धौलागिरी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित : नयाँ मितिका लागि छलफल


आदर्श अनलाइन, बागलुङ

धौलागिरी बहुमुखी क्याम्पसमा आगमी पाँच गते सम्पन्न हुँने स्ववियु निर्वाचन स्थगित भएको छ ।

बागलुङमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन चैत ५ गते भित्र सम्पन्न गर्न नसक्ने भन्दै नयाँ चैत १८ गते भित्र निर्वाचन गर्ने धौलागिरी बहुमुखी क्याम्पसले तयारी भइरहेको छ ।

विद्यार्थी संगठनबीचको विवाद समाधान नभएपछि चैत ५ गतेका लागि त्रिभुवन विश्व विद्यालयले तोकेका निर्वाचन स्थगित भएको हो ।

निर्वाचन अधिकृत भक्तिराज न्यौपानेले निर्वाचन अधिकृतको जिम्मेवारीबाट फागुन ३० गते नै राजीनामा दिनुभएको थियो ।

निर्वाचन अधिकृतको राजीनामासँगै चुनाव स्थगित भएको र नयाँ निर्वाचनका लागि विद्यार्थीसंगठन बीच छलफल भइरहेको धौलागिरी बहुमुखी क्याम्पस बागलुङका क्याम्पस प्रमुख प्राध्यापक डा. रामप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

अखिल (क्रान्तिकारी) लगायतका पाँच विद्यार्थी सङ्गठनले विद्यार्थीहरूको परिचयपत्र नयाँ जारी गर्नुपर्ने लगायतका माग राख्दै निर्वाचन कार्यालयमा मनोनयनको अघिल्लो दिन ताला लगाएको थियो । पटक–पटकको वार्ता र छलफलबाट समस्या समाधान नभएपछि नेपाल विद्यार्थी संघले ताला फुटाएको थियो ।

निर्वाचन अधिकृतको राजीनामा पछि स्थगित भएको निर्वाचनको अर्को मिति तोक्नुपर्ने माग राख्दै नेपाल विद्यार्थी संघले क्याम्पसमा धर्ना दिएको थियो । विद्यार्थीको आन्दोलनपछि क्याम्पस प्रशासनले चुनावी प्रतिस्पर्धाका लागि दर्ता भएका १० वटै विद्यार्थी संगठनबीच आम सहमति जुटे चैत १८ गतेभित्र निर्वाचन गर्न सकिने बताएको छ ।

नेविसंघका विद्यार्थीले चैत १८ गते भित्र निर्वाचन गराउने क्याम्पसको आश्वासनपछि आन्दोलन स्थगित गरेका छन् ।

“चैत ५ गतेको केन्द्रीय तालिका अनुसारको निर्वाचन ट¥यो, नयाँ कार्यतालिका लागि केन्द्र संग परामर्श भइरहेको छ, चैत १८ गते भित्र कुनै मितिका लागि छलफल भइरहेको छ” क्याम्पस प्रमुख प्राध्यापक डा. रामप्रसाद उपाध्यायले भन्नुभयो “तर १८ गते भित्र निर्वाचनका लागि विद्यार्थीबीच सहमती आवश्यक छ, जस्का लागि अहिले छलफल भइरहेको छ, केही विद्यार्थी संगठनलाई बाहिर राखेर निर्वाचन संभव छैन, समहती भएपछि १८ गते भित्र निर्वाचन गर्न सकिन्छ ।”

चैत २१ गतेपछि चौथो वर्षका विद्यार्थीको परीक्षा सकिने र उनीहरू मतदाता नरहने हुँदा निर्वाचन गर्न नसकिने बताउदै केन्द्रसंग परामर्श भइरहेको उहाँको भनाइ छ ।

चैत १२ गतेदेखि चौथो वर्षको परीक्षा सञ्चालन हुँदैछ । निर्वाचन स्थगित भएको ३० दिन भित्र क्याम्पस प्रमुखले निर्वाचनको गराउन सक्ने प्रावधानलाई टेकेर निर्वाचनको मितिका विषयमा छलफल भइरहेको छ ।

१० वटै विद्यार्थी सङ्गठनले संयुक्त रूपमा चुनावी अपिल गरे चुनाव गर्न सकिने क्याम्पस प्रमुखको भनाइ छ । विद्यार्थी संगठनबीच आम सहमति बिना निर्वाचन नहुने उहाँले स्पष्ट पार्नुभयो । जनधनको क्षति गरेर चुनाव गर्न नसकिने क्याम्पस प्रमुख उपाध्यायको भनाइ छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *