रोहन जि.सी
म अहिले २१ वर्षको भए । उमेर सानै होला, कलिलै होला तर जीवनका हरेक संघर्ष, प्रयास, यसका कठिनाई बारे केही त बुझेको छु झै लाग्छ । उमेर त एउटा गन्ती मात्र हो । जीवनका पानाहरुमा के लेखिए, के लेखिएलान थाहा भएन तर यति चाहन्छु कि यो जीवनमा उमेर अनुसारका अनुभवहरु लेखिनु पर्छ । सबैले जन्मदिनको अवसरमा म यति वर्ष भए, उति वर्ष भए भनेर गन्ने गर्छन् । तर हाम्रो जीवनमा गन्ने कुरा केही छैन भने हामी आफ्नो उमेर पनि नगनौं भन्ने लाग्छ ।
मैले जहाँ शुरुवाती शिक्षा आर्जन गरेको वा प्राप्त गरेको त्यो ठाँउ मेरो घर हो । नैतिक, व्यवहारिक र अनुशासन शिक्षा दिने मेरो परिवार हो । सामाजिक, राजनैतिक पृष्ठभुमिको परिवारमा जन्मिएर होला यस्तै वातावरणमा हुर्किएर होला सानै उमेरदेखि समसामायिक, सिर्जनात्मक, सामान्य ज्ञान तर्फ रुचि रह्यो । विभिन्न कार्यक्रम, बैठक, भेलामा सानो फुच्चे केटा सोनीको त्यो डिजिटल क्यामेरा वा बुबाआमाको मोबाइल लिएर अघि अघि फोटो खिच्दै हिड्थे । अग्रजहरुको निकै माया पाइन्थ्यो, फोटो खिचिदेउ फुच्चे भन्ने अग्रजहरु धेरै हुनुहुन्छ । २०६६ मंसिर २३ गते राष्ट्रिय सहकारी बैंक लिमिटेडको पोखरा शाखाको उद्घाटन कार्यक्रम भएको थियो, म त्यतिबेला ७ वर्षको थिए बुबाले मलाई कार्यक्रममा लैजानु भएको थियो । म सानैदेखि फोटो खिच्ने कार्यमा चासो दिन्थे रे, बुवाआमासंगै हिड्ने, उहाँहरुले गरेको देखेर पनि होला । त्यो दिन पनि मैले क्यामरा मागेर झगडा गरेको थिए । क्यामरा नदिएसम्म नमान्ने भएकैले बुवाले क्यामरा दिनु भएको थियो । कार्यक्रमको फोटो खिच्न रमाउने म स्टेज अघि फोटो खिच्न पुगे । दौरा सुरुवाल लगाएको सानो फुच्चे जता नि अटाउने, कार्यक्रमको उद्घाटन राष्ट्रिय योजना आयोगका तत्कालिन उपाध्यक्ष (पछि नेपाल राष्ट्र बैंकका गर्भनर तथा पूर्व अर्थमन्त्री) डा.युवराज खतिवडाले गर्नु भएको थियो ।
त्यतिबेला मोवाइलबाट फोटो खिच्ने त्यति प्रचलन थिएन, बुवाको क्यामेरा थियो, मैले जिद्दी गरेर क्यामरा बोकेर फोटो खिचे । उद्घाटन गर्दै गर्दाको मैले खिचेका २ वटा फोटा बैंकको छैठौ वार्षिक साधारणसभाको वार्षिक प्रतिवेदनको कभर पेजमा समेटिन पुगेछन्, प्रतिवेदन आएपछि बुवाले यि तिमले खिचेको तस्विर हाम्रो बैंकको प्रतिवेदनमा छापिएको छ, भनेपछि म असाध्यै खुशी भएको थिए । मेरो जीवनको एउटा ठुलो र पहिलो उपलब्धि त्यहीबाट शुरु भयो । मैले खिचेको थुप्रै फोटाहरु धौलागिरी जागरण दैनिक र अग्रसर साप्ताहिकमा छापिएका छन् । फोटो खिच्ने मेरो रुचि भनौ की रहर ? यसले गर्दा राष्ट्रका पुर्व राष्ट्रपति, उप–राष्ट्रपति, ५ जना पुर्व प्रधानमन्त्री लगायतका हाईप्रोफाइल व्यक्तिहरु संग परिचय गर्ने, भेटघाट गर्ने अवसर जुटायो । बुझ्ने, नबुझ्ने उमेर भाथ्यो भाथेन तर सानैदेखि आफ्नो उमेर भन्दा ठुलोहरुसंग, बागलुङका विभिन्न सञ्चारगृहमा काम गर्ने पत्रकार दाई दिदीहरु संग बस्ने, खाने, डुल्ने, रमाउने गर्थे । मनपर्ने दाई दिदीसंग पछि लागेर कार्यक्रमहरुमा, अफिसमा जाने बस्ने गर्थे । स्कुल पढि रहँदा अन्य विषय भन्दा सामाजिक, सामान्य ज्ञान जस्ता विषयमा बढि रुचि हुन्थ्यो, चासो बढ्थ्यो । अझ सरले पढाउने बेला इतिहास र भुगोलको विषयमा प्रवेश गर्दा त आँखा, कान उठ्थे । जिल्लाका सांसदहरुको, सिडिओ, प्रहरी प्रमुख, विभिन्न कार्यालय, संघसंस्थाहरुका प्रमुखको नाम मुखैमा हुने गथ्र्यो । देशका सबै अञ्चल, प्रदेश, अधिकांश जिल्लाका विशेषता लगायतका सामान्य ज्ञानमा, समसामायिक विषय बारे कण्ठै हुन्थ्यो । यी सबै चासो, इच्छा, अध्ययनले गर्दा भएको हो । नयाँ ठाँउ घुम्न रमाउने, नयाँ मान्छे संग चिनजान गर्ने मेरो अहिले किन यस्ता कुरामा चासो गाछैन ? किन अहिले देश, प्रदेश, जिल्ला, स्थानीय पालिकाका बारेमा अज्ञान भएको महसुुस हुन्छ ?
म सानै थिए, सायद १४ वर्षको उमेर होला बागलुङ जिल्लाको बरेङ क्षेत्रमा घुम्ने अवसर मिलेको थियो । बुवालाई पार्टीले सञ्चालन गरेको अभियानका लागि बरेङ क्षेत्रको जिम्मा दिइएको थियो, विद्यालयमा विदा भएकाले बुवाले जाने भए लैजान्छु भन्नुभयो । त्यतिबेला पालिका बनि सकेको थिएन, तर बरेङ क्षेत्रका त्यसबेलाका ५ वटा गाउँ विकास समितिका जिम्मा भएकोले बुवा, सावित्रा राना अण्टी र म गएका थियौ, एक हप्ताको समय थियो, सुखौरा जाने मेसो परेन, धुल्लुबाँस्कोट, हुग्दिशिर, बाटाकाचौर र सल्यानका विभिन्न टोलहरुमा घुम्दै गर्दा मलाई हाम्रो भुगोल, त्यहाँको रहन सहन, खानपान लगायत थुप्रै कुराका बारेमा अध्ययन गर्ने मौका मिल्यो, जातिय छुवाछुत कस्तो हुदो रहेछ भन्ने अनुभूति पनि मलाई त्यो समयमा भएको थियो ।
उमेर, संगत फेरिएर ? अध्ययन भन्दा अन्य कुरामा ध्यान पुगेर ? उमेर उक्लदै गयो, म्याचौर हुँदै गए तर खानपान, भेटघाट, रमाइलो, घुमफिर तर्फ चासो जान थाल्यो । १६ वर्षमा एसईई दिए, १८ वर्षमा प्लस टु पास आउट गरेको म १९ वर्षको छँदा सञ्चार क्षेत्रमा पाइला टेके । हाल म त्रिभुवन विश्वविद्मालयको आंगिक क्याम्पस धवलागिरी बहुमुखी क्याम्पसमा विविएस तर्फ दोस्रो वर्षमा अध्ययनरत छु । बुबा पत्रकारिता क्षेत्रमा भएको हुनाले यो क्षेत्रमा मन भुल्यो । डाक्टरको छोरा डाक्टर, शिक्षकको छोरा शिक्षक, पत्रकारको छोरा पत्रकार हुनुपर्छ भन्ने छैन तर सानैबाट मलाई पत्रकारिता क्षेत्रमा चासो बढ्यो । बुबा आमा धेरै जसो कार्यक्रममा गई राख्नु पर्ने, दाई पनि पढाईका लागि जिल्ला बाहिर रहनुभयो तर उहाँहरुले दिएको शिक्षा, ज्ञान, संस्कारले गर्दा म भंग हुन पुगिन । बजारदेखि गाउँसम्मका धेरै युवाहरुसंग मेरो चिनजान छ, हाईहेलो हुन्छ, अभिभावकको रुपमा विभिन्न सामाजिक व्यक्तिहरुसंग चिनजान छ त्यसैले सामाजिक कार्यमा सरिक हुन मन लाग्छ । मेरा केही साथीहरु एकदमै घनिष्ट, मिलनसार छन् । लौ न, केटा हो केही नयाँ काम गरौ भन्यो भने नाई कहिल्यै नभन्ने साथी छन् मेरा । कलेज पढ्दै गर्दा कलेजका विभिन्न क्रियाकलापमा व्यवस्थापन गर्ने टिम, चैते दशैंको बेला कालिका मन्दिरमा स्वंयमसेवक बसी सहयोग गर्ने बेला होस वा बजारमा फोहोर व्यवस्थापन तथा सरसफाई गर्न सरिक हुने देखी लिएर, प्रतियोगिताहरु आयोजना गर्ने सम्म सदैव संगै भइयो । किशोर उमेरमा संगत पनि परिवारको भाव बुझ्ने, काम प्रति, समाज प्रति लगाव, माया, मोह भएकाहरुको साथमा रहेको सम्झदा पनि गर्व महसुस हुन्छ । समय बितिराछ, उमेर बढ्दै गयो ।
धौलागिरी टेलिभिजनमा प्राविधिकको रुपमा काम गर्न शुरु गरे २०७७ सालको वैशाखबाट, त्यतिबेला म १९ वर्षको थिए । जीवनको पहिलो पारिश्रमिक वा कमाई लगेर परिवारलाई दिईरहँदा अभिभावकहरु खुशी भएको देख्दा मेरो मन झन खुशी भएको थियो । कुरा पैसाको हैन, परिवारले गरेको त्यो विश्वास, माया, दिएको त्यो आर्शिवाद लिइरहँदा एउटा थप संघर्ष, मेहेनत गर्न हौसला थपिएको महसुस गरे ।
आज त्यही काम गर्दै जाँदा, मेहेनत गर्दै गर्दा, परिवारको माया, ममता, विश्वास, अग्रज पत्रकार दाई दिदीको साथ, सहयोग र साथीहरुको तैले सक्छस्, गर्छस्, गरिहाल्छस नि जस्ता ती हौसलाले भलै शुरुवाती क्षण होला तर पत्रकारितामा सिक्ने, टिक्ने प्रयासमा छु । “तिमी त्यस्तो काममा लाग, जसमा पैसा भन्दा तिमीलाई सन्तुष्टि, खुसी, आनन्द मिलोस” बुबाआमाले भन्नुभाको यो कुरा मेरो जीवनको किताबको पहिलो पानामा छापेको छु । बुबा भन्नुहुन्छ, “काममा लागेको ठिक छ तर काममा लागिसके पछि क्रियाशीलता, निरन्तरता र सिर्जनशीलताका साथ अघि बढ्नु” भन्दै दिएको त्यो आर्शिवादको क्षण अझै मस्तिष्कमा झलझली छ । बाबु तिमी त राम बहादुरको, अञ्जुको कान्छो छोरा हैन र ? तिमी त रोशनको भाई हैन र ? भनेर चिनिने म, एक दिन मैले आफ्नो एउटा फरक अनि उत्कृष्ट पहिचान बनाउनु छ । अन्तत उमेर र संगत समय अनुसार फेरिरहने रहेछ तर जीवनका हरेक त्यो क्षणले एउटा नयाँ सिकाई, अनुभव दिने गर्दो रहेछ । अब्राहम लिंकनले भने झै ः यो हाम्रो जीवनमा गणना गरिएको वर्ष होइन । यो हाम्रो वर्षो जीवन हो ।
जीवन भनेको अनुभवको संगालो रहेछ । अनुभव भनेको जन्म र मृत्युको बीचमा उमेर अनुसार गरिने अभ्यास रहेछ । म समाजमा केही गर्नु पर्छ भन्ने सोच भएको केटा हु, मलाई धेरैजनाको साथ सहयोग, मार्गदर्शन र आर्शिवाद चाहिएको छ । म ठुलादेखि साना सबैसंग घुलमिल हुन, उनीहरुबीचमा भला कुसारी गर्न रुचाउने गर्दछु ।
समाजमा विविधता छ, धनि गरिव, उचो निचो, ठुलो सानो, शक्तिशाली निर्वल जस्ता कुरा विद्यमान छन् । धेरै मान्छेहरु हुने खानेको गुनगान गाउछन्, शक्तिका पछि लाग्छन्, तर मलाई कमजोर, आवाज विहिनहरुको आवाज बन्ने मन छ । जो आफ्ना समस्या समाजमा राख्न सक्दैन तिनको आवाज बन्ने रहर छ, तर मलाई थाहा छैन म मेरो चाहना, लक्ष्यमा कति टिक्न सक्छु । सानैदेखि सामाजिक अभियानमा लाग्न परिवारीक वातावरणले बाटो देखाइदियो, समाजले साथ दियो, अग्रजहरुको आर्शिवाद पाएको छु, भोलीका दिनमा पनि साथ सहयोग र सल्लाह सुझाव पाइराखुला भन्ने विश्वासका साथ यो अभियानमा निरन्तर लाग्ने प्रयत्न गरेको छुु ।
मेरो उमेरका धेरै साथीहरु युवा मात्रै होइन, युवतीहरु समेत विदेशमा गएर पढाईसंगै रोजगारीमा संलग्न रहनु भएको छ । मलाई पनि कहिले काही विदेश लागौ जस्तो पनि लाग्छ । पारिवारीक आर्थिक अवस्थाका कारण पनि त्यो आवश्यक हो जस्तो लाग्छ, तर मलाई बुवाले अमेरिका गएर फर्केपछि भनेको एउटा भनाई सम्झना छ । बुवा सहकारीको कार्यक्रममा १५ जना सहकारीकर्मीहरुको नेतृत्व गर्दै २०७५ सालमा अमेरिका जानु भयो, उहाँको कार्यक्रम सकेर २१ दिन पछि नेपाल फर्कदा धेरै मान्छेले उहाँलाई उतै लुक्छौ होला भनेको त तिमी फर्केछौ नि भन्नु भयो रे । सहकारी अभियानकै क्रममा बुवा धेरै देशमा जानु भयो, उहाँको विचारमा सकेसम्म स्वदेशमै केही गर्नु पर्छ भन्ने छ, विदेश त सकेसम्म घुम्न जाने हो उहा भन्ने गर्नु हुन्छ । मेरो पनि अहिलेसम्म विदेश जाने सोच छैन, तर समय हो कति बेला के हुन्छ यसै भन्न सकिदैन ।
म आदर्श सञ्चार सहकारी संस्थाले सञ्चालन गरेका थुप्रै कार्यक्रममा सहभागी हुने, फोटो खिच्ने, कहिले काही समाचार लेख्ने गर्दथे, म सानै हुदादेखि संस्थाले दुव्र्यसन विरुद्ध आमाहरु कार्यक्रम चलाएको थियो । उक्त कार्यक्रम अन्तरगत पनि म धेरै ठाउँमा जाने, त्यो कार्यक्रमको बारेमा बुझ्ने अवसर पाएको छु । त्यही कार्यक्रमको शिलशिलामा युवाहरु दुव्र्यसनमा लागेको बारेमा धेरै जानकारी भएको थियो । युवा पुस्तालाई दुव्र्यसन लगायत गलत क्रियाकलापमा नलाग्न प्रेरित गर्ने पनि मेरो चाहना छ, त्यस खालका कार्यक्रमहरु सिर्जना गर्न र सञ्चालन गर्ने रहर छ । युवाहरुमा रचनात्मक, सिर्जनात्मक र क्रियाशिलता आवश्यक छ, र हुनु पर्छ भन्ने अभिभावकहरुको भनाई सम्झीरहेकै छु ।
मैले यसभन्दा पहिला स्ववियू निर्वाचनको सन्दर्भमा एउटा लेख लेखेको थिए, सन्दर्भ स्ववियू निर्वाचन ः नयाँ अनुहार तर पुरानै बिमार शिर्षकमा । त्यो लेख ११ सय भन्दा बढीले शेयर गरेर मलाई थप लेखनमा लाग्न प्रेरणा दिनु भएको छ, उहाँहरु सबैप्रति आभारी छु । धन्यवाद ।