ढोरपाटन उद्योग बाणिज्य संघको अधिवेशनमा राजनीतिक रस्साकस्सी

लोकेन्द्र निरासी, बुर्तिवाङ
शनिबार उद्घाटन सत्र सम्पन्न भएको ढोरपाटन उद्योग बाणिज्य संघको प्रथम अधिवेशनमा अहिलेसम्म राजनीतिक सहमती जुट्न सकेको छैन् ।

सहमती जुट्न नसक्दा सर्वसम्मत समिति चयन हुन सक्ने सम्भावना विस्तारै टाढिदै गएको छ । शनिबार रातिसम्म राजनीतिक दलहरुबीच छलफल भएपनि सहमती जुट्न नसक्दा छलफल विना निष्कर्ष टुंगिएको थियो भने आज विहानैबाट पुनः दलहरु छलफलमा जुटेपनि अहिलेसम्म सहमती र निष्कर्षमा पुग्न सकेका छैनन् । अधिवेशनको शनिवार प्रतिनिधिसभा सदस्य देबीप्रकाश भट्टचनले उद्घाटन गर्नुभएको थियो ।

सर्वसम्मत समिति चयन हुनसक्ने स्थिति नदेखिएपछि निर्वाचन समितिले निर्वाचन प्रक्रियालाई अगाडि बढाउँदै शनिबार बेलुकी नै अन्तिम मतदाता नामावली प्रकाशन गरी निर्वाचनको समय तालिका सार्वजनिक गरेको थियो । आज उम्मेदवारी मनोनयनको निर्धारित समय सकिएपछि राजनीतिक दलहरुको अनुरोधमा निर्वाचन समितिलाई समय थप गर्न लिखित अनुरोध गरेपछि निर्वाचन समितिले आइतबार दिउँसो ३ः३० बजेसम्म समय थप गरेको थियो । सो समय सीमाभित्र पनि सहमती जुट्न नसकेपछि निर्वाचनको प्रक्रिया अगाडि बढ्ने स्थिति देखिएको छ ।

आज दिउँसो ४ बजेसम्म अध्यक्ष पदमा १ जना, महासचिव पदका लागि २ जना र खुल्ला सदस्य पदका लागि ८ जनाको उम्मेदवारी मनोनयन भएको निर्वाचन समितिले जनाएको छ भने अन्य उम्मेदवारहरुले पनि विभिन्न पदमा उम्मेदवारी दर्ता गर्ने क्रम जारी रहेको छ । उता राजनीतिक दलहरुको छलफल र बसाइँ समेत जारी रहेकाले अन्तिम अवस्थामा उम्मेदवारहरुको उम्मेदवारी पिर्ता लिएर सहमती जुट्न सक्छ कि भन्ने झिनो आशा समेत रहेको देखिन्छ ।

यसभन्दा अगाडि नै आयोजकले सबै राजनीतिक दलहरुको हैसियत कायम हुनेगरी उद्यमी व्यावसायीहरुको प्रतिनिधित्वलाई मध्येनजर गर्दै नेपाली काँग्रेसलाई अध्यक्ष, सचिव र ८ सदस्य, नेकपा एमालेलाई महासचिव, प्रथम उपाध्यक्ष र ४ सदस्य, राष्ट्रिय जनमोर्चालाई बरिष्ठ उपाध्यक्ष, कोषध्यक्ष र २ सदस्य, माओवादी केन्द्रलाई द्धितीय उपाध्यक्ष र १ सदस्य र विद्रोही जनमोर्चा, विप्लप र अन्य दललाई गरी ३ सदस्य सहितको सर्वसम्मत हुने गरी खाका बाहिर ल्याएको थियो तर उक्त भागबण्डामा राष्ट्रिय जनमोर्चा र माओवादी केन्द्रले असहमती जनाएपछि सहमती जुट्न नसकेको हो । राष्ट्रिय जनमोर्चाले महासचिव र बरिष्ठ उपाध्यक्ष सहित दाबी गरेको र माओवादी केन्द्रले पनि सम्मानजनक हैसियत हुनुपर्नेमा आफ्नो अडान राख्दै आएको स्रोतले जनाएको छ ।

उता उद्योग बाणिज्य संघ जस्तो व्यवसायिक संस्थालाई यहाँका राजनीतिक दलहरुले घेराबन्दीमा पारेर अनिर्णयको बन्दी बनाउन नहुने केही स्वतन्त्र व्यवसायीहरुले बताएका छन् । कुल ६ सय ४९ जना साधारण सदस्य (मतदाता) रहेको ढोरपाटन उद्योग बाणिज्य संघमा सामान्यतया आकलन गर्दा नेपाली काँग्रेसको पक्षमा २ सय ५०, नेकपा एमालेको १ सय ९०, राष्ट्रिय जनमोर्चाको १ सय १०, माओवादी केन्द्रको ३५, विद्रोही जनमोर्चा, विप्लब र अन्य दलहरुको झण्डै ६० भन्दा बढी मत रहेको स्रोतले बताएको छ । संस्थाको विधान अनुसार ६७ प्रतिशत साधारण सदस्यहरुको उपस्थितिमा मात्र अधिवेशन सम्पन्न भई समिति चयन हुनसक्ने व्यवस्था रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *