ठेकेदारको लापर्बाहीले खुङ्खानी अस्पताल अलपत्र

डम्मर बुढा मगर, बागलुङ
बागलुङको सबैभन्दा विकटको पालिका मानिने तमानखोला गाउँपालिकामा अहिलेसम्म ठूलो अस्पताल बनेका छैनन् । स्थानीय स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य इकाइमा उपचार गराउँदै आएका छन् । सरकारको एक पालिका, एक आधारभूत अस्पताल नीति अनुसार वडा नम्बर ५ को खुङ्खानीमा तमानखोला आधारभूत अस्पताल निर्माणाधिन अवस्थामा छन् । दुई वर्ष अगाडिदेखि निर्माण सुरु भएको अस्पताल ठेकेदारको लापरवाहीका कारण अहिलेसम्म सम्पन्न हुन सकेको छैन ।

अहिले अस्पताल अलपत्र बनेको छ । गाउँमै पालिकास्तरीय अस्पताल बन्न थालेपछि खुसी भएका स्थानीय लामो समयदेखि काम नहुँदा निरास बनेका छन् । अस्पताल निर्माणका लागि वि.सं. २०७७ असार २० गते ज्ञान ज्योति/कुँवर आयोजना जेवीले जिम्मा पाएको थियो । १३ करोड लागतमा निर्माण हुन लागेको अस्पतालको हालसम्म १२ वटा पिल्लर ठड्याउनु बाकेह अरु काम हुन सकेको छैन । यतिबेलासम्म निर्माण सम्पन्न हुनु पर्ने अस्पतालको काम करिब १० प्रतिशत मात्रै सकिएको छ ।

गाउँमा स–साना स्वास्थ्य संस्था भए पनि जटिल रोग लागे ठूला अस्पतालमा पुग्नु पर्ने बाध्यता रहेको स्थानीय पूर्णबहादुर विकले बताउनुभयो । उहाँले यो अस्पताल निर्माण भएपछि सामान्य रोगका उपचार गराउन टाढा–टाढा जानु नपर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– “गाउँमा स्वास्थ्य चौकी त छन् तर, यहाँ खास्सै उपचार हुँदैन, केही बिरामी परिहाले बुर्तिबाङ जानु पर्छ, यहाँ अस्पताल बन्न लागेको दुई वर्ष भयो, अहिलेसम्म थोरै मात्र काम भएको छ, यो बन्ला भन्ने आशनै मर्न लाग्यो ।”

निर्माण कम्पनीले पहिलो पटक म्याद थपेको छ । अब वि.सं. २०८० पौष २० सम्म निर्माण सम्पन्न गर्नु पर्ने छ । तमानखोला गाउँपालिका–५ का अध्यक्ष हिराबहादुर विकले निर्माण कम्पनीलाई पटक–पटक काम गर्न आग्रह गरे पनि विभिन्न बहाना बनाएर काम नगरेको बताउनुभयो । उहाँले स्थानीय र जनप्रतिनिधि कोहीबाट पनि काम गर्न अवरोध नभएको बताउनुहुन्छ ।

“निर्माण कम्पनीसँग बसेर छलफल गरियो म्यादसम्म काम सक्छौँ भन्छ तर फिल्डमा काम गर्न आउँदैन, उनीहरुलाई सक्दो सहयोग हाम्रो तर्फबाट भएको छ,” अध्यक्ष विकले भन्नुभयो– “विद्युत, खानेपानी र कामदारका लागि बस्ने व्यवस्थापनसमेत गरेका थियौँ, अस्पताल समयमै बनोस् भन्ने चाहेका थियौँ, अलमल–मलमल भइरहेको छ ।”

अस्पताल संघीय सरकारले विनियोजन गरेको बजेटबाट निर्माण हुन लागेको हो । सघन सहरी तथा भवन निमार्ण आयोजना कार्यालय बागलुङकी प्रमुख सुनिता श्रेष्ठले थपेको म्यादसम्म काम नगरे ठेक्का रद्ध गर्ने बताउनुभयो । लामो समयसम्म काम नगरेपछि जनप्रतिनिधि र ठेकेदारसँग बैठक बसी तत्काल काम सुरु गर्ने निर्माण भएको प्रमुख श्रेष्ठको भनाई छ । तर निर्णय अनुसार निर्माण कम्पनीले काम सुरुनै गरेको छैन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *