओसारपसारमा समस्या नभएको बताउनुभयो । अहिले आवश्यक सामानहरु गाडी माफर्त ढुवानी गर्न सकिने अदै बताउनुहुन्छ । “अहिले त जुग जमान फेरिए, हाम्रो विगत त अन्धकारमय थियो, अहिलेको जस्तो सडक थिएन, मोटर गाडी गुड्थेनन्, बेसी झर्दा पनि भारी बोकेरै झनु पथ्र्यो, ढोरपाटन उक्लिदा पनि भारी बोकेरै उक्लिनु पथ्र्यो,” अदैले भन्नुभयो– “तर अहिले भारी बोक्न पर्दैन, गाडी चल्यो भने जति बेला पनि सामान ल्याउन र पु¥याउन सकिन्छ ।”
थापिदै होटल तथा होम स्टे
ढोरपाटन उपत्यकामा पछिल्लो तथ्याङ्क अनुसार २१ वटा होटल तथा होमस्टेहरु छन् । तर ठूलो संख्यामा पाहुँना पुग्दा अझै पुग्नेगरी होटल सुविधा नभएको पर्यटनकर्मीहरुले बताउछन् । २१ होटल तथा होमस्टेमा २८१ पर्यटकहरुको मात्रै क्षमता भएपनि होटलहरु व्यवस्थित छैनन् । होटल व्यवसायीले होटल व्यवस्थापनलाई चुस्त राख्न आवश्यक रहेको देखिन्छ । अहिले भइरहेका होटलमध्ये केही होटलहरुले मात्रै राम्रो सेवा दिइराखेका छन् ।
मौसमी पर्यटकहरुमात्रै आउनेभएकाले होटल व्यवसाय फष्ठाउन नसकेको ढोरपाटन सामुदायिक होटलका सञ्चालक सुरज पौडेल बताउनुहुन्छ । “केही होटलहरुले राम्रो सेवा दिएका छन् भने केही होटलहरु नाम मात्रका छन्, ढोरबराह मन्दिरमा लाग्ने जनैपूर्णिमा मेलामा धार्मिक पर्यटकहरु थेगी नसक्नु हुन्छ, हिमपात भएपनि यहाँका होटलहरु प्राय बन्द हुन्छन्” पौडेलले भन्नुभयो “पर्यटकहरु पछिल्लो दिनमा थपिएका भएपनि सिजनमा भरिभराउ हुने र अन्य समयमा खाली हुँदा होटल व्यवसायीहरु हतोत्साही हुने गरेको पाइन्छ ।”
यहाँ विदेशी पर्यटकहरुभने सोझै सिकार ब्लकहरुमा पुग्नेगरेकाले आन्तरिक पर्यटकहरुमात्रै होटलमा बस्न आउने गरेको पौडेलको भनाई छ । एक दशकदेखि सामुदायिक होटल सञ्चालनमा आएकोमा पछिल्लो समय साना ठूला होटलहरु थपिएका छन् । तर ढोरपाटनमा अझै सुविधा सम्पन्न होटलको भने खाँचो रहेको छ ।
बाढीले क्षतविक्षत बनाएपछि थप सकस
अप्ठ्यारो सडक त्यसमाथि २०७७ भदौ १७ गते राति भूजीखोलामा आएको बाढीले सडकको विभिन्न ठाउँहरुमा क्षतविक्षत बनाएको थियो । जसका कारण सडकको रुट नै बदल्नु पर्ने अवस्था आयो । कति स्थानमा बर्खामा ठाउँठाउँमा झरेको पहिराले ढोरपाटनका स्थानीय र आगन्तुक पर्यटक ठूलो मर्कामा पर्दै आएको स्थानीय कुलबहादुर सुनारले बताउनुभयो । अप्ठ्यारो सडकमै भए पनि गाडी गुड्दा आलु, स्याउ र सिमी लगायतका कृषि उपज ढुवानीमा ठूलो टेवा पुगेको सुनार बताउनुहुन्छ । सुनार भन्नुहुन्छ– “ढोरपाटनमा आलु स्याउ धेरै फल्छ, बाटो नहुँदा गाउँलेहरुले सधै बोकेर तल झर्ने गर्थे, अन्न, लत्ता कपडा बोकेरै ढोरपाटन पु¥याउँथ्यौँ, त्यो सम्झिँदा अहिले त जुनी फेरे जस्तो लाग्छ, सबै कुरा यही आएको छ, चामल नुन ल्याउन बटौली पुग्नुथ्र्यो अहिले ढोरपाटनका रहेक कुनामा चामल नुनका पसलहरु खुलेका छन् ।”
स्थानीय नरबहादुर घर्ती मगरले यहाँका अधिकांश स्थानीयको मुख्य पेसा पशुपालन र कृषि भएको भन्दै पछिल्लो समय उत्पादित बस्तुले बजार पाउन थालेको बताउनुभयो । पहिले बारीमा उत्पादन भएका आलु, स्याउले बजार पाउन नसकेको भन्दै अहिले व्यापारीहरु बारीमै खरिद गर्न जाने गरेको घर्ती मगरको भनाई छ । उहाँ भन्नुहुन्छ– “अहिले बजारको समस्या छैन, उत्पादन जति गरे पनि विक्री गर्न सकिन्छ, पहिलेको जस्तो घोडा खच्चडमा बोकेर बजारमा लैजानु पर्ने अवस्था छैन, अहिले त व्यापारीहरु यहीँ किन्न आउँछन् ।”
पत्तो छैन बुँकीको सौन्दर्यता
ढोरपाटन उपत्यका आउने अधिकांश पर्यटकहरुलाई बुँकीको शौन्दर्यताको पत्तोनै हुँदैन । ढोरपान उपत्यका ढोरपाटनको सानो रुप भएको सिकार आरक्षको तथ्याङ्कले देखाउछ । सिकार आरक्षमा रहेको बुँकी शौन्दर्यतकाको लागि निकै आकर्षक गन्तव्य भएपनि प्रचारप्रसारको अभाव छ । ढोरपाटन उपत्यका पुग्ने पर्यटकको १० प्रतिशत पर्यटकहरु समेत बुँकी पुग्न सकेका छैनन् । बुँकी क्षेत्र प्रचार प्रसारको क्रममा ओझेलमा छ । ढोरपाटनको बुँकी पुग्नुभएका पोखराका दिवस गुरुङले ढोरपाटन पुगेका पर्यटकहरुलाई पदयात्रामार्फत बुँकी पु¥याउन सक्नुपर्ने बताउनुभयो । सडक मार्गले नछोएको बुकी भेडिखर्क हो । तर प्राकृतिक शौन्दर्यतका लागि ढोरपाटन पुगेका पर्यटकहरु बुँकी क्षेत्र पुग्न आवश्यक रहेको छ ।
“बागलुङका स्थानीय समेत बुँकी पुगेका छैनन्, हाम्रो बुझाईमा ढोरपाटन भनेको उपत्यका मात्रै हो, तर खास ढोरपाटनको मुख्य शौन्दर्यकरण भएको क्षेत्र बुँकी हो” गुरुङले भन्नुभयो “उपत्यकाबाट एकदिनको पैदलयात्रामा पुग्न सकिने बुँकीमा स्थानीयहरुले भेडा बाख्रा चरनका लागि लैजाने गरेको छन् ।” बुँकी पुग्नका लागि व्यवस्थित पैदलमार्गको खाँचो देखिएको छ । बुँकी हुँदै गुरिल्ला पदमार्ग रुकुम र रोल्पा गएपनि पदमार्गको पर्बद्धन हुन नसकेको गुरुङको भनाई छ ।
ढोरपाटन नगरको पर्यटन पूर्वाधार र प्रवद्र्धनको प्रयास
ढोरपाटन नगरपालिकाले आफ्नो सिमिति योजना तथा कार्यक्रमबाट ढोरपाटनका केही योजनाहरु समेट्दै आएको छ । ढोरपाटन उपत्यकामा वडा नम्बर ६, ७, ८ र ९ नम्बर बासीहरुको घुम्ती बसाई रहेपनि उक्त वडा ९ नम्बरमा पर्दछ । चालु आर्थिक वर्षमा ढोरपाटन उपत्यका क्षेत्रमा एक करोड बजेट कार्यान्वयनको चरणमा रहेको वडा अध्यक्ष खीम बहादुर घर्ती मगरले जानकारी दिनुभयो ।
उहाँले ढोरपाटन उपत्यकालाई एग्रो टुरिजमको रुपमा विकास गर्नका लागि नगरपालिका र संघीय सरकारको सहकार्यमा गुरु योजना बनाउन थालिएको बताउनुभयो । “ढोरपाटनलाई पर्यटन र कृषिको रुपमा परिचित गराउदै एग्रो टुरिजमको क्षेत्रका रुपमा विकास गर्ने गरी गुरुयोजना बनाउन थालिएको छ, चालु आर्थिक वर्षमा ढोरपाटनमा पर्यटकीय पूर्वाधार, ढोरबराह मन्दिर संरक्षण, सडक तथा बस्ती संरक्षणका लागि बजेट कार्यान्वयनमा गएका छौं” मगरले भन्नुभयो “गुरु योजनामा बस्ती विकास, खेतियोग्य जमिन र संभावित बालीनालीको अवस्था चित्रण हुनेछ, उत्तरगंगा जलाशययुक्त आयोजनाको क्षेत्र, आरक्षको क्षेत्र र पर्यटकीय पूर्वाधारको क्षेत्र सबै समेट्ने गरी गुरुयोजना निर्माणमा जुटेका छौं ।”
नगरपालिका मार्फत छेन्तुङ देखि निसेलढोर सम्म पुग्ने सडक मर्मतका लागि रु. ३१ लाख, ढोरबराह मन्दिर संरक्षण र विकासको लागि रु.४० लाख, नवी गाउँमा खोलाको जोखिम घटाउन सातलाख, नौथर गाउँको बस्ती जोगाउन १३ लाख, देउरालीमा जीर्ण मन्दिरको संरक्षणमा १० लाख बजेट चालु आर्थिक वर्षमा कार्यान्वयनमा ल्याउन थालिएको वडा अध्यक्ष घर्ती मगरको भनाई छ ।
वडा कार्यालय बनाउन ठुलो चुनौतकीका बावजुत जुरे पधेरामा वडा कार्यालय बनाउन रु. ३५ लाख बजेट समेत बिनियोजन भइसकेको छ । ९ नम्बर वडा कार्यालय हालसम्म भाडाको घरमा थियो । नबी गाउँमा उत्तरगंगा नदीमा मोटरेबल पुल निर्माणका लागि डिपिआर बनाएर सम्बन्धीत मन्त्रालयलाई पेश गरिएको ढोरपाटन नगरपालिकाले जनाएको छ । आगमी दिनमा पर्यटकीय पूर्वाधार केन्द्रित बजेट विनियोजन गर्नै नगरपालिकाको भनाई छ ।
आरक्ष र स्थानीयको भूमिका
हालसम्म ढोरपाटन क्षेत्रसंग जोडिएको गाउँहरु मध्यवर्ती घोषणा हुन नसक्दा ढोरपाटन सिकार आरक्षमा संकलीत राजश्व केन्द्रमा गइरहेको छ । मध्यवर्ती क्षेत्र घोषणाका लागि आरक्ष र स्थानीयबीचको बुझाईमा एकरुपता नहुँदा मध्यवर्ती क्षेत्र घोषणामा ढिलाई भइरहेको ढोरपाटन शिकास आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत विरेन्द्र कंडेलले जानकारी दिनुभयो ।
कँडेलका अनुसार स्थानीयहरुलाई मध्यवर्ती क्षेत्र घोषणा र घोषणा पश्चात स्थानीयलाई पुग्ने फाइदाको विसयमा स्थानीयहरु अनविज्ञ रहेको बताउनुभयो । यस्तै स्थनीयले आरक्ष स्थापना नहुँदेबाट प्रयोग गर्दै आएको जग्गा, वन तथा नदीनाला मध्यवर्ती घोषणापश्चात प्रयोग गर्न नपाइने भन्दै शिकार आरक्षको आलोचना गर्दै आएका छन् ।
सिकार आरक्षले स्थानीय पालिकासंग समन्वय नगर्दा बुझाईमा गतल भएको र शिकार आरक्षले मध्यवर्ती घोषण पश्चात स्थानीयको आर्थिक तथा सामाजिक विकासमा पु¥याउने फाइदाको विषयमा जानकारी नगराउदा समस्या भइरहेको वडा अध्यक्ष खिम बहादुर घर्ती मगरले बताउनुभयो ।
बढ्दै पर्यटक र राजश्व
पछिल्लो समय ढोरपाटन आउने पर्यटकहरुको तथ्याङ्क संकलन थालिएको छ । ढोरपाटन शिकार आरक्षले ढोरपाटन उपत्यका प्रवेश गर्ने पर्यटकहरुको आर्थिक वर्ष २०७६÷७७ बाट तथ्याङ्क संकलन गर्न थालिएको हो । यस अघि विदेशी शिकारी पर्यटकहरुको मात्रै तथ्याङ्क संकलन हुँदै आएको थियो ।
ढोरपाटन शिकार आरक्षले संकलन गरेको तथ्याङ्क अनुसार ढोरपाटन घुम्न आउने विदेशी र स्वदेशी दुबैको संख्यामा क्रमश वृद्धि भइरहेको देखाएको छ । ढोरपाटन प्रवेश स्थल देउरालीमा यसअघि बाह्य पर्यटकहरुले शुल्क तिरेर प्रवेश पाउने गरेकोमा आर्थिक वर्ष २०७७÷०७८ आन्तरिक पर्यटकहरुले समेत रु.१०० प्रवेश शुल्क तिर्ने प्रावधान ढोरपाटन शिकार आरक्षले बनाएको छ । प्रमुख संरक्षण अधिकृत कंडेलले जानकारी दिनुभयो ।
सोझै हेलिकप्टरमार्फत विदेशी शिकारी पर्यटकहरुमात्रै ढोरपाटन शिकार आरक्ष पुग्ने भएपनि सडकको पहुँच, होटल सुबिधा तथा प्रचार प्रसार संगै बाह्य मात्रै नभएर आन्तरिक पर्यटकहरु समेत त्यहाँ पुग्न थालेका छन् । ढोपाटनमा शिकार खेल्न, ढोरपाटन उपत्यका भ्रमण गर्न, प्रसिद्ध ढोरबारही मन्दिर दर्शन गर्न र शिकार आरक्ष कार्यालयको अवलोकनका लागि पर्यटकहरु त्यहाँ पुग्ने गरेका छन् ।
नाउर र झारलको बैधानिक शिकार खेल्न पाइने उक्त क्षेत्रमा विदेशी पर्यटकहरुले लाखौं खर्च गरेर शिकार खेल्न त्यहाँ पुग्ने गरेका छन् भने आन्तरिक तथा अन्य पर्यटकहरुले शिकार आरक्ष क्षेत्रको भ्रमण तथा अवलोकन गर्ने गरेका छन् । वर्खा शुरुभएसंगै झण्डै ८ किलोमिटर क्षेत्रमा फैलिएको ढोरपाटन उपत्यकामा सयौ प्रकारका आकर्षक फूलहरु फुलेका छन् ।
शिकार आरक्षको अनुसार आर्थिक वर्ष २०७६/०७७ सम्म विदेशी पर्यटकको मात्रै रेकर्ड राख्दै आएको आरक्षणले गत आर्थिक वर्षदेखि स्वदेशी पर्यटकरुको समेत रेकर्ड राख्दै आएको छ । आर्थिक वर्ष ०७२/०७३ मा ९१ विदेशी पर्यटक भ्रमणका लागि आएको आरक्षमा, ०७३/०७४ मा १३९ विदेशी पर्यटक, ०७४/०७५मा ११९ विदेशी पर्यटक, ०७५/०७६ मा ४८० विदेशी पर्यटक र ०७६/०७७ मा ३२० विदेशी पर्यटक आएकोमा २०७७/०७८ मा विदेशी र स्वदेशी गरी ६ हजार ७०३ पर्यटक आएको र पर्यटकहरुको आगमन शुल्क वार्षिनी ६ लाखको हाराहारीमा हुँने गरेकोमा २०७७/०७८ बढेर २० लाख पुगेको छ । २०७८/७९ मा यो तथ्याङ्क बढेर आउने देखिएको सिकार आरक्षले जनाएको छ ।
स्याउ र आलुको सम्भावना
ढोपाटनको आलु देशरभर चर्चित छ तर बजारीकरणका लागि अझै समस्या रहेको किसानहरुले बताएका छन् । आलु पकेट क्षेत्रको रुपमा रहेको ढोरपाटनको प्रमुख खाद्यन्न बाली आलु रहेको छ । २० मुरी आलु उत्पादन नगर्ने कृषक ढोरपाटनको कोही किषक नहुँने स्थानीय कृषक देब बहादुर बिकले बताउनुभयो । यहाँको आलु नै यहाँका कृषकहरुको प्रमुख खाद्यन्न बाली हो । तर मौसममा आलु धेरै हुने भएकाले यसको निर्यातमा समस्या देखिएको छ ।
आलु भण्डारण गृह नहुँदा किसानले थन्काएका आलु कुहिने गरेको छ । ढोरपाटनको आलु, पोखरा, काठमाण्डौ लगायतको बजारमा उच्च माग छ । जिल्लाको ढोरपाटन आलुपछि स्याउको पकेट क्षेत्र हो । ढोरपाटन स्याउ पकेट क्षेत्रका अध्यक्ष जुम बहादुर बुढाले ढोरपाटन क्षेत्रमा आधुनिक स्याउको प्रचुर संभावना रहेको बताउनुभयो । बागलुङको निसीखोला गाउँपालिका–५ मस गाउँका ७३ वर्षका जुमबहादुर बुढाथोकी मगरले निसेलढोरमा विसं २०४८ मा नै परम्परागत तरिकाले स्याउका बिरुवा लगाउनुभएको भएपनि परिणाम नआउदा अहिले इटालिएन जातको आधुनिक स्याउखेति थाल्नुभएको छ ।
स्याउ राम्रो उत्पादन हुन नसक्दा उहाँको मात्रै हैन निसेलढोर र ढोरपाटनका किसान स्याउखेतीभन्दा आलुखेतीतर्फ अग्रसर भइरहेको सन्र्दभमा इटालिएन जातको आधुकिन स्याउको उतपादन राम्रो देखिएको हो । पाँच रोपनी जग्गामा नयाँ दुई सय २० बिरुवा र पुराना ५० वटा स्याउका बिरुवा लगाउनुभएका बुढाले कृषि अध्ययनले समेत ढोरपाटनमा असिना र वर्षात्का कारण व्यावसायिक स्याउखेती गर्न कठिन देखाए पनि कृषि ज्ञान केन्द्रको पहलमा इटालीबाट ल्याइएका आधुनिक प्रजातिको स्याउका बिरुवा ढोरपाटनमा परीक्षणका लागि लगाइएको जुन सफल देखिएको छ ।
आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा ढोरपाटन नगरपालिका–९ र निसीखोला गाउँपालिका–५ लाई समेटेर ढोरपाटन स्याउ ब्लक कार्यक्रमसमेत चलाइ यहाँका किसानलाई स्याउखेतीप्रति जागरुक बनाइएको थियो । ढोरपाटन क्षेत्रमा उक्त इटालियन प्रजातिका एक हजार एक सय १५ बिरुवा किसानलाई वितरण गरिकामा एक वर्षमै उत्पादन दिन सुरु गरेपछि किसान खुसी भएका छन् ।
ढोरपाटन उपत्यकाका किसान रामबहादुर घर्तीले एक सय ८१ वटा बिरुवामध्ये केही बिरुवामा एक वर्षमै स्याउ फल्न थालेको बताउदै आलुपछि यहाँ स्याउको संभावना रहेको बताउनुभयो । यहाँको प्रमुख उत्पादन आलु, स्याऊ, सिमिको ब्राण्डीङ गर्ने र कोसेलीका विक्रि गर्ने पालिकाको योजना छ । तर ढोरपाटनको उत्पादन प्रर्बद्धनमा राज्यको नजर पर्न नसकेको स्थानीय चक बहादुर अदैको गुनासो छ । ढोरपाटनमा पछिल्लो समय सडक, विद्युत तथा सञ्चारको पहुँच पुगिसकेको छ ।
चर्चामै सीमित उत्तरगंगा जलाशययुक्त आयोजना
अहिलेसम्म अध्ययनकै क्रममा छ उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजना । निकै सस्तो परियोजनाको रुपमा रहेको आयोजना हाल डिपिआरको चरणमा रहेको रगंगा जलाशययुक्त जलविद्युत आयोजनाका प्रमुख अम्किेश झाले जानकारी दिनुभयो । आयोजनाको वातवराण्ीय प्रभाव मुल्याङ्कन समेत एक वर्षदेखि वन मन्त्रालएमा थन्किएको छ भने डिपिआरका लागि सम्झौता गरेको विदेशी कम्पनीले काम नगर्दा ठेक्का सम्झौता भंग गरिएको झाले जानकारी दिनुभयो ।
“डिपिआरका लागि परामर्शदाता छनौट गरेर काममा खटाएका थियौ, रुस र युक्रेनको युद्धका कारण विदेशी कम्पनी आएन, एक वर्षदेखि काम नभएपछि ठेक्का रद्द गरेका छौं,” आयोजना प्रमुख झाले भन्नुभयो “अब नयाँ परामर्श दाताका लागि ठेक्का खुलाउने विषयमा निर्णय हुन बाँकी छ, नेपालकै नयाँ र नमूना आयोजनामा ढिलाई भएको स्विकार गर्छु, राजनैतिक रुपमा यो आयोजना सफल पार्न दबाब हुनुपर्दछ ।”
ढोरपाटन उपतयकामा जम्मा गरेको पानी सिसीखोलामा खसाल्ने या रुकुम पश्चिमममा खसाल्ने राजनीतिक विवादका कारण आयोजना अध्ययनमै सीमित भइरहेको छ । तर, आयोजनाका प्राविधिकहरुले निसीखोलामै पानी खसाल्दा मात्रै आयोजना सम्पन्न हुने बताउदै आएका छन् ।
स्थानीय सरकारबाट केही सुरुवात, केही आशा
ढोरपाटनको सुन्दरता, सम्भावनालाई यथोचित प्रयोग, प्रचार र प्रवद्र्धन गर्न नसकेको स्थानीय गुनासो गर्छन् । नयाँ संघीय अभ्याससँगै स्थानीय सरकार आएपछि केही पहल र प्रयास भए पनि अझै अपेक्षित रुप र गतिमा काम हुन सकेको छैन । ढोरपाटनमा पर्यटन पूर्वाधार निर्माणका लागि ढोरपाटन नगरपालिकाले चालु आर्थिक वर्षमा एक करोड रुपैयाँ विनियोजन गरेको छ ।
छेन्तुङ गम्बादेखि निसेलढोरसम्म ग्राभेल गर्नका लागि ३० लाख, उत्तर गंगा बराह मन्दिर व्यवस्थापनका लागि ४० लाख र तल्लो चौर तटबन्धनका लागि २० लाख रुपैयाँ विनयोजन गरेको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण)ले जानकारी दिनुभयो । यसवर्ष नगरपालिकाले अव्यवस्थित उत्तरगंगा नदीलाई व्यवस्थित गर्ने, बराह मन्दिरमा रहेका ढुङ्गाको बाजागाजा व्यवस्थापन र ढोरपाटन प्रवेशद्वार गेटमा मन्दिर निर्माण गर्ने योजना बनाएको उपप्रमुख कायत बताउनुहुन्छ ।
उहाँले सडक निर्माण ढिलाइ हुँदा सोचे अनुसार ढोरपाटनको विकास हुन नसकेको र आगन्तुकलाई भित्राउन नसकेको बताउनुभयो । पहिलेको तुलनामा पर्यटकहरु बढे पनि अपेक्षा अनुसार भित्राउन नसकेको सुनाउनुभयो । ढोरपाटनलाई राज्यले नाम दिए पनि कामका हिसाबले हेर्दा नभएको उहाँको गुनासो छ ।
उपप्रमुख कायत भन्नुहुन्छ–“राज्यले ढोरपाटनमा लगानी गर्न सकेन, स्थानीय सरकारको लगानीले मात्रै पुगेन, यति ठूलो सम्भावना बोकेको ठाउँ राज्यको नजरमा नपर्नु दुःखद हो, जति पनि ढोरपाटन अहिले चर्चामा छ, त्यो यहाँको सौन्दर्यको कारण हो, यहाँ कुनै काम भएर होइन, यहाँ आउने सडक राम्रो हुन्थ्यो भने आन्तरिक मात्रै होइन, विदेशी पर्यटकलाई पोखराबाट सिधै ढोरपाटन ल्याउन सकिन्थ्यो ।”
उहाँले सालझण्डी–ढोरपाटन सडक आयोजना र निर्माण कम्पनीलाई झकझकाइ रहेको बताउनुभयो । पर्यटनबाटै ढोरपाटनको समृद्धि हुन सक्ने भन्दै यहाँ तीनै सरकारको नजर पुग्न जरुरी रहेको बताउनुहुन्छ । जडिबुटि, खानी, पर्यटन लगायतले ढोरपाटन भरिएको भन्दै नगरपालिकाले आफ्नो तहबाट सक्दो प्रयास गरि रहेको बताउनुभयो ।