दुर्घटना न्यूनिकरणका लागि चालक–यात्रु परिचय

आदर्श अनलाइन, बागलुङ

जिल्ला ट्राफिक कार्यालय बागलुङले गण्डकी प्रदेशमै पहिलोपटक दूर्घटना न्यूनिकरणका पृथक कार्यक्रम शुरु गरेको छ । दूर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीले चालक–यात्रु परिचय कार्यक्रमको थालनी गरेको हो । लामोदुरीको सवारी चलाउदा यात्रुले चालक र सह–चालकको परिचय आवश्यक रहेको भन्दै चालक–यात्रु परिचय कार्यक्रम थालेको जिल्ला ट्राफिक कार्यालय बागलुङका निमित्त प्रमुख प्याम नारायण पौडेलले जानकारी दिनुभयो ।

“दुर्घटनाको भित्रि कारण खोतल्दै जादा लामो यात्रामा सह–चालकले सवारी चलाउदा बढी दुर्घटना भएको पाइयो, हालै मात्र मुस्ताङमा दुर्घटना भएको यात्रुबाहक बस सह–चालकलेनै चलाउदा दुर्घटना भएको अनुसन्धानबाट खुल्न आएको थियो, यस्ता धेरै दुर्घटना शिकारु चालकका कारण भएको छ” निमित्त पौडेलले भन्नुभयो “लामो दुरीको यात्रामा सहचालकले सवारी चलाएको हुन सक्छ, चालक र यात्रुको परिचय भएपछि सहचालकले सवारी चलाएको खण्डमा यात्रुले ट्राफिक कार्यालयको हटलाईनमा सम्पर्क गर्न सक्नुहुनेछ ।”

सह–चालकले सवारी चलाएको गुनासो सुन्ने गरेकाले लामो दुरीको सवारीलाई बाटोमै रोकेर चालक, सह–चालक र यात्रुलाई सवारीबाट झारेर परिचय गराइने जिल्ला ट्राफिक कार्यालय बागलुङले जनाएको छ । लामो दुरीको सवारी साधनहरुलाई बढी महत्वदिदै चालक–यात्रु परिचय कार्यक्रमलाई अगाढी बढाइएको हो ।

गण्डकी प्रदेशमा पहिलो पटक बागलुङबाट दूर्घटना न्यूनिकरणका लागि चालक–यात्रु परिचय कार्यक्रम थालिएको जिल्ला ट्राफिक कार्यालय बागलुङले जानकारी दिनुभयो । “यात्रुले चालक चिनेपछि सह–चालकले सवारी चलाउदासाथ यात्रुले थाहा पाउने भएकाले चालक–यात्रु परिचय कार्यक्रमको थालनी गरिएको हो” बागलुङका ट्राफिक प्रहरी टिकाराम शर्माले भन्नुभयो “सह–चालकले सवारी चलाउदा ट्राफिक प्रहरीलाई खबर गर्न यात्रुलाई चालक परिचय कार्यक्रममै भनिन्छ, सह–चालकले सवारी नचलाउदा दुर्घटना कम हुन्छ ।”

ट्राफिक प्रहरीले रुकुम पुर्व हुदैँ बागलुङ आएका लामा दुरीका बस, बागलुङ बजारबाट विभिन्न स्थानका लागि छुटेका सवारी साधनहरुलाई ट्राफिक चोकमा रोकेर चालक–यात्रुको परिचय गरिदैँ आएको छ ।

यस्तै मालढुंगामा पनि मुस्ताङ म्याग्दी लगायतका क्षेत्रबाट छुटेका र उक्त जिल्लाहरुमा भित्रने लामा दुरीका यातायातका साधनका चालक र सहचालकहरुको परिचय गर्ने गरेको ट्राफिक प्रहरीले जनाएको छ । यो परिचय कार्यक्रम एक महिनादेखि निरन्तर चलिरहेको छ ।

ट्राफिक कार्यालय बागलुङले पछिल्लो समय दुर्घटना न्यूनिकरणका लागि सरप्रराईज चेकिङ, प्रयोगात्मक परिक्षा स्थलमा ट्राफिक सचेतना कार्यक्रम, विद्यालयमा ट्राफिक सचेतना र चालक–यात्रु परिचय कार्यक्रम गर्दै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *