छोरा हिम्मतलाई चिठी ११

याम बहादुर थापा मगर
प्यारो छोरा हिम्मतमा शुभ आर्शीवाद साथै सुस्वास्थ्यको कामना
छोरा हिम्मतलाई पत्र लेख्ने श्रृङखलामा निरन्तरता आए पनि लामो समय अवरोध हुन पुग्यो । केही न केही मात्रामा नयाँ कुरा र विषय बस्तुका बारेमा जानकारी गराई चेतना स्तरमा छोरा छोरीहरुको अभिवृद्धि गर्नु नै अभिभावकको पहिलो दायित्व हो । हर दिन विद्यालयमा अध्ययन गर्ने विषय वस्तुका अलावा वाह्य पुस्तकहरुको ज्ञान लिन समेत हिम्मत बाबु प्रयासरत रहनु पर्दछ । अहिलेको समय सुचना र प्रविधिको युगमा भरपुर मात्रामा उपयोगमा ल्याउदा आफुमा भएको सृजनात्मक क्षमतामा ह्रास आउने कुरालाई बढी मात्रामा ध्यान पुरयाउनु पर्दछ । सुचना र प्रविधिमा आधारित भै वर्तमान प्रतिस्पर्धामा आफुलाई अब्बल बनाउनका लागि समयको दुरुपयोग गरी खेलवाड गर्नु हुदैन । पछिल्लो समयमा छोरा हिम्मत तिमीले अर्को पत्र फेरी फरक विषय वस्तु समेटी लेख्नका लागि गरेको अनुरोधलाई सम्मान गर्दै मैले मात्र एकोहोरो लेख्नुको सट्टा तिमी छोराले पनि आफुमा भएको व्यक्तित्व विकास र सकारात्मक परिर्वतनका विषयमा ज्ञान आर्जन गरेको संग्रह गरी बाबालाई चिठी सम्बोधन गर्दै लेख्ने प्रयास गरेमा लेखन शिपको विकास भई अभिव्यक्ति कलाको विकास गरी उचाइमा पुग्नलाई मद्धत गर्न सहयोग पुग्दछ । फेरी लेख्नका लागि थप अध्ययन र खोज आवश्यक नै पर्दछ । फराकिलो सोच र बुझाइ विस्तार गर्नका लागि विभिन्न विषयमा सामान्य ज्ञान लिनुको विकल्प छैन । आफुलाई मन पर्ने विषयमा विषज्ञता हासिल गर्नुको त विकल्प छैन । आफुलाई मनपर्ने विषयमा लगाव बढाउदै संजाललाई बढावा दिनु र हर तरहले संघर्षरत रहि श्रेष्ठता हासिल गरी सफलता हासिल गर्नमा लाग्नु नै छोरा हिम्मतको पहिलो कर्तव्य रहेको छ । गाऊँघर रित्तिदै गएको वर्तमान परिवेशमा ग्रामिण कला संस्कृति र संस्कारका विषयमा लोप हुँदै गएपनि जानकारी लिनु पर्दछ । गाउँघरमा हुने मेला महोत्सव, व्रर्तवन्ध,विवाह संस्कार, मृत्यु संस्कारका बारेमा प्रत्यक्ष रुपमा सहभागी भै परम्परागत सामाजिक विधि र प्रक्रियाका बारेमा जानकारी लिनु पर्दछ ।

छोरा हिम्मतको घरमा बाबाले संकलन र अध्ययन गरेका थुप्रै किताबहरु रहेका छन । ति पुस्तकहरुको समय मिलाएर जसरी पनि अध्ययन गर्नु पर्दछ । आमा रुपकदेवी थापा मगर र दिदी रुयासा थापा मगरलाई समेत ति पुस्तक मैले अध्ययन गरी सके थप पुस्तक किनी अध्ययन गर्ने हो भनी प्रस्ताव राख्ने हिम्मत तिमीले गर्नुपर्दछ । तिम्रा साथीहरु पनि अध्ययनलाई निरन्तरता दिने खालका पुस्तक प्रेमीहरुको संगत गर्ने खालको अब्बल जमात बनाउनमा पहल गर्नुपर्दछ । सक्छौ भने स्थायी साथी बनाउने पुस्तक प्रेमीहरुको समुहमा नेतृत्व गर्ने पहल तिमीले गर्नुपर्दछ । अहिले त मोबाइलमा फेसबुक, युटुव लगायतमा सुन्ने किताबहरु प्रशस्त मात्रामा पाइन्छ । ति सुन्ने कितावहरुको फुसर्दमा धेरै भन्दा धेरै सुन्न पर्दछ । टिकटक, फेसबुक, युटुव लगायतका सामाजिक संजालमा कम ध्यान दिएर ज्ञानबद्र्धक विषयमा बढी मात्रामा लगाव लगाउनु श्रेयस्कर हुने छ । छोराले पहिलो पटक मोबाइलमा देखाउँदै Rich Dadd, Poor Dadd पुस्तक लेखक Robert T.Kiyosaki को पुस्तकलाई किनी ल्याइदिन अनुरोध गर्दा अत्यन्त खुशी भए । धनी बुबा गरिब बाबा पुस्तक पढने हो भने मैले पहिला नै छोराले माग गर्नु भन्दा पहिले नै किनी नेपाली संस्करणमा अध्ययन गरेको थिए । सो पुस्तक अध्ययन गर्ने हो भने घरमा नै रहेको जानकारी दिए । यदि अग्रेजी र हिन्दी संस्करणमा भए नयाँ किन्नु पर्ने बताए । सो पुस्तकलाई मैले युटुवमा सर्च गरी हेर्दा नेपाली संस्करणमा अडियो बुक भएको पत्ता लगाए । सो अडियो बुक डाउनलोड गरी हिम्मतको फेसबुक म्यासेन्जरमा पठाइदिएको छु । आशा एव विश्वास छ कि सो पुस्तकको सार संक्षेपमा सुनेर पक्कै शिक्षा रुपी विद्या आर्जन गरेको हुनुपर्दछ । सो धनी बुबा गरिब बुबा पुस्तकमा धनी बुबाले आफना छोरा छोरीहरुलाई व्यापार गर्न अभिप्रेरित गर्ने, शिक्षित मानिसलाई रोजगारीमा लगाउन सक्ने उद्योग खोल्न, शेयरमा लगानी गर्न, दायित्व सृजना गर्ने गरी कारोवार तथा लगानी गर्नका लागि अभिप्रेरित गर्दछन । धनी बुबाले व्यवस्थापक बन्न पहल गर्दछन । खोज अनुसन्धानमा विशेष ध्यान दिदै परियोजना,आयोजनामा शेयर लगानी गरी मुनाफा, लाभांश लिनमा अग्रसर हुन्छन । गरिव बुबाले छोरा छोरीहरुलाई अध्ययन गर्न र जागिर खानका लागि उत्प्रेरित गर्दछन । भविष्यमा जोखिम लिने गरी लगानी नगर्न पुजी नभएका कारण सुझाव दिदैन । आत्म सन्तुष्टी लिई शिक्षालाई आदर्शका रुपमा लिई समाजसेवा,इमान्दारितामा खटिनका लागि सुझाव दिन्छन । भविष्यमा लगानीको वातावरण तयार गरी पुजी लगानी मार्फत मुनाफा हासिल गर्ने विषयमा पछाडी रहेको पाउन सकिन्छ । सामुहिकतामा विश्वास राख्ने गरिव बुबाको सल्लाहले निजी रुपमा कम्पनी,उद्योग स्थापना गरी बस्तुको निर्यात,आयातको कारोवार गरी नाफा कमाउनका लागि पहल गर्न नसकी धनी बुबाले मात्र छोरा छोरीहरुलाई सिकाउँछ ।

धनी बुबाले नाफा,मुनाफा हासिल गरी पुँजी लगानी गरी व्यापारिक संजाल निर्माण गर्नका लागि नाफाहरुको संभावनाका लागि अध्ययन गरेको हुन्छ । तर गरिव बुबाले अध्ययनलाई जिविकोर्पाजनका लागि आधारभुत आवश्यकता पुरा गर्दै सेवाभावको विकास गर्नका लागि सुझाव दिदै जागिर खाएर उच्च पद हासिल गरेका व्यक्तिहरुको अनुशरण गर्नका लागि बारम्बार लगाव लगाउन सहयोग गरिरहेका हुन्छन् । सेवा भावको भावनालाई लोककल्याणकारी भावनामा देखावटी पारामा प्रस्तुत भएको पाउन सकिन्छ ।

छोरा हिम्मतले धनी बुबा गरिब बुवा भन्ने अतिरिक्त तिमीलाई विद्यालयमा पढाउने प्रिन्सीपल, शिक्षकहरुलाई सोधी कुन कुन खुल्ला बजारमा पाइने पुस्तकहरु पढनका लागि सिफारिस गर्नुहुन्छ भनी जिज्ञासा राखी थुप्रै लेखकका पुस्तकहरुको नामावली संकलन गरी अनौपचापरिक ज्ञान हासिल गर्न अध्ययन गर्नु पर्दछ । अहिले त युटुव र गुगल डट कममा समेत थुप्रै किताबहरु अध्ययन गर्न सुन्न समेत पाइन्छ । नेपाली भाषा,इतिहास,भुगोल,स्वास्थ्य,राजनीति,अर्थतन्त्र लगायत विभिन्न धार्मिक सप्रदायहरुका बारेमा जानकारी लिइ विश्वजगतका बारेमा ज्ञान लिनका लागि अध्ययन गर्नुको विकल्प छैन । त्यसैेले सामुहिक भावनाको समुह बनाउँदै अध्ययनका लागि आफुले नै लगानी गरी प्रतिफल हासिल गरेको उपलब्धी हुनुपर्दछ । त्यसमा समय,पैसा,अन्र्तक्रिया एक आपसमा भएको हुनुले पछि सम्मका लागि सम्झना हुनका लागि सहयोग पुयाँउछ ।

अहिलेका बालबालिकाहरुलाई लगभग पुस्तकालयको ज्ञान र महत्व कम हुन थालेको छ । किनकी सबै मोबाइलमा उपलब्ध हुने गर्दछ । हाम्रो पालामा इन्टरनेटको विकास सहज भएको थिएन । मसँग नियमित पुस्तक, पत्रपत्रिकाहरु किन्ने पैसा पनि नहुने भएकोले म विद्या मन्दिर पुस्तकालय बागलुङको साधारण सदस्य बनी पुस्तक र विभिन्न पत्रपत्रिकाहरु नियमित पढनका लागि पुस्तकालयमा जान्थे । अध्ययन सामाग्रीहरु उपलब्ध हुनुका साथै अध्ययनशील साथीहरुको संगत हुने गरयो । वर्ष भरीमा नियमित पुस्तकालयमा जाने पाठक बनी पुरस्कार समेत प्राप्त गरी सम्मान भएको थिए । पछि म सो विद्या मन्दिर पुस्तकालय बागलुङको आजिवन सदस्य बने । त्यसैले छोरा हिम्मतले इच्छा र रुची जाग्दछ भने पुस्तकालयको सदस्य बनी अध्ययन गर्नका लागि मेरो ह्रदयबाट नै आग्रह गर्दछु ।

यदि मोबाइल समेत उपलब्ध भएपनि आफुलाई मन पर्ने टिकटक,छोटो फिल्म,गित,कविता,लेख,फोटो,डकुमेन्ट्री,फिल्महरुको जम्मा गर्ने फाइलहरु खडा गरी व्यक्तिगत रुपमा भण्डार गरी ज्ञान आर्जनको रुपमा पृष्ठपोषण तयार गर्नुपर्दछ । अहिलेका केटाकेटीहरु बढी मात्रामा टिकटकमा भुल्ने गरेको अवस्था छ । टिकटकको ज्ञानबद्र्धक र शिक्षामुलक भन्दा मनोरञ्जनमुलक क्षेत्रका क्रियाकलापहरुमा मात्र ध्यान दिनु हुँदैन । मैले सकलन गरेका विभिन्न प्रकारका घरमा भएका पुस्तकहरु समय मिलाएर अनौपचारिक शिक्षा हासिल गर्नमा स्वअध्ययन गरी शक्ति रुपी ज्ञान आर्जन गर्न प्रयासरत हुनुपर्दछ । साथै विभिन्न समयमा प्रकाशन भएका थप पुस्तकहरु समेत रुचिका आधारमा छनौट र खरिद गरी अध्ययन गरी अरु भन्दा अब्बल दरिनका लागि अनौपचारिक शिक्षा हासिल गर्नमा कदम चालेर प्रतिस्पर्धाको युगमा सबल बन्नुको विकल्प छैन । औपचारिक शिक्षामा अब्बल हुुन त अनिवार्य नै भयो ।

मैले युटुवमा सर्च गरी थुप्रै नेपाली,हिन्दी, अग्रेजी पुस्तकहरुको छनौट गरी श्रव्रण र अध्ययन गर्नका लागि म्यासेन्जरमा लिकं पठाएको छु । ति म्यासेन्जरलाई ओपन गरी फुर्सदको समयमा सुन्नका लागि अनुरोध छ । मोबाइलमा थुप्रै खालमा एपलिकेशनहरु समेत उपलब्ध छन् तिनलाई उपयोगमा ल्याई धेरै भन्दा धेरै शब्द भण्डारमा अभिवृद्धि गर्नु नै उत्तम हुन्छ ।

सामाजिक सञ्जालहरु फेसबुक,लाइन,टिइटवर लगायतको सावधानीपुर्वक प्रयोग गर्नुपर्दछ । देशको राजनैतिक प्रणाली, राष्ट्रिय अर्थतन्त्र लगायत समाजका रीतिरिवाज,चालचलन, जातजातिका बारेमा विविधता र बहुभाषिक,बहुजाति सहित बहुसाँस्कृतिक पक्षमा जानकार हुनका लागि पहल गर्नुको विकल्प छैन । स्वय तिम्रो आमा रुपकदेवी थापा मगर विद्यालयको शिक्षक भएकोले शिक्षण विधि र नेपाली शिक्षा प्रणालीमा भएको विविधिताका बारेमा पारिवारिक बैठक गरी जानकार हुनुपर्दछ । प्रत्येक शनिवार फुर्सदको समय आमासँग गरेर शिक्षा र स्वास्थ्यका बारेमा जानकार हुन चियापान समारोह मार्फत घुलमिल हुनुपर्दछ ।

तिमीलाई भ्रमण गर्न खुब मन लाग्दछ । घुम्नका लागि समय,उद्धेश्य,लगानी,योजना,परिणाम दिने प्रस्ताव र स्थानको सयोजन हुनुपर्दछ । तिमी काठमाडौ,पोखरा,पर्वतको बनौ र बागलुङ जिल्लाको गल्कोट,दुदिलाभाटी,भिमगिठे लगायतका स्थानमा पगेका छौ । ति स्थानमा भ्रमण गर्दा सिकेका ज्ञान र शिक्षालाई लिखित रुपमा दैनिकी लेखेमा लेखन शिपको विकास हुन्छ । विद्यालय,क्याम्पसले आयोजना गरेको शैक्षिक भ्रमणमा सहभागी भै यात्रामा जानुपर्दछ । भ्रमण भन्दा अहिलेको उमेर भनेको अब्बल दर्जाको नागरिक बन्नका लागि ज्ञान आर्जनमा लाग्नु नै अनिवार्य शर्त रहेको छ ।

मैले छोरा हिम्मतलाई हालसम्म लेखेका पत्रहरुको लेखाइ र अध्ययनबाट के कति चेतना स्तरमा विकास भएको छ । सोको निचोडको अपेक्षा गरेको छु । साथै मेरा,छोरा, दिदी रुयासा लगायत आमाको साथीहरुले सामाजिक संजालहरु मार्फत अध्ययन गरी के कस्तो प्रभाव पारेको छ भनी खोज अनुसन्धान गरी प्रभाव विश्लेषण गर्ने जिम्मा पनि छोरा हिम्मतले लिनुपर्दछ । ताकी समालोचना गर्ने र खोजी खोजी अध्ययन गर्ने बानीको विकास हुन्छ । पत्रका अलावा छरछिमेकमा रहेका शिक्षक, कर्मचारी, राजनैतिक नेता, सहकारी कर्मी, वन उपभोक्ता समिति, आमा समुह, क्लबहरुका बारेमा विस्तृत रुपमा गर्नुपर्दछ है भन्दै आगामी पत्रमा थप नयाँ विषयवस्तुहरुका बारेमा प्रस्तुत हुने र नयाँ नयाँ पक्षमा लेखनका लागि छोरा हिम्मतले अध्ययन पश्चात घच्घचायमा छिटो पत्र लेखनको समयलाई व्यवस्थापन हुने छ भन्दै अन्त गर्न चाहान्छु ।

उही बाबा
बागलुङ नगरपालिका १०, भकुण्डे

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *