‘मगर खाम भाषा’मा पाठ्यक्रम बनाउँदै निसीखाेला

डम्मर बुढा मगर, बागलुङ
बागलुङमा पहिलो पटक निसीखोला गाउँपालिकाले यहाँ बोलिने ‘मगर खाम भाषा’ मा पाठ्यक्रम बनाएको छ । गाउँपालिकाले अघिल्लो वर्षदेखि नै स्थानीय पाठ्यक्रम निर्माण जुटेको थियो । पाठ्यक्रम यस वर्ष कक्षा एकदेखि आठसम्म लागु गर्ने गाउँपालिकाका शिक्षा शाखा प्रमुख जयराज पुनले जानकारी दिनुभयो ।

उहाँका अनुसार अघिल्लो वर्षनै पाठ्यक्रम निर्माण गरिएको थियो । तर यहाँ बोलिने मगर खाम भाषा समावेश नहुँदा पाठ्यक्रम कार्यान्वयन गर्न नसकिएको हो । निसीखोला गाउँपालिका– ५ र ६ मा बसोबास गर्ने स्थानीय ‘मगर खाम भाषा’ बोल्ने गर्छन् । अन्य वडाहरुमा भने यो भाषा प्रयोग हुँदैन । गाउँपालिकाले नेपाली र मगर खाम भाषा दुवैमा पाठ्क्रम नर्माण गरेर पाठ्यपुस्त तयार गर्ने पुनको भनाई छ ।

मगर खाम भाषाको पाठ्यपुस्तक दुई वटा बाहेक अन्य वडामा ऐच्छिक विषयका रुपा राखिने छ । आगामी शैक्षिक सत्र २०८० देखि कक्षा १ मा दुवै भाषाका पाठ्यपुस्तक पढाइ हुने शिक्षा शाखा प्रमुख पुनले बताउनुभयो । आगामी शैक्षिक सत्रदेखि पाठ्यक्रम लागु भए पनि पाठ्यपुस्त क्रमसः छपाई गर्ने र लागु गर्ने उहाँको भनाई छ

पाठ्यपुस्तकमा स्थानीय कृषि, परम्परागत व्यापार व्यवसाय, स्थानीय प्रविधिमा आधारित उद्योग व्यवसाय, खाना, खेल, संघसंस्था, समाज, बाजाघाजा नाच, चाडपर्व र रितीरिवाज, स्थानीय जातजाति, भेषभूषा तथा संस्कृति, धार्मिक ऐतिहासिक र पर्यटकीय स्थल र प्रकोप र विपद् व्यवस्थापन लगायतका विषयहरु समावेश हुने उहाँले जानकारी दिनुभयो ।

“पाठ्यक्रम पोहोर सालमै निर्माण गरेर सकिएको थियो, तर मगर खाम भाषाकै कारण लागु गर्न ढिलाई भएको हो, नेपाली भाषाको मात्रै हुन्थ्यो भने गत वर्षनै लागु हुन्थ्यो,” प्रमुख पुनले भन्नुभयो– “यस वर्ष विषय विज्ञहरुको टिम बनेको छ, अब छिट्टै कक्षा एकदेखि पाठ्यपुस्तक पठनपाठन गराउने गरि काम भएको छ ।

यस वर्ष पाठ्यकक्रमका लागि गाउँपालिकाले १० लाख विनियोजन गरेको छ । पछिल्लो समय मातृभाषा लोप हुन थालेपछि पाठ्क्रममै समावेश गर्न लागेको गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले बताउनुभयो । निसीखोलाको सीमित ठाउँमा मात्रै मगर खाम भाषा बोलिने हुँदा भाषा संरक्षणमा चुनौती थपिएको अध्यक्ष घर्ती मगर बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ– “बालबालिकादेखि युवाहरु बजारमा बस्ने, बजारमै पढ्न थाले गाउँमा पढ्नेहरु पनि नेपाली भाषामै पढ्छन्, त्यसले गर्दा यहाँको भाषा संकटमा पर्ने जोखिम बढेपछि संरक्षणका लागि हामीहरु जुटेका छौँ, स्कूल पाठ्यक्रममै समावेश भएर पढाई भयो भने भाषा लोप भएर जाँदैन ।”

पाठ्यक्रम निर्माणमा पालिकाको सक्रियता
बागलुङमा अघिल्लो वर्षदेखिनै स्थानीय पाठ्यक्रमहरु निर्माण गरि पठनपाठन सुरु भएको छ । सबैभन्दा पहिले तमानखोला गाउँपालिकाले पाठ्यक्रम निर्माण गर्नुको साथै पाठ्यपुस्तक बनाएर पठनपाठन सुरु गरेको हो । तमानखोलासँगै ताराखोला र बरेङ गाउँपालिकाले पनि पाठ्यक्रम बनाएर लागुका छन् ।

तमानखोला गाउँपालिकाले ‘मेरो तमानखोला’ नामक पाठ्यक्रम बनाएर कक्षा १ देखि ३ सम्म पढाउन थालेको हो । आगामी वर्ष कक्षा ५ सम्मको पाठ्क्रम लागू गर्ने तयारी भएको गाउँपालिकाले जनाएको छ । ताराखोला गाउँपालिकाले पनि गत शैक्षिक सत्रबाटै पाठ्यक्रम बनाएर पढाउन थालेको हो ।

बरेङ गाउँपालिकले पनि यही शैक्षिक सत्रदेखि पाठ्यक्रम लागू गरेको छ । बरेङले पहिलो चरणमै कक्षा १ देखि ३ सम्मको ‘हाम्रो बरेङ’ पाठ्यक्रम बनाएर पढाउन थालिसकेको शिक्षा अधिकारी सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । गाउँपालिकाले स्थानीय चाडपर्व, कला, संस्कृति र पालिकाको परिचयलाई पाठ्यक्रममा समावेश गरिएको उहाँको भनाई छ ।

बडिगाड गाउँपालिकाले पनि यही वर्षदेखि कक्षा एकको पठ्यपुस्त निर्माण गरि पठनपाठ थालेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख पूर्णबहादुर घर्तीले जानकारी दिनुभयो । उहाँले यस वर्ष कक्षा १–३ पाठ्यक्रम निर्माण गरि कार्यान्वयनमा ल्याएको भन्दै अगामी वर्षदेखि माथिल्लो तहका पाठ्यपुस्ता निर्माण गरि पठनपाठन सुरु गरेको बताउनुभयो ।

बागलुङ नगरपालिकाले भने कक्षा १–८ को पाठ्यक्रम निर्माण गरे पनि पाठ्यपुस्तक बनाएर पठनपाठन गर्न सकेको छैन । आगामी शैक्षिक सत्रदेखि पाठ्यपुस्तक तयार गरि १–३ को पठनपाठन गर्ने नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *