खेमराज गौतम, बागलुङ
काठबाट निर्माण गरिएका झ्याल, तोरण, टुँडाल, ढोका हेर्दा निकै सुन्दर देखिन्छन् । सुन्दर मात्र होइन् टिकाउ पनि उत्तिकै हुन्छन् तर काष्ठकला निर्माणमा लाग्ने खर्च र मेहनत भने जो कोहीले कमै मात्रमा अनुमान लगाउने गरेका छन् ।
मठ, मन्दिर, सत्तल, पाटी पौवा हुँदै घरलाई समेत आकर्षक र कलात्मक बनाउन काष्ठकलाकारले काठमा पोखेको कला नेपाली सभ्यता र संस्कृती जत्तिकै पुरानो छ । तर, काष्ठकला प्रति युवाहरुको आकर्षण नहुनु र काष्ठकला पुस्तान्तरण हुन नसक्दा कलाकारको मात्र होइन्, काठबाट निर्माण गरिएका सामाग्रीको समेत कमी हुन थालेको सन्र्दभ छ । तर बागलुङ नगरपालिका–३ का भीमबहादुर विश्वकर्मा भने आफ्ना सात पुस्ताले अंगालेको काष्ठकला पेशालाई धान्दै आउनुभएको छ।
खर्च र समय दुवै बढि लाग्ने भएकाले पछिल्लो पुस्ताले काठबाट निर्मित टुँडाल, झ्याल र ढोका कम प्रयोग गर्न थालेपनि विश्वकर्माले भने पुर्खाको पेशालाई जोगाई राखेको बताउनुहुन्छ ।
बागलुङका व्यक्तिका घरमा भन्दा मठ मन्दिरमा काष्ठकलाको बढी प्रयोग हुने भन्दै पछिल्लो भदौ महिनादेखि भीमबहादुर बागलुङ कालिका मन्दिरमै बास बसेर मन्दिरलाई कलात्मक बनाउन लाग्नुभएको छ । भीमबहादुरसँगै उहाँका कान्छा छोरा विकास विश्वकर्मा पनि मन्दिरमै बुबासंगै काष्ठकलामा हुनुहुन्छ ।
कालिका मन्दिरलाई कलात्मक बनाउने काष्ठकलाको जिम्मा भीम बहादुरले लिनुभएको छ ।
६० वर्षका भीम बहादुरको जीवन नै काष्ठकलामा वित्यो । भीम बहादुरले आफ्नो सात पुस्तादेखिनै मुख्य पेशा काष्ठकलानै रहेको बताउनुहुन्छ ।
आफ्ना बुबा मोतिलाल विश्वकर्माले विभिन्न मन्दिरको टुँडाल तथा भगवनाका आकृति बनाएको देखेर १५ वर्षको उमेरबाटै काष्ठकला सिकेको उहाँको भनाई छ । रु.८ लाखमा कालिका मन्दिरको हवन कुण्ड, शिवालय मन्दिर र गणेश मन्दिरका लागि आवश्यक टुँडाला, आँखी झ्याल तथा विभिन्न भगवनाका आकृति काष्ठकला मार्फत तयार गरिराख्नु भएका विश्वकर्माले हाल सम्म काष्ठकला व्यवसाय आफ्नो परिवारमा पुस्तान्तरण भइरहेको बताउनुभयो ।
विश्वकर्माले काष्ठकला सहित तामाले छाउने कार्यमा समेत ज्ञान रहेको बताउनुभयो । उहाँले काठलाई विभिन्न घरेलु औजारले महिनौ कुँदेर विभिन्न आकृतिमा निर्माण गर्दै आउनुभएको छ ।
“हाम्रो सात पुस्ताले नै काष्ठकलामा जीवन बिताए, मेरा बुबासंग मैले २०४८ सालमा कालिका मन्दिरको गजुर मिलाउने, झ्याल तथा ढोका कुद्ने गरेको थिए, अहिले बुबाले बनाएको आँखी झ्याल तथा टुडाँलहरु कालिका मन्दिरमा छन्, बुबा बितेकै २० वर्ष भयो, अहिले पुनः कालिका मन्दिर क्षेत्रमा निर्माण गरिने हवन कुण्ड, शिवालय र गणेश मन्दिरमा मैले आफ्नो कला पोख्ने अवसर पाएको छु ।’’
“अबको दुई महिना पछि यहाँ काम सकिन्छ, जम्मा चारवटा आँखी झ्याल मात्रै बनाउन बाँकी छ” विश्वकर्माले भन्नुभयो “हाम्रा पुस्ताहरुले बागलुङ, गुल्मी, पर्वत, म्याग्दी लगायतका भुरे टाकुरे राजाहरुको दरबार, मठ मन्दिर लगायतमा काष्ठकलाको काम गरेका रहेछन्, अहिले पनि गुल्मीको रिडिमा रहेको रिडेश्वर मन्दिर हाम्रै पुस्ता गुर्जे र बदेले बनाएको प्रमाण छ, मन्दिर कलात्मक बनाएपछि विर्ता लिएर गुर्जेको दाँया हात काटिएको सुन्नमा पाइन्छ ।”
पुनः बदेको सहयोगमा गुर्जेले विभिन्न मठ मन्दिरका झ्याल ढोका विभिन्न आकृतिमा कुँदेको इतिहास पाइन्छ । कालिका मन्दिरको मुख्यद्वार नजीकै आफ्ना बुबाको नाम देखाउदै विश्वकर्माले भन्नुभयो “कालिका मन्दिरको काठबाट निर्मित कलात्मक झ्याल तथा ढोका बुबाले बनाएको प्रमाण हो यो ।”
अहिले हाम्रो सबै पुस्ताले काष्ठकलामा जीवन बिताएकाले आफूले समेत त्यही गरेर जीवन चलाउदै आएको बताउनुभयो । आफूले पञ्चकोट, कारिकोट, तित्याङ मनकामना लगायतका प्रसिद्ध मन्दिरको ढोका तथा विभिन्न आकृतिमा झ्याल निर्माण गरीसकेको स्मरण गर्नुभयो ।
“१५ वर्षको उमेरमा बुबासंग काष्ठकलामा हिड्दा सिकेको हुँ, अहिले कान्छो छोरा विकासले समेत काष्ठकला सिकिसकेको छ, अहिलेसम्म पुस्तान्तरण भइरहेको छ, तर अब के हुन्छ भन्न सकिन्न ।”
“इतिहास हेर्दा विश्वकर्मामध्ये केहीले सूनको काम, केहीले फलामको काम र केहीले काष्ठकलाको काम सिकेका रहेछन्, पछिल्लो समय कृतिम र विद्युतीय उपकरकणको सहायताले काष्ठकलाको काम थालिएको छ, तर घरेलु हतियारले निर्माण गरेको काठको छुट्टै महत्व छ, मैले काष्ठकलामा एक दर्जन विभिन्न देवी तथा देवताका मुर्ती बनाउन सक्छु ।” उहाँले भन्नुभयो ।
कालिका मन्दिरको हवन कुण्डमा नाग देवाता, भगवती,बुद्ध भगवना, विष्णु, देवी र जल देवता लगायतका आकृतिमा काठ कुँदेर निर्माण गरिएको विश्वकर्माले जानकारी दिनुभयो ।
विश्वकर्माले कलात्मक ढंगले कँुदिएको ढोकालाई अहिलेको बजार भाउ रु. एक लाख ८० हजार पर्ने बताउदै काष्ठकलामा धेरै मेहनत लाग्ने बताउनुभयो । उहाँले पुस्ताहरुले एक स्थानमा बनाएको आकृति अर्को स्थानमा नबनाउदा उक्त मन्दिरको कलात्मक महत्व बढेर जाने बताएको स्मरण गर्नुभयो । उहाँले काष्ठकलामा लागेर पुर्खाहरुले विर्ता पाएको समेत सुनाउनुभयो । अहिले काष्ठकलाबाट जीवन गुजरा मात्रै चलाउन ठिक्क भएको बताउनुभयो । उहाँले लगातार काष्ठकलाको काम पाइदा राम्रो आम्दानी भएपनि कहिलेकाही खाली हात बस्नुपर्ने बाध्यता रहेको सुनाउनुभयो ।
विश्वकर्माले बालभैरव मन्दिर, तित्याङ मनकामना मन्दिर, विभिन्न कुल मन्दिर तथा कयौ व्यक्तिगत घरका टुडाँल, झ्याल तथा ढोकाहरु बनाइसकेको बताउनुभयो ।