हटिया–ताराखोला सडक : म्याद सकियो, सकिएन कालोपत्रे


आदर्श अनलाइन, बागलुङ
निर्माण व्यवसायीले सरसर्ती सडकको काम गरेको भए अहिले गलकोट हुँदै ताराखोलाको यात्रा निकै सहज हुन्थ्यो ।

गलकोट नगरपालिकाको केन्द्र हटिया देखि गाईघाट हुँदै ताराखोला जोड्ने रणनैतिक सडक म्याद सकिदा सम्म कालोपत्रे हुन सकेको छैन । डेढ वर्ष अघिनै कालोपत्रे सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेकोमा दुई पटक म्याद थप गर्दा समेत उक्त सडकको कालोपत्रे सम्पन्न हुन नसकेको हो । सममै कालोपत्रे नहुँदा गलकोट नगरपालिकाको केन्द्र हुँदै ताराखोला पुग्ने यात्रुलाई सास्ती भएको छ ।

ठेकेदार कम्पनीको लापरर्वाहीका कारण सडक समयमै नसकिएको गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले बताउनुभयो । “गलकोटको गौदीखोला पुलदेखि गलकोट नगरपालिकाको कार्यालय अघि हुँदै ताराखोला पुग्ने सडक चार वर्ष पुगिसक्दा समेत कालोपत्रे भएन” नगरप्रमुख गैरेले भन्नुभयो “दुई पालिका जोड्ने सडक कालोपत्रे भएमा गलकोट र ताराखोलाको सिमानामा रहेको गाइघाट झरनामा पुग्ने पर्यटकहरुलाई समेत सहज हुने थियो, अहिले गलकोट नगरपालिकाको कार्यालय अघि कालोपत्रेका लागि ढिलै भएपनि ग्राभेल गरेको छ ।”

ताराखोलालाई केन्द्र बनाएर गलकोट नगरपालिका र म्याग्दी जोड्ने उक्त रणनीतिक सडक म्याद सकिएको डेढ वर्ष भइसकेको छ । म्याद सकिएपछि दुई पटक म्याद थप्दा समेत कालोपत्रे नभएको पूर्वाधार कार्यालय बागलुङले जनाएको छ । पूर्वाधार कार्यालय बागलुङका प्रमुख गणेश सुवेदीले निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सडक कालोपत्रेमा समस्या भएको जानकारी दिनुभयो ।

“यो ठेक्का आर्थिक वर्ष २०७५÷०७६ लगाइएको थियो, आगमी म्याद सकिएपछि पुन दुई पटक थपियो, पुष सम्म ठेक्का म्याद छ, त्यो म्याद भित्र सडक कालोपत्रे सक्न निर्देशन दिएका छौं, अहिले ग्राभेलको काम गरिरहेको छ तर गाईघाट झरना भन्दा माथी भौगोलिक जटिलताको कारण देखाउदै काम ढिलो गरेको छ” कार्यालय प्रमुख सुवेदीले भन्नुभयो “अहिले पाँच किलोमिटर सडकमा ग्राभेल गरेको छ त्यही गतिमा काम गरे मात्रै पुष सम्म संभव होला नत्र अहिले कायम भएको मिति भित्र समेत सडक कालोपत्रेसकिदैन ।” सुवेदीका अनुसार कोरोना महामारी र आर्थिक वृद्धिदरको कारण देखाउदै ठेकेदार कम्पनीले काममा ढिलाई गरेको हो । अहिले विछ्याएको ग्राभेलमा समेत त्रुटी देखिएकाले सच्चाउन लगाइएको छ ।

झन्डै ४० किलोमिटर लामो रणनीतिक सडकमध्ये अहिले गलकोटको हटिया देखि सयपत्री जलविद्युत आयोजना सम्म १० किलोमिटर मात्रै कालोपत्रेको लागि एपेक्स खड्का कृष्ण संयुक्त निर्माण कम्पनीसंग रु. २४ करोडमा ठेक्का सम्झौता भएको थियो । ठेक्का लिएको १० किलोमिटर मध्ये साढे ५ किलोमिटर सडकमा बेस राखेर ग्राभेल भरेपनि बाँकी खण्डमा काम ढिलो भएको छ । उक्त सडकको हाल सम्मको प्रगती जम्मा ५० प्रतिशत मात्रै भएको छ ।

अहिलेसम्म १२ करोडभन्दा धेरै रकम भुक्तानीसमेत भइसकेको छ । सडक कालोपत्रेमा ढिलाई हुँदा गलकोट नगरपालिका वडा नं. ५ र ६ तथा ताराखोला गाउँपालिका वडा नं. १ र ३ का बासिन्दाले सास्ती खेप्दै आएका छन् । सडक निर्माणको जिम्मा पाएको एपेक्स खड्का कृष्ण संयुक्त निर्माण कम्पनीका इन्जिनियर रामु कंडेलले कोरोना महामारी, विद्युतीय पोल र मुल्यवृद्धिका कारण समयमै काम नसकिएको जिकिर गर्नुभयो ।

उहाँले पुस मसान्त सम्म सात किलोमिटर सडक कालोपत्रे गरिसक्ने बताउदै पूर्वाधारको काम अन्तिम चरणमा पुगेको बताउनुभयो । “अहिले धमाधम सडक ग्राभेल गर्ने कार्य भइरहेको छ, गाईघाट झरनादेखि माथी पहिरोले निर्माण गरेको पूर्वाधारमा क्षती पुग्दा समस्या भयो, अहिले विद्युतका पोल समेत सार्न थालिएको छ” कंडेलले भन्नुभयो “अब कामले गति लिन्छ समस्याग्रस्त क्षेत्रमा कालोपत्रे नगरेर ढलान गर्नका लागि छलफल भइरहेको छ ।”

हटिया देखि गाईघाट झरनासम्म ६३ पोल सार्नका लागि ठेक्का मार्फत अहिले काम भइरहेको नेपाल विद्युत प्राधिकरण बागलुङ शाखाका प्रमुख दिलिप मरासिनीले जानकारी दिनुभयो । मरासिनीका अनुसार विद्युतका पोल सार्नेकाम केही दिनमै सकिने भन्दै निर्माण व्यवसायीलाई छिटो सडक कालोपत्रे गर्न सुझाव दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *