नेपाली क्रिकेट टोलीले दिलाएको अभुतपूर्व खुसी

सम्पादकीय/ विश्व खेलकुदमा नेपाल देश गुमनाम प्रायः थियो र छ । तर, बिहीबार विश्व समुदायमा यस्तो खेल सन्देश प्रवाह गरेको छ, जसले नेपाल देशबारे खोज्न र सोच्न बाध्य बनाइरहेको छ । नेपाली क्रिकेट टोली एक दिवसीय विश्वकपमा शानदार प्रदर्शनका साथ छनोट भएको छ । आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा यूएईलाई ९ रनले हराउँदै नेपालले एकदिवसीय विश्वकप छनोटमा स्थान पक्का गरेको हो । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो । जवाफमा नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाउँदा खेल रोकियो र डिएल मेडथका आधारमा नेपाल ९ रनले विजयी घोषणा भयो । यो जितसँगै नेपाल ४० अंकका साथ लिग टूको तेस्रो स्थानमा उक्लिएको छ । र, जिम्बाब्वेमा हुने विश्वकप छनोटमा स्थान बनाउन सफल भयो ।

विश्वकपको छनोट खेलका ११ मध्ये ११ खेलमा नेपाली क्रिकेट टोलीले जित हासिल गर्नु निकै सुखद र सुधारिएको प्रदर्शन हो । अन्तिम खेलमा ३ सय बढीको विशाल लक्ष्य पछ्याएको नेपालका आसिफ खानको कीर्तिमानी शतक सम्झन लायक रह्यो । अरविन्द र आसिफ खानको जोडीले अन्तिम ६ ओभरमा विस्फोटक ब्याटिङ गर्दै १०२ रन थप्यो । आसिफ खानले त छक्का र चौकाको वर्षा नै गरे । सम्भवतः क्रिकेटमा यति धेरै हजारौको संख्यामा नेपाली क्रिकेट समर्थक सहभागी भएको खेलमा ४४ ओभर सकिँदा २० रन बनाएर खेलिरहेका उनले ४१ बलमा १०० रन पूरा गरे । सबभन्दा कम बलमा शतक पूरा गर्ने एशोसिएसट ब्याट्सम्यानको कीर्तिमान बनाएका उनी १०१ रनमा अविजित रहे । नेपालको विश्वकप छनोट यात्रामा सबै खेलाडीको प्रदर्शन उत्कृष्ट रह्यो । अब जिम्बाब्बेमा हुने वल्डकप क्वालिफायरमा आईसीसी सुपर लिगका पुछारका ५ टिम, लिग टु को शीर्ष तीन टिम र प्लेअफ क्वालिफायरबाट आउने शीर्ष दुई टिम गरी १० टिमले प्रतिस्पर्धा गर्नेछन् ।

विश्वकपमा नेपाल जस्तो विकासको दिशामा अग्रसर हुँदै गरेको देश छनोट हुने कुरा निकै ठुलो उपलब्धि हो । यसलाई सिंगो नेपाल र नेपालीले उत्सवको रुपमा सेलिव्रेश न गरिरहेका छन् । नेपाली क्रिकेट र समग्र खेलकुद क्षेत्रमा यसपटकको प्रतियोगितामा इतिहास रचेको छ । सीमित स्रोत साधनका बाबजुद नेपालले जुन स्तरको खेल कौशल प्रदर्शन र सफलता हासिल गरेको छ । त्यो निश्चय पनि अभूतपूर्व देखिएको छ । जसले नेपाली क्रिकेटलाई फेरि उच्च क्रेज बटुल्न सफल भएको हजारौ दर्शकको सहभागिताबाट पुष्टि हुन्छ । यसका लागि क्रिकेट खेलाडी धन्यवाद र उपाधिको हकदार छन् । अहिलेलाई नेपाली क्रिकेट टोलीलाई बधाईको ओइरो छ । यस सफलताका लागि हार्दिक बधाई । यो जितसँगै भोलिका दिनमा समेत उच्च र सार्थक सफलताका लागि हार्दिक शुभकामना ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *