मेला, पर्व र बागलुङ जिल्ला

देव बहादुर श्रेष्ठ
विगत ५०, ६० वर्षदेखि बागलुङमा हुने चाडपर्व र चैते दशैं मेलालाई नजिकबाट हेर्दै आएको छु । साच्चै नै भन्नुपर्दा वर्षभरीलाई मर–मसला, लुगा फाटो खरिद विक्रि गर्ने मेलाको नाम हो चैते दशैं मेला । हिन्दु धर्मावलम्वीहरुको लागि वर्षको दुई पटक दशैं आँउछ । एउटा हो वर्षे दशैं जुन अवसर गरेर असोज महिनामा पर्दछ । देवी भगवतीको आरधना गरेर नवद्ुर्गा भरी भक्तजनहरुले घर–घरमा र देवालयमा गएर ती पर्वहरुलाई मनाउने गर्दछन् । जुन दशैंलाई देवी–देवताको नाममा बली दिएर मासु बढि खाने प्रचलन रही आएको छ भने आफुभन्दा पाका बुढाबुढीबाट टिका लगाएर आर्शिवाद लिने पर्वलाई पनि वडा दशैं भनेर मनाईन्छ ।

त्यस्तै अर्को पर्व हो चैते दशैं यो लेखकलाई थाहा भए अनुसार यो पर्व बागलुङ बजारमा चैत अष्टमी देखी पुर्णिमासम्म एक साता बागलुङ बजारमा धुमधामका साथ मनाईन्थ्यो । मोटरबाटो र गाडीको सुविधासमेत नभएको त्यो समयमा अहिले नामाकरण गरिएको लालीगुँरास चोक देखी राधाकृष्ण चोक सम्मको क्षेत्रमा राजभण्डारी परिवारले मान्द्रो र भकारीलाई अस्थाई छाप्रो र टहराहरु मेला आउनुभन्दा पहिले देखी तयार पारिन्थ्यो । ती टहराहरुलाई भाडामा लिन बुटवल, पाल्पा देखिका व्यापारीहरु भरीयाहरुलाई भारी बोकाएर माल सामान लत्ता कपडा लिएर बेच्न आउथे । त्यस्तै बागलुङ जिल्लाकै विभिन्न क्षेत्रबाट वर्षभरी बनाएका डालो, नाङ्लो, ठेकाठेकी, रसी काम्लो लिएर बेच्नको लागि कालिका मन्दिर परिसरमा र पछि बजारमा बेच्न आउथे । गाँउ घरका दिदी बहिनीहरुले अस्थाई खाजाघर भाडामा लिएर लोकल खसी मासु बेच्न टहराहरुमा बस्ने गर्दथे । सात दिन सम्म चल्ने मेलामा तरुनी तन्नेरी र बुढापाकाहरुले पनि त्यही स्थानमा बसेर यानीमाया सुनीमायाको भाषामा दोहोरी गीतहरु मादल र दम्फुको तालमा गाउने र नाच्ने गर्दथे । मेला अष्टमी देखि पुुर्णिमा सम्मनै धुमधाम साथ मनाईन्थ्यो ।

समय बदलियो मानिसको चालचलनमा परिवर्तन भयो । अहिले मेला लाउने ढाडमा ठुलाठुला घरहरु बन्दै गए । महेन्द्रपथ नामाकरण भएको सडकमा अहिले घरैघर छन् । कुनै बेला राम्रो धान फल्ने खेतहरु सबै बाटोमा परिणत भएर घरघडेरी बनेको छ । गाँउ घरका ठुलावडा धनीहरु खास गरेर माओवादीको जनयुद्ध पछि शहर बजार तिर पस्न थाले । राम्रो खेती हुने जग्गाहरु रड र सिमेन्टको कंक्रिट घरहरु बन्न थाले । समय समयमा लाग्ने मेला पातहरु सिमित हुन थाल्यो । २०, ३० वर्ष पहिले बागलुङ बजारमा भदौ महिनाको कृष्णाअष्टमीमा भदौरे जात्रा लाग्ने गर्दथ्यो । कार्तिक महिनामा पर्ने ठुलो एकादशीमा कृष्णगण्डकीको तिर निरयघाटमा रातभरी ठुलो मेला लाग्ने गर्दथ्यो । अहिले ती भदौरे जात्रा र मेलालाई बिसर्दै गएको छ ।

चैत्र अष्टमी मेलालाई जसोतसो हाम्रो यहाँ रहेको कालिका भगवति गुठीले नियमित रुपमा संचालन गर्दै आएको छ । यो क्षेत्रको ऐतिहासिक धार्मिक कालिका भगवति माईको शक्तिले पनि अहिले सम्म राम्ररी काम गरिराखेको छ । यो मेलालाई यो गुठी र समितिले जीवन दिनु पर्दछ । मन्दिर परिसर र त्यो पाटी पौवा मन्दिरलाई आधुनिक रुप दिएर आउने धार्मिक पर्यटकहरुलाई सुविधा दिन सकियो भने यसको भविष्य उज्वल छ ।

बागलुङवासीले परम्पराबाट चल्दै आएको चाडपर्व रिती रिवाजलाई हामी बागलुङबासीहरुले बिर्सनु हुदैन । लोक संस्कृत, लोक भाषा, लोक गीतलाईहरु हमेशा संरक्षण र सम्बन्धि गरेर बचाई राख्नु पर्दछ । बागलुङ बजारमा बस्ने नेवार जातिले भदौरे जात्रामा देखाईने लाखेनाँच, जोगी नाच, रोपाई नाच जस्तोलाई वर्षेनी संरक्षण र जोगाई राख्नु जरुरी छ । त्यसैगरी बागलुङ बजारमा देखाइने प्रसिद्ध हनुमान नाचलाई पनि बेलाबेलामा प्रदर्शन गरी हाम्रो परम्परागत संस्कृतिलाई जिवन्त राख्नु जरुरी छ ।

जसरी अहिले कालिका भगवति गुठीले चैते दशैं मेलालाई एउटा सशक्त समिती बनाई विभिन्न खेलकुद, दोहोरी गीतहरुको संरक्षण गरी भगवति कालिका मन्दिरको परिसर भित्र गुलजार गरेर सप्ताहव्यापी कार्यक्रम गरी हजारौं स्वदेशी तथा विदेशी पाहुनाहरुलाई बागलुङमा भित्राएर रमाईलोको साथै आर्थिक लाभ हुने समेत कार्यक्रम गरेको एउटा सरहानिय कार्य हो । श्रद्धेय स्वामी कमलनयनको परिकल्पना अनुसार निर्माण गरिएको पञ्चकोट धार्मिक स्थललाई पनि बागलुङवासीले विर्सनु हुदैंन । पञ्चकोटमा निर्मित विभिन्न देवालयलाई त्यही स्थानमा गएर बागलुङ आउने धार्मिक पर्यटकहरुले दर्शन गर्ने गरेका छन् बागलुङ बजारबाट सवारी साधनबाट आधी घण्टामा पुग्न सकिने सो स्थानबाट विभिन्न हिमश्रृंखलाहरु र रमणीय बागलुङ बजारको प्रपन्नचार्यको अथक प्रयासबाट निर्मित शालिग्राम संग्रहालय पनि यो क्षेत्रको अद्धितिय परिकल्पना रहेको छ । एकलाख भन्दा बढी शालिग्राम राखी बनाईएको सो क्षेत्र हरेक नेपालीले हेर्न लायक छ । दामोदर कुण्डबाट झरेको कालिगण्डकीमा पाईने शालिग्रामको नदी त्रिवेणीमा गएर अन्त भएको दृश्य त्यो संग्रहालयमा देखाईएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *