राम सुवेदी
देशको अवस्था प्रति नागरिक स्तरको जत्ति चिन्ता छ, त्यो राजनीतिमा छैन अर्थात नेतामा छैन । राष्ट्र र जनताप्रतिको चिन्ता मौषमी राजनीतिमा छ । नेताहरुको साँठगाँठ, तालमेल, गठजोडबाट सत्ताको उकालो लाग्ने मोषमी नीतिमा नेताहरु रमाइरहेको दशकौं भयो । उनीहरु मौका पर्दा एक अर्कालाई गाली गरेर महान राष्ट्रवादी बताउँछन् । तर काम, व्यवहार, विचार, चिन्तनले होईन ।
नेपालको राजनीति फोहोरी भएको सबैलाई थाहा छ । तर यसलाई संल्याउने चेत भएको अर्को नेता पनि जन्मेको देखिन्न । तमाम बेथितिको पगेरी अहिलेका नेताहरुले जिउभरी भिरे । त्यो पनि प्रष्ट देखिएको छ । तर केहीथान मान्छेहरु त्यो निकालीदिने हिम्मत गरेका हुन्नन् अझै अर्को बेथितिको माला लगेर नेताको जीउमा भिराईदिन्छन् । यस्तालाई समर्थक, कार्यकर्ता भनिने राजनीति छ । राष्ट्रको ढिकुटी रित्याउने, सरकारी बजेटमा मोजमस्ति गर्ने, शयलको जीवन यापन गर्ने, आफ्ना सन्तान र आफन्तहरु सेट गराउनेहरुको पछिपछि हिंडने राजनीतिमा त्याग गरेको कार्यकर्ता अरे । त्यहाँ अघिपछि गर्न नपाए, त्यो राष्ट्रवादी कार्यकर्ता अर्को दलको होनाहार नेता भएर जन्मन्छ । यो मेरो देशको राजनैतिक संस्कार हो । कुनै आरोप होईन, यथार्थमा नेताहरुको व्यवहार यसरी छताछुल्ल भइरहेको हुन्छ कि हिजो देशमा राम्रो व्यवस्था ल्याउने, किसान, मजदुर, भोका नाँगा, सुकुम्वासीहरुको पक्षधरबाट जन्मेको विचारकहरु देश र जनताको आसा भरोसासित अग्रभागमा देखिएलान भन्दा पुरानै विकृत्ति, विसंगतिको चंगोलमा भासिंदै छन् । यसले नागरिकको आसा भरोसा, निरासामा बदलियो । देश खाने, रित्याउने र राष्ट्र खोक्रो पारेर छाड्ने, सत्ताप्रति मरिहत्तै गर्ने, जो जोसित मिसिएर वा टाँसिएर हुन्छ राज्यमा हालीमुहाली गर्ने नेता र नीति पतनको बाटो हो ।
जनताले मान्ने, मर्यादा गर्ने, भरोसाको भरथेग गर्ने, राष्ट्र र जनताको उन्नति प्रगति गराउन तर्फ सक्रिय हुने । स्वार्थमा नबाझिने, न्याय र समानताको पक्षमा रहने नेता पो नेता । राष्ट्रवाद, जनतावाद र नीतिवाद पो नेताको नीति, थीतिको व्यवस्थापन, अब्बल राज्य व्यवस्थापन ल्याएको सररात्मक परिवर्तन महसुस गर्न गराउन सक्ने नीति पो राजनीति । जनताबाट डराउनुपर्ने नेता, जनहित विपरितको नीति कार्यान्वयन गरिरेको राजनीतिले देश बनाउँदैन । जनअपेक्षा विपरितको कर्म गरिरहने मान्छेहरुको हुल, देशको सम्पत्तिबाट आफ्नो र परिवार पालिने ध्येय राखेको नेता । खान पाईन्छ कि भनेर नेताको तलुवा चाटिरहेको लोभी कार्यकर्ता, त्यही कार्यकर्ताको हातबाट एक गासको आसा गर्ने समर्थकहरुले निम्त्याएको राजनैतिक विसंगति र यसको परिणाम हो यो । त्यसको प्रभाव भोटरहरुको मानसिकतामा गड्यो । पैसामा अभिमत किनबेच सुरु भयो । चाकरीका भरमा जागिरमा लाग्नेहरुले सेवा प्रवाहमा अर्को बेथितिको संस्कार जन्माईदिए । जो सुधारेर सुध्रने पक्षमा देखिएन । क्षमता भएका र इमान्दार राष्ट्र सेवकहरु उनीहरुकै थिचोकिचोमा परे । राज्य संयन्त्रका सेवाप्रदायिक निकायहरुमा बेथिति कस्ले जन्मायो ? यसको लालन पालन कस्ले गर्यो ? बिग्रिएको बनाउने र सपार्ने थीति बसाल्न नसक्ने को को वा कुन कुन राजनैतिक पार्टि वा दलले सकेन ? नबुझे, नजानेको, थाहा नपाएको र यो नयाँ कुरा पनि होईन ।
सबै आसा भरोसा तुहाईदिने कर्म अहिलेका नेता, उनीहरुले अवलम्बन गरेको नीति व्यवहारले नै हो । जल्दो बल्दो नकरात्मक संस्कारमा हुर्केबढेको राजनीतिले नै हो । नेता र नेताको व्यवहारमा सुधार अहिलेकाबाट पटक्कै हुँदैन भन्ने सत्य हो । यसो हुँदाहुँदै, सुधारको बाटो नदेख्नु देशका लागि अधोगति हो । सचेत मान्छेहरु उठ्नु, जाग्नु, जगाउनु पर्ने बेला घर्किन थालिसकेको छ । हामी जस्ता अबुझ मतदाता, पार्टिका समर्थक, कार्यकर्ताको अन्धो बोलबाला पनि अर्को दुश्कर्म हो । यसलाई पहिला स्वीकार गर्नुपर्दछ । जस्ले जस्तो कर्म गर्छ, उसले उस्तै परिणाम पनि भोग्नु पर्छ । बगैचामा बनमाराको बार लाउनी, बारले बगैचा बिगार्यो भनेर आलो लाउँदा सिंगो बगैचा नै सखाप हुन्छ भन्ने हेक्का सहितको चेत पनि अव हामीमा आवश्यक छ ।
देशप्रतिको चिन्ता र मायाँ त पहिला त्यसको शिखरमा रहेको सत्तासिनहरुले दर्शाउनुपर्ने मान्यता छ । रआफूले राजकाज गरेको राज्यको सुदृढिकरण र सही व्यवस्थापन, प्रवद्र्धन सरकारको नेतृत्वमा रहेकोले आफ्नोे मूल कर्म, कर्तव्य र दायित्व संझनु पर्ने हो । भूँइतहका जनताले यत्ति अपेक्षा गर्नु सामान्य कुरा हो । तर विडम्बना यसपालाको सरकारले सरकारी ढुकुटी लुट्यो, भ्रष्ट्राचार गर्यो । भनेर सुन्नुपर्ने, त्यसका समर्थकहरु तल सडक बन्द गरेर त्यो कर्मको स्पष्टिकरण दिने, माथिल्लो ओहदामा रहेकाहरु सत्तामासँग हुँदासम्म मुख टाल्ने, सत्ता वरपर भए यल्ले यति खाएको हो भनेर यदाकदा बोल्ने, फेरि मिल्यो, त्यो बोलीपाि फिर्ता लिईहाल्ने । यस्ता अनैतिकहरु नेता मान्नुपर्ने? यिनीहरुनै देशको राजनीतिमा रहीरहनु पर्ने ? यिनका नीतिमा अदर्शता खोजी हिंड्नुपर्ने ? हामी मान्छे कि बुख्याचा ?
आजका नेता, नीति र अहिलेको राजनीतिबाट आसा भरोसा गर्ने भरोसायोग्य ठाउँ बञ्जर जमीनमा आलसको खेति लगाए बरावर नै हो । त्यसको परिणाम देशका सबै निकायको विसंगति हो । नेताहरु बनाउने तिर छैन । जस्ताको तस्तै राख्ने र यथास्थिति अझ विगार्ने, उनीहरु आपसमा गरिरहेको सत्ताखेलको झगडालाई जनताको मगजमा कोच्ने र दीग्भ्रमित पारेर नेता बन्ने संस्कार आजको राजनीतिमा छ । जवसम्म नागरिकमा यो राजनीति, उनीहरुको नीति विचार र नेताहरुले कर्मपथ बनाएको विचार, शिद्धान्त र आदर्शताबाट च्यूत भएको हेक्का हुँदैन । तवसम्म यो राजनीति यस्तै रहन्छ ।