डम्मर बुढा मगर, बागलुङ
तीन दिनदेखि बागलुङ कालिका परिसरमा ठूलो भिडभाड छ । यति बेला यहाँ चैते दसैँ मेला चलेको छ । मेलाको त्यो रमझमका बीचमा आठ/दश जना बुढापाका र अर्धबैसे युवाहरु आफ्नै धुनमा देखिन्छन् । चार दिन अगाडि बडिगाड गाउँपालिका–४ जलजलाबाट आएका उनीहरुलाई मेलाको भन्दा बढी डालो नाङ्लो र डोरी बेच्ने चटारो छ । सयौँका संख्यामा डालो र नाङ्लो फिँजाएर बसेका उनीहरुको अनुसारमा निरासा देखिन्छ । त्यही बीचमा एक जना वृद्ध पनि ‘मिलाएर लैजानुस् न’ भन्दै ग्राहकसँग आग्रह गरि रहेका देखिनुहुन्छ ।
उहाँ हुनुहुन्छ जलजलाका ६३ वर्षीय चन्द्रबहादुर विक । पहिले–पहिले चैते दसैँमा अत्याधिक मात्रामा डालो नाङ्लो विक्री हुने हुँदा यसपाली पनि विकसहित बडिगाडदेखि १५ जना आएका छन् । एक दशक अगाडिसम्म डाला नाङ्ला व्यापार गर्न उनीहरुलाई भ्याइनभ्याइ हुने गथ्र्यो तर विगत केही वर्ष यता उनीहरुको सिपले बजार पाएको छैन । मेला छेउँकै बाँझो जमिनमा निकै अकर्षक रुपमा फुलबुट्टा भरेको डालो नाङ्लो मेला भर्न गएकाले नियाल्न त नियाल्छन् त किन्दैनन् ।
डाला नाङ्ला छेउमै राखेका प्लास्टिकका सामान भने धमाधम विक्री भइरहेको देखिन्छ । झण्डै एक सय किलोमिटर पश्चिमबाट डालो नाङ्लो बेच्न आएका उनीहरुलाई खाली हात घर फर्किनु पर्छ कि भन्ने चिन्ताले सताइ रहेको छ । दिन भरीमा दुई/चार डालो विक्री भए पनि त्यो खाना र बस्नका लागि ठिक्क भएको छ । मेलामा मात्रै होइन, पछिल्लो समय ग्रामीण क्षेत्रमा पनि यस्ता सामग्रीहरुले बजार पाउन सकेका छैनन् । उत्पादन भएका सामग्रीनै विक्री नभएपछि सिपनै हराउन थालेका छन् । चार दिनमा आठ/दश वटा डालो मात्रै विक्री भएको चन्द्रबहादुर बताउनुहुन्छ ।
उहाँले कमाईका लागि गाउँभन्दा धेरै टाढा व्यापार गर्न आएको सुनाउँदै विक्री मेला सकिदासम्म विक्री नभए सित्तैमा छोडेर जानुको विकल्प नभएको सुनाउनु भयो । पहिले–पहिले चैते दसै मेलामा डालो नाङ्लो बाकेह अन्य घरेलु उत्पादनहरु निकै विक्री हुने गरेको सुनाउँदै अहिले निकै कम भएको बताउनुभयो । अब करिब चार दिन यहाँ बस्ने विकको भनाइ छ ।
उहाँ भन्नुहुन्छ– “चैते दसै बागलुङको मेला भन्दा बित्तिकै व्यापार गर्ने मेला भनेर सम्झिन्थ्यौँ, गाउँमा भएका सबै उत्पादनहरु बोकेर ल्याउँथ्यौँ, माग धेरै हुन्थ्यो, फर्किने बेला एक डेढ लाख रुपैयाँ बोकेर फर्किन्थ्यौँ, अहिले त पहिलेको भन्दा धेरै कम डालो नाङ्लो ल्याएर आएको त्यही पनि विक्री नभएर यतिकै राखिरहेका छौँ, किन यसरी विक्री हुन छोड्यो अचम्म लागेको छ, न बजार ल्याएको सान फर्काएर गाउँ लैजानु, सस्या होला जस्तो छ ।”
विकसहित बडिगाडदेखि १५ जनाको टोली डालो र नाङ्लो व्यापारका लागि आएका छन् । उनीहरुले करिब दुई बजार साना ठूला आकारका डालो र पाँच सयको हाराहारीमा नाङ्लो ल्याएका छन् । सोही ठाउँका ४५ वर्षीय हेम बहादुर विकले पनि यतिका दिनसम्म व्यापार हुन नसकेको गुनासो सुनाउनुभयो । विकलेले बडिगाडबाट चार हजार पाँच सय रुपैयाँ गाडी भाडा तिरेर व्यापार गर्न आएको भन्दै त्यही भाडा पनि उठाउन मुस्किल भइरहेको बताउनुभयो ।
अहिले गाउँगाउँसम्म प्लास्टिकका भाँडाकुँडा र डालो नाङ्लो पुगेपछि धेरैले चोयाबाट बुनेका सामानहरु प्रयोग कम गर्दै गएको बताउनुभयो । चोयाबाट बनेका डालो, नाङ्लो र डोरी अरुको तुलनामा किनै बलियो हुने गरेको उहाँको भनाइ छ । पछिल्लो समय स्थानीय उत्पादनभन्दा आयातित सामानप्रति मान्छेहरुको आकर्षण बढी भएको हुँदा मौसिक सिप र सामानले बजार नपाएको उहाँले गुनासो गर्नुभयो ।
विक भन्नुहुन्छ– “यति ठूलो मेला लागेको छ, हजारौँ मान्छेले किनमेल गरि रहेका छन्, किनमेल हुने अधिकांश सामान विदेशमा बनेका छन्, ति सामानको गुणस्तर पनि त्यत्ति राम्रो हुन्न, देख्दा हाम्रो उत्पादन भन्दा राम्रो त होला तर टिकाउका हिसाबले स्थानीय उत्पादननै राम्रो हुन्छन्, पाँच वर्ष भयो यो मेलामा पनि विक्री कम–कम हुँदै गएको छ, यस वर्ष त झनै कम भएको छ, अर्को वर्ष त यहाँ आउनुभन्दा पहिले धेरै सोच्नु पर्ने देखियो, दुःख मात्रै हुन्छ आएर के फाइदा ?, अहिले खाली हात फर्किनु पर्ने स्थिती आउला जस्तो छ, बरु कतै विक्री हुन्छ भने भन्दिनुन ।”
उहाँले पहिले ठुलो डालाहरु बजारमा ल्याउने गरेको र त्यसको विक्री कम भएपछि साना आकारका डालाको माग बढेको बताउनुभयो । केही वर्ष एक पाथीदेखि पाँच पाथीसम्मका डालाले राम्रो बजार पाएको भन्दै अहिले त साना ठूला कुनैले पनि बजार नपाएको बताउनुभयो । आफूहरुले यसरी डालो बुनेर बजारमा ल्याउन लागेको ३० वर्षभन्दा बढी भएको उहाँले बताउनुभयो ।
बजारमा नयाँ–नयाँ प्रबिधिका नापतौलका सामग्रीहरु आएपछि आफूहरुले बुनेका डालो नाङ्लोले बजार पाउन छोडेको ३० वर्षीय गुमानसिंह थापाले बताउनुभयो । परम्परागत नापतौल गर्ने तुलको रुपमा प्रयोग हुने माना पाथी आजकल किलो र लिटरमा परिवर्तन भएपछि मानापाथीका डालोहरु विक्रीनै नहुने उहाँको भनाई छ । डालो नाङ्लो वनमा गएर गजिङ, मालिङका चोया निकालेर बुन्न निकै समय लाग्ने भन्दै बजार नपाउँदा आफूहरुको मेहनत खेर गएको दुखेसो पोख्नुभयो ।
उहाँले गाउँका धेरै जसो स्थानीयले डालो नाङ्लो बुन्ने र यही बेचेर परिवार चलाउँने गरेको बताउनुभयो । पछिल्लो समय व्यापार कम भएपछि धेरैले पेसा परिवर्तन गरि रहेको बताउनुभयो । गाउँका बुढापाका धेरैले यही पेसा अंगालेको र आफूहरुले पनि सानैबाट डालो नाङ्लो बुन्ने, बेच्ने र घर खर्च चलाउने गरेको भन्दै केही वर्ष यता समस्या पर्दै गइरहेको थापाको भनाई छ ।
“हातमा सिप छ, तर सिपले कमाउन सकेन, उत्पादन भएका सामान विक्री भएपछि कमाइ हुने हो केरे, विक्री हुन गाह्रो छ, बाउ बाजेले यही सिकाए, अरु पेसा गर्न जानिएन” उहाँले भन्नुभयो– “पहिले त राम्रै हुन्थ्यो कमाई अहिले त वर्षभरी डेढ दुई लाख कमाउन पनि गाह्रो छ, यो काम आफैमा गाह्रो काम हो तर पनि जसोतसो गरि रहेका छौँ, अब गर्ने कि नगर्ने दोधारमा परिएको छ, बाहिरबाट आएका प्लास्टिकका सामानहरु रोक्न सकिए त फेरि राम्रो बजार पाइने थियो ।”
ठेकी पनि बिक्दैनन् अचेल
त्यही मेलाकै छेउमा बागलुङ नगरपालिका–१२ अमलाचौरका ४० वर्षीय अशोक चुँदाराले काठबाट बनेका ठेकी विक्रीका लागि राख्नु भएको छ । दुई दिन अगाडि ठेकीहरु लिएर यहाँ आउनु भएका चुँदाराले आफूले सोचे अनुसार विक्री हुन नसकेको सुनाउनुभयो । चैते दसैँलाई स्थानीय उत्पादनको व्यापार हुने मेलाको रुपमा लिइने गरे पनि आफ्ना सामानले बजार नपाएको उहाँले गुनासो गर्नुभयो ।
उहाँले टेउवादेखि पाँच पाथीसम्मका टेकीहरु विक्रीका लागि राख्नु भएको छ । ठेकीसँगै मदानी पनि विक्रीमा राख्नु भएको छ । सबैभन्दा बलियो र स्वास्थ्यका लागि गिठा (एक प्रकारको रुख) को ठेकी राम्रो हुने हुँदा आफूले सानैदेखि यसैको ठेकी बनाउँदै आएको बताउनुभयो । आफ्ना पुर्खाहरुको मुख्य पेसानै ठेकी बनाउने भएको हुँदा आफूले पनि यही अंगाल्दै आएको सुनाउनुभयो । पहिले–पहिले ठेकीले राम्रो बजार पाउने गरेको भन्दै अहिले विक्री हुन छोडेको बताउनुभयो ।
दही जमाउन, मही पार्न र दूध राख्नका लागि गिठाको ठेकी निकै उपयोगी हुने उहाँको भनाई छ ।
चुँदारा भन्नुहुन्छ– “अहिले मान्छेहरु आफ्नो सामानभन्दा अरुको सामानलाई मन पराउन थाले, गाउँमा उत्पादन भएका चिजहरु यतिकै खेर गएका छन्, गाउँलेहरु बजारबाट आयातित सामान ल्याएर प्रयोग गर्छन्, यसले त सिप हराउँछ, मौलिकता हराउँछ र हामी पूरै परनिर्भर हुन्छौँ ।”
उहाँले दुई पचासदेखि २० हजार रुपैयाँसम्मका ठेकीहरु विक्रीमा राख्नु भएको छ । ठेकीलाई फुट्न नदिन उहाँले तोरीको तल दलेर घाममा राख्नु भएको छ । पछिल्लो समय गाउँमा पनि यस्ता परम्परागत भाँडाबर्तनहरु प्रयोगमा आउन छोडेका छन् ।