याम बहादुर थापा मगर
सिधा कुरा, जनता चाहान्छन् कि पढनेले खुरु खुरु पढाइ दिए धेरै मात्रामा समस्या हल हुन्छ । तर समाजका सचेत शिक्षकले अभिभावकलाई दोष दिने, अभिभावकले शिक्षकलाई दोष दिने र विद्यार्थीले सही विश्लेषण गर्न नसक्दा नावालकको भविष्यमा भराभरमा खेलवाड भएको सिधा रुपमा पाउन सकिन्छ । तर शिक्षकले नै आन्तरिक सकारात्मक सोचको तरिकाले अध्ययन गराएमा बल्ल अभिभावक र विद्यार्थीहरुलाई दोष दिन सकिन्छ । विद्यार्थीहरु शैक्षिक सामग्राीहरु नलिएर आएमा विद्यालयमा आउने थुप्रै अनुदानका शिर्षकबाट व्यवस्थापन गर्न सकिन्छ ।
विद्यालयमा विद्यार्थीहरुको समुह बनाई मासिक पत्रिका निकाल्ने, ३ वर्ष वा ५ वर्षको विचमा स्मारिका,मुखपत्र प्रकाशन गरी विद्यार्थी,शिक्षक,अभिभावकहरुको सृजनात्मक क्षमता प्रस्फुटन गर्न सकिन्छ । जिल्ला भरका विभिन्न विद्यालयहरुको स्मारिकाहरु सकलन गरी अध्ययन गरी वाचनालयमा छलफल गरी विचार र विश्लेषण गर्ने क्षमताको विकास गर्न सकिन्छ ।
समाज सुधार गर्ने बहाक विद्यालय नै हो । त्यसैले शिक्षक,विद्यार्थी, अभिभावकहरुले मद्यपान, धुम्रपान लगायत अन्य कुलत,कुरीतिलाई जरा देखि नै निस्तेज बनाउनका लागि भोलि नभनी आजैबाटै लाग्नु पर्दछ । यदि यसमा सम्झौता गरियो भने धेरै समयसम्म बुद्धि विवेक र चेतना विकास र विस्तारमा पछाडि पर्ने छौ । मद्यपान र धुम्रपान लिने नै हो भने निश्चित समय र स्थानमा विवेकशिल तरिकाले सस्कृतिको अवमुल्यन नहुने गरी अपमानित तरिकाले नभै सम्मानित हुने हर्ष,खुशी र शैक्षिक उपलब्धी हासिल गरेको उमगको वातावरणमा सिमिततामा मात्र लिने गर्नुपर्दछ । दुख पिर, धोका र पिडामा आत्मसन्तुष्टी लिनका लागि रक्सी पिउने सस्कृतिले कल्कलाउदो जिन्दगीलाई नराम्रोसँग बर्बाद पार्दछ ।
विद्यालयको फेसबुक फ्रेडवाला मात्र आइडि छ । फेसबुक पेज , फेसबुक ग्रुप, युटुव च्यानल बनाई विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थीहरुको सिजर्ना नियमति रुपमा अपलोड गरी जागरणमुलक गतिविधिलाई निरन्तर रुपमा लागि पर्ने गर्नुपर्दछ । शिक्षकले पढन लगाएको पाठ, सुनेका खबर, कविता,निबन्ध,कथा,गित लगायत सामाग्रीहरुको अपलोड गरेमा छिटो विद्यार्थीहरुले टिप्न र सिक्न सक्दछन् । यदि सकिन्छ भने विद्यालयको वेवसाइट समेत निर्माण गर्न सकिन्छ । शिक्षकमा कम्प्युटर ज्ञान शिपको कमी छ भने माथिल्लो निकायसँग माग गरि शिक्षित हुनु परयो । मोबाइलमा थुप्रै शिक्षामुलक एप्लिकेशनको प्रयोगमा बढावा दिनु परयो ।
विद्यालयका भुतपुर्व विद्यार्थीहरुको देश विदेशहरुको अनुभवहरु आदान प्रदानका लागि विद्यार्थी मञ्च बनाउने, पुर्व शिक्षकहरुको समेत समन्यव र सम्र्पकका लागि सरचना बनाउन सकिन्छ । जानकारीमुलक सुचनाहरु सग्रह गरी शैक्षिक सञ्जाल विकास गर्न सकिन्छ । विद्यार्थी र शिक्षक विचको आपसी सम्बन्धलाई प्रगाढ बनाउदै बाल मैत्री बनाई अभिभावकसँग घरदैलो कार्यक्रम गरी पृष्ठपोषण आदान प्रदान गरी सुधार गर्नु पर्ने विषय र कमी कमजोरीलाई सच्याई सिकाई उपलब्धी मापनमा अब्बलता हासिल गर्न सकिन्छ ।
अपौचारिक शिक्षा र अनौपचारिक शिक्षा हासिल गर्ने सन्दर्भमा विद्यार्थी र अभिभावकहरुलाई अनौपचारिक शिक्षा हासिल गर्ने विधि र विधानहरुको जानकारी गराई अध्ययन संस्कृति र पठन सस्कृतिलाई बढावा दिनमा सहयोग पुग्दछ । पुस्तकालयमा र बजारमा थुपै ज्ञान बद्र्धक पुस्तकहरु रहेका हुन्छन तिनीहरुको स्वअध्ययनले व्यक्तित्व विकास र ज्ञान व्यवस्थापनको भण्डारलाई व्यवस्थित गर्न सहयोग पुग्दछ ।
शैक्षिक उन्नयनमुलक विकास र विस्तार गरी शैक्षिक पर्यटनको केन्द्र कसरी बनाउन सकिन्छ भन्नेमा खोज अनुन्सधान गर्दै सफल विद्यालयहरुको भ्रमण गरी लिखित प्रतिवेदन तयार गरी सिकाइका रुपमा लागु गर्न सकिने विषयवस्तुहरुको विवेचनामुलक आलेख तयार गरी विद्यालयको वेवसाइट,फेसबुक पेजमा अपलोड गरी व्यापक रुपमा घनीभुतमा छलफल गराई लागु गर्ने प्रयास गर्ने प्रचलनको सुरुवात गर्नुपर्दछ ।
विद्यार्थीहरुको बीचमा जुनियर रेडक्रस, क्लब, स्काउट लगायत सदनमा विभाजित समुहमा बादविवाद, हाजिरी जवाफ, बक्तृत्व कला प्रतियोगिता,खेलकुद लगायतका कार्यक्रमहरुमा समानुपातिक र सहभागितामुलक तरिकाले साप्ताहिक रुपमा संचालन गरी अतिरिक्त क्रियाकलापमा समेत सक्रिय सहभागिता जनाउने विद्यार्थीहरुलाई प्रेरणा दिनुपर्दछ ।
हरेक वर्ष नियमित रुपमा नेपाली पुस्तक बजारमा थुप्रै प्रकाशन हुने विविध खालका पुस्तकहरुको करिब बीस तीस हजारको नयाँ नयाँ पुस्तकहरुको खरिद गरी अध्ययन संस्कृतिको विकास र विस्तार गर्ने गर्नुपर्दछ । विगत वर्षमा गरिएको विद्यालयको पुस्तक दान अभियानलाई पुर्नस्थापना गरी फेरी जागरणका रुपमा लिदै विगतमा भएको सफलतालाई सस्थागत गर्दै हालसम्म संकलन भएका पुस्तकहरुको अध्ययनले पारेको सकारात्मक प्रभावलाई प्रत्येक विद्यार्थी,शिक्षक र अभिभावहरु माझमा पुरयाउने गर्नुपर्दछ । विगतका पुस्तक दान गर्ने दानविरहरुलाई सम्मान पत्र सम्मान स्वरुप दिदै थप पुस्तकहरु दान गर्न प्रोत्साहन गर्दै थप दाताहरु खोज्न उत्प्रेरणा प्रदान गर्ने कार्यक्रमलाई निरन्तरता दिनु श्रेयस्कर हुन्छ ।
विद्यालयको कक्षाकोठामा प्रवेश गर्नु भन्दा अगाडी गुरु वा शिक्षकको हातमा शिक्षक डायरी, विद्यार्थी मुल्यांकन फाराम र पाठ योजना हातमा लिएर मात्र प्रवेश गर्ने शुरुवात गर्न सकेमा अब्बल दर्जाको नागरीक बनाउनमा धेरै समय कुर्नु पर्दैन । शिक्षकहरुले शिक्षक सेवा आयोगको परिक्षा पास गर्न र वि.एड तथा एम एडको डिग्री हासिल गर्नलाई मात्र पाठ योजनाको निर्माण गर्ने हो भने थप भन्नु केही छैन । नत्र अभिभावक र विद्यार्थीहरुले पाठ योजना बनाउनमा थप के सहयोग गर्नु पर्ने हो त्यसमा सहयोग गर्ने प्रस्ताव आउनु परयो । अहिले त सुचना र प्रविधिको युगमा Chat JPT प्रणालीको विकास भएको छ । त्यसलाई सकारात्मक तरिकाले शिक्षक र विद्यार्थीहरुले प्रयोग गरेमा फाइदा हुने छ । तर यस प्रविधिलाई कृत्रिम बौद्धिकतामा नविन विकास भएकोले बन्देज लगाउनु पर्ने धारणा प्रकट भएको छ । गुगल सर्च र युटुव च्यानलको प्रयोग गरी ज्ञान हासिल गर्नु पर्ने अर्निवायता त छदैछ । निजी विद्यालयमा शिक्षक सेवा आयोग पास नगरेका र शिक्षाशास्त्र संकाय समेत अध्ययन नगरेका जनशक्तिले पढाएका मानिसहरु प्रतिस्पर्धाको युगमा अब्बल मानिएको वर्तमान अवस्था छ ।
विद्यालयमा भएको उपलब्ध शैक्षिक सामाग्रीहरुको अधिकतम उपयोग गरी टेलिभिजन, कम्प्युटर,प्रोजेक्टरको भरपुर्ण प्रयोग गरी शिक्षामुलक अन्तर्वाता, पाठयक्रम विकास केन्द्रको भिडियो देखाइ थप जिज्ञासु बनाउन सकिन्छ । नगरपालिकासँग उच्च गतिको इन्टरनेटको माग विद्यालय,वडा कार्यालय,स्वास्थय चौकी लगायतमा निशुल्क रुपमा व्यवस्थापन गर्न लगाइ कान्तिपुर,गोरखापत्रदैनिक,अन्नपुर्ण पोष्ट दैनिक, नयाँ पत्रिका दैनिक,अनलाइन खबर,सेतोपाटी, रातो पाटी, नेपाल खबर लगायत थुपै्रका शिक्षाप्रद लेख र विचारलाई शेयर र म्यासेन्जरमा सुरक्षित गर्न सकिन्छ । खुल्ला किताब Khullakitab.com, Digitallibrary.io, learning.cehrd.gov.np, Pustakalaya.org आदि इत्यादि अरु थप पनि गुगल सर्च गरी स्वय आफैले खोजी नीति गर्न लगाई पढन मन लाग्ने विद्यार्थीहरु बनाउनु पनि शिक्षकको महत्वपुर्ण भुमिका हुन्छ । त्यसैले विद्यालयका शिक्षकहरुले विद्यार्थीहरुलाई साथीको रुपमा व्यवहार गर्नमा हिच्किचाउनु हुदैन ।
प्रत्येक विद्यार्थी र शिक्षकहरुले थुप्रै फोटो हालसम्म खिचेका हुन सक्दछन । आजको दिनबाट हरेक शिक्षक र विद्यार्थीहरुले स्वअध्ययन गर्न लागेको घरको परिवेश र विद्यालयको हाता भित्र फोटो खिच्न लगाइ सामाजिक सञ्जालमा पोष्ट गर्ने अभियान थालौ । ताकी शिक्षकलाई समेत नैतिक दबाव परोस । फोटो खिची फेसबुकमा राख्ने कामको विद्यालयका सम्र्पुण विद्यार्थीहरुको प्रभाव मुल्यांकन तिन महिना पछि समिक्षा गरौ । पुस्तकालयको परिसरमा समेत फोटो खिच्न सकिन्छ । स्थायी आजीवन रुपमा पुस्तकलाई साथी बनाउने अठोट र प्रतिज्ञापत्र सार्वजनिक गर्न विद्यालयमा घोषणा सभा राख्ने कार्यक्रम तय गरौ ।
स्टाफ बैठक, व्यवस्थापन समितिको बैठक, वार्षिक उत्सव लगायतका कार्यक्रमहरुको लिखित दस्तावेज प्रतिवेदन तयार गरी बौद्धिक सम्पत्तिको रुपमा राख्ने र छलफल गराउने परिपाटीको विकास गर्ने तथा सार संक्षेपमा पत्रपत्रिकाहरुमा प्रकाशन र प्रशारण गरी प्रचार प्रसार गर्ने चलनलाई सस्थागत विकास गर्न सक्नुपर्दछ । विद्यालयमा भएका अतिरिक्त क्रियाकलाप र गतिविधिहरुलाई समेत संचार माध्यममा प्रसार गरी संग्रह गरी राम्रो अभिलेख व्यवस्थापनको कला विकास गर्ने शिप विकास गर्नुपर्दछ ।
अग्रीम रुपमा निर्धारित गरिएको शिक्षक,विद्यार्थी र अभिभावकहरु आचारसंहिता हात्तीको देखाउने दात नबनोस र एक आपसमा अन्र्तक्रियात्मक छलफल गरी दैनिक कक्षा कोठामा पालना गरी सम्मानित शैक्षिक निकायले निर्माण गरेको आचारसंहिताको अपमान नगरी विद्यार्थीको सिकाइ उपलब्धीको मापनमा देखिने गरी अब्बल तरिकाले अब्लम्वन गर्नु पर्ने टडकारो अवस्था सृजना होओस ।
भकुण्डे गाउँका पूर्व दिवंगत तथा जिवित पूर्व राजनीतिक नेतृत्व कर्मी, शिक्षा प्रेमी, प्रहरी, सेना,निजामति सेवा,भारतीय सेवामा कार्यरत व्यक्तिहरुको जिवनी अभिलेखीकरण गरी विद्यालयले प्रकाशन गर्ने स्मारिका, मुखपत्रमा प्रकाशन गरी वर्तमान पुस्तालाई गर्विलो इतिहासको जानकारी दिलाउने परिपाटीको विकास र विस्तार गर्दै वर्तमान पुस्तालाई संरक्षण गर्ने दायित्वबोध गराउने कार्यशैलीको विकास गर्नुपर्दछ ।
जिल्ला स्तरका, प्रदेश स्तर र राष्ट्रिय स्तरका शिक्षाविदहरुको जिवनी,पुस्तक,अन्तर्वाता,विद्युतीय माध्यमका सामाग्रीहरुको दृष्टिकोण,सुनेर,बुझेर अनौपचारिक तरिकाले चेतनास्तरलाई निरन्तर बढावा दिदै जाने सुरुवात विद्यालयका शिक्षक,अभिभावकबाट गर्दै विद्यार्थीहरुमा परिस्कृत तरिकाले हस्तातन्रण गर्नुपर्दछ ।
विद्यालयमा भएका आम्दानी, अनुदान, शुल्क, चन्दा,अक्षयकोष परिचालन,खर्च विवरण पारदर्शी र सुशासनमुलक तरिकाले प्रस्तुत गरी सामुहिक उत्तरदायीत्व, जवाफदेहिता , सस्थागत प्रयासले शिक्षा क्षेत्रको कारोवार नमुना योग्य, आलोचना र आरोपमुक्त हुन्छ भन्ने प्रमाणित गरी शिक्षामा गरेको लगानी दुरुपयोग भएको छैन भन्ने विश्वास आम समुदायलाई पार्न सकेमा समेत शैक्षिक गुणस्तर अभिवृद्धि गर्नमा बलियो आधार निर्माण हुन्छ ।
विद्यालय व्यवस्थापन समितिको बैठक खाली रजिष्ट्रर घर घर डुलाएर सहि गर्ने परिपाटी बन्द गर्दै निर्णय हुने विषयको अग्रीम जानकारी गराई आधिकारिक पत्र लेख्ने कम्प्युटर लगायत स्रोत र साधन अधिकतम उपयोग गर्दै आर्थिक पक्ष, शैक्षिक पक्ष, सामाजिक पक्ष, विद्यार्थीहरुको सबल र दुर्बल पक्षका बारेमा समेत विस्तृत रुपमा छलफल गरौ । खाली शिक्षकहरुको गुनासो मात्र सुन्ने समितिको बैठक नभै सिकाइ उपलब्धी मापन र मुल्यांकन गर्ने, शिक्षक डायरीको प्रयोग भएको छ वा छैन सो को बारेमा जोडदार रुपमा सकारात्मक र प्रभावकारी निर्णय तथा प्रतिफल आउने तरिकाले गर्नमा ढिला नगर्ने हामी हुनुपर्दछ ।
विद्यार्थीहरुलाई कक्षा कोठामा हाम्रो विद्यालयमा उपलब्ध भई वितरण हुने विभिन्न छात्रवृत्तिहरुको अर्थ,महत्व र आवश्यकताका बारेमा प्रकाश पारी हरेक विद्यार्थीहरुलाई अध्ययनमा निरन्तर लागी पर्नका लागि उत्प्रेरणा मिलोस भन्ने चालचलनको सुरुवात तुरुन्त गर्नुपर्दछ । वर्षेनी फरक फरक स्थानमा शैक्षिक भ्रमण सम्पन्न गर्ने कार्यक्रममा राम्रो विद्यालयहरुको समेत अनुगमन गरी असल अभ्यासहरु सिक्ने परिपाटीको विकास गर्नमा निरन्तर लाग्नु पर्दछ ।
शिक्षा शास्त्र संकाय अध्ययनका क्रममा सिकेका शिक्षण विधिहरु शिक्षक सेवा आयोगको परिक्षा पास गरेपछि प्राप्त हुने जोश र जागरलाई शिक्षण जिवनमा टिकाइ राख्नका लागि अन्य संकाय अध्ययन गरेको जमातलाई उत्प्रेरणा भरिरहनु पर्दछ । ताकि राजनीतिक विचार धाराको फरकपनले, भिन्न जातजाति,भाषाभाषीका कारणले, विपन्नता र निरपेक्ष गरिबीले आहात भएको समुदायको कारणले, विद्यालयको प्रशासनमा भएको आन्तरिक व्यवस्थापनका कारणले,अब त जागिरको सुनिश्चितता भएको मानसिकताले जरा गाडेमा आफुमा भैराखेकोे क्षमता,खुबी,जोश,जाँगर,प्रतिभामा क्रमश पलायनको बाटोमा हिडन सक्ने निश्चित हुन्छ ।
पढदै खेल्दै, पढदै कमाउदै जस्ता थेगो पछिल्लो समयमा शिक्षालयहरुमा खुब प्रचलनमा आएको छ । प्राविधिक धारको पढाइलाई व्यवहारमा उतार्न जरुरी भएको छ । हामीले अध्ययन अध्यापन गरेका विद्यार्थीहरु विश्वविद्यालयमा उच्च शिक्षा हासिल गर्न पढाइमा लागे भने विश्वविद्यालय समेत बेरोजगार उत्पादन गर्ने उद्योगको रुपमा विकास भएको आरोप नेपालको शिक्षा प्रणालीलाई लाग्ने गरेको अवस्था छ । विदेशमा रोजगारीका लागि जान चाहने नेपाली युवाहरुले स्नातकोत्तर तहको पढाइ पुरा गरेपनि फेरी फरक विदेशी भाषाको वर्णमालाका शब्दहरु सिकी जानुले नेपाली शिक्षाको डिग्रीको महत्वमा प्रश्न चिन्ह्र खडा भएको छ ।
भकुण्डे गाउँमा भएका वन उपभोक्ता समिति, आमा समुह,होमस्टे संस्था, भ्युटवार संरक्षण समिति, सहकारी संघ सस्था, खानेपानी उपभोक्ता समिति, विभिन्न राजनैतिक पार्टीहरुले समय समयमा उर्जाशिल शिक्षकहरु नियमित बनाउनका लागि छलफल चौतारीको बहस चलाई विद्यालय,बाल विकास केन्द्रलाई वाचनालयको रुपमा विकास गर्नमा कसरत गर्नु पर्दछ । साथै सुचना र प्रविधिको युगमा मोबाइललाई शिक्षाप्रद बनाई शब्दकोष,एप्लिकेशनहरुको सदुपयोग गर्न सिकाई विश्वका भाषाहरु अनुवादमा दख्लता हासिल गरी शब्दजाल, शब्दभण्डार निर्माण गर्दै ज्ञानको शक्ति आर्जन गर्न बालबालिका,युवालाई हौसला दिनुपर्दछ ।
विद्यालय परिवार भित्रका शिक्षक,विद्यार्थी,अभिभावकहरुको नकारात्मक र सकारात्मक सुझावहरु नियमित रुपमा स्वागत गर्दै नकारात्मक प्रतिक्रियालाई निरुत्साहित गर्दै सकारात्मक सुझावहरु थप गर्दै अभिलेखीकरण गरी डायरी निर्माणमा जोड दिने गर्नुपर्दछ । विद्यालयको वार्षिक र लक्ष्य प्रगतीको सारभुत रुपमा विद्यार्थी सख्या र भौतिक कक्षा कोठाको मात्र प्रस्तुत नगरी अधिकतम शैक्षिक उपलब्धी र सिकाइ उपलब्धी हासिल गर्नका लागि शुरुको र अन्तको महिनामा वार्षिक योजना सहभागीतामुलक तरिकाले बनाउनुपर्दछ ।
भन्दा तितो हुन सक्दछ कि कसैलाई अन्यथा नलागोस । कसैको भावनामा चोट र आघात पुगेमा क्षमा चाहान्छु । शिक्षामा गुणस्तरीयता हासिल गर्नका लागि छलफल,बहस,बैठक चली रहदा विद्यालय परिवार भित्रका थुप्रै जिम्मेवार सदस्यहरु बिना जानकारी अनुपस्थित भै प्राथमिकतामा शैक्षिक गोष्ठी, शैक्षिक बहस बन्दैन । फेरी आजको दिनमा उठेका महत्वपुर्ण सवालहरु र विषयबस्तुहरुले प्रत्यक्षदर्शी भै सुन्न र सहभागी भएमा व्यापक परिवर्तन हुने थियो कि भन्ने अपेक्षा गर्न सकिन्छ । समसायिक शैक्षिक सबालहरु नउठेका होइनन । खाली कार्यान्वयनको पक्ष सफल भै नतिजा उन्मुख हुन नसकेको मात्र हो । कतै कतै त अनौपचारिक रुपमा छलफल हुँदा भन्ने कुरा धेरै भए अब भन्ने मात्र हो भन्ने मानसिकतालाई चिर्दै गर्न मात्र बाँकी हो भन्ने मानसिकतालाई विकास गर्नु पर्दछ ।
विद्यमान विश्व तथा नेपालको शैक्षिक इतिहास देखि हाल कार्यान्वयनमा भएका शिक्षा ऐन,नियमावली,निर्देशिका,कार्यविधि, आचारसंहिता लगायतको जानकारी वेवसाइटबाट स्वय सात्क्षाकार हुने पपिाटीको विकास गर्नुपर्दछ । शिक्षाको गुणस्तर निर्माण ल्याउनको लागि कसको के भुमिका खेल्नु पर्दछ भन्ने विषयमा लेखिएका ऐन नियमावलीको सही रुपमा कार्यान्वयन गरेमा तस्वीर आफै बोल्दछ भन्ने कार्यशैलीमा जानुपर्दछ । किनकी अहिलेको युगमा अग्रेजी भाषाको बढदो मागलाई ध्यान दिदै सो भाषाको साथै नेपाली,मैथली,हिन्दी,मगर, जापानिज भाषा लगायत अन्य भाषाहरुलाई समेत आफु अनुकुल जान्न बुझनका लागि स्वतन्त्रता प्रदान गर्नुपर्दछ ।
विद्यालयका विद्यार्थीहरुलाई विभिन्न विद्यालयहरुले आयोजना गरेका अतिरिक्त क्रियाकलापहरुमा अनिवार्य सहभागी गराउनु पर्दछ । अभिभावक शिक्षा कार्यक्रम लागु गरी योजना बनाई सहकारी,क्लव,वन उपभोक्ता समितिको बैठकमा केही समय बालबालिकाका बारेमा सकारात्मक छलफल चलाउने परिपाटीको विकास गर्नुपर्दछ ।
आलेखमा प्रस्तुत विषयका विषयमा क्रिया प्रतिक्रिया मौखिक,लिखितमा गर्न सकिन्छ । कुनै बन्धु बान्धवलाई सिधै मलाई लक्षित गरी लेखिएको छ भन्ने लागेमा तर्क र व्यक्तिगत घटना अध्ययन तथा शिक्षिण विधिका आधारमा सुझाव सल्लाहको अपेक्षा गरेको छु । आशा एव विश्वास लिन चाहान्छु कि यस कार्यपत्रमा उठेका विषयमा गहन अध्ययन र छलफल सहितको निचोडलाई परिस्कृत गरी विद्यालयले प्रकाशन गर्ने स्मारिकामा समेत प्रकाशन होओस भन्ने चाहान्छु । विद्यालयका विद्यार्थी,शिक्षकहरुको रचना र सिर्जनाले मात्र पनि विद्यालयको प्रगतिमा टेवा पुगेको हुन्छ । म चाहान्छु कि आगामी दिनमा लेखन सस्कृतिको समेत विकास होस भन्ने कामना गर्दछु । अध्ययन गर्नु भनेको Reading, Rereading, Thinking, Rethinking, Writing, Rewriting को समुचित उपयोगको सकारात्मक प्रभाव नै हो । अन्तमा फेरी पनि अर्को पटक ६ महिना वा ४ महिना पछि निरन्तर रुपमा छलफल,बहस गर्ने चौतारी निर्माण होओस ।