मेयर कप राष्ट्रिय फुटबलमा बागलुङ बन्यो टिम च्याम्पियन

तस्बिरः टिम म्याम्पियन बनेको बागलुङ नगरपालिकाका खेलाडी ।

आदर्श अनलाइन, बागलुङ

जिल्ला सदरमुकाममा सञ्चालित मेयर कप राष्ट्रिय फुटबल प्रतियोगितामा आयोजक बागलुङ टिम च्याम्पियन बनेको छ ।

मंगलबार भएको फाइनल खेलमा आयोजक बागलुङ नगरपालिकाले उदयपुरको चौदण्डगढी नगरपालिकालाई ५–२ गोल अन्तरले पराजित ग¥यो । निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने ठानिएको फाइनल खेलको १ मिनेट २२ सेकेण्डमै बागलुङका टिम क्याप्टेन समेत रहेका प्रमेश थापाले उत्कृष्ट गोल गर्दै शुरुवाति अग्रता दिलाएका थिए ।

त्यसको केही समयमै धुव्र घिमिरेले खेलको २२ औं मिनेटमा आकर्षक गोल गर्दै अग्रता दोब्बर पारे । गोल अन्तर फराकिलो बन्दै गए पछि केही दबाबमा देखिएको चौदण्डगढीले पेनाल्टीको अवसर पायो । २६ औ मिनेटमा शरद राइले पेनाल्टीको भरपुर सदुपयोग गर्दै टिमका लागि पहिलो गोल गरेर अग्रता कम गरे । तर, ३४ औं मिनेटमा बागलुङका उत्तम गुरुङले गोल गर्दै खेल ३–१ को अवस्थामा पु¥याए ।

पहिलो हाफको शुरुवातमै गोल खाएको चौदण्डगढीको दोस्रो हाफको शुरुवात पनि सुखद रहेन । ४९ औं मिनेटमा बागलुङका गोविन थापाले आकर्षक गोल गर्दै अग्रता बढाए । खेलको ७५ औं मिनेटमा बागलुङका डिफेण्डरले डिबक्समा फल गरे पछि चौदण्डगढीले पुनः पेनाल्टीको अवसर पायो । र शरद राइले दोस्रो गोल गरे । तर, बढ्दो गोल अन्तर र समयको दबाबमा परेको चौदण्डीले ७७ औं मिनेटमा अर्को खोल खायो । उत्तम गुरुङले फाइनल खेलका लागि दोस्रो गोल गर्दै टिमको जित सुनिश्चित गरे ।

उपाधि बिजेता बागलुङले नगद ३ लाख रुपैयाँ र कप प्राप्त गरेको छ । उपविजेता बनेको चौदण्डगढीले नगद २ लाख रुपैयाँ तथा सेमिफाइनल पुग्ने म्याग्दीको बेनी र तनहुँको भिमाद नगरपालिकाले ६०–६० हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगितामा बिधागत उत्कृष्ट पुरस्कार सबै बागलुङका खेलाडीले कब्जा जमाए । उत्कृष्ट किपरमा सौगात खड्का, उत्कृष्ट मिड फिल्डर उत्तम गुरुङ, हाइ स्कोरर धुव्र घिमिरे, उत्कृष्ट स्ट्राइकर धुव्र घिमिरे, उत्कृष्ट डिफेण्डर जीवन गुरुङ बने । उनीहरु सबैले नगद ५÷५ हजार र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधि भने बागलुङकै निशान थापाले चुमे । उनले नगद १० हजार प्राप्त गरे ।

सोमवार भएको सेमिफाइनल खेलमा बागलुङले तनहुँको भिमाद नगरपालिकालाई १–० गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो भने उदयपुरको चौदण्डगढी नगरपालिकाले म्याग्दीको बेनी नगरपालिकालाई सडन डेथमा ६–५ गोल अन्तरले हराउदै फाइनल पुगेको थियो । प्रतियोगितामा बिजयी खेलाडीलाई गण्डकी प्रदेशका सांसद इन्द्रलाल सापकोटा, बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेल, उपमेयर सुरेन्द्र खड्का, जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख बिष्णु भुषालले पुरस्कार बितरण गरे ।

२०७४ सालमा प्रादेशिक रुपमा शुरु गरिएको पहिलो सँस्करणको मेयर कप फुटबल यस पटकदेखि राष्ट्रिय स्तरको बनाइएको थियो । बागलुङ नगरपालिकाले जिल्ला फुटवल संघ बागलुङसँगको समन्वयमा शहिद दिवसको अवसर पारेर आयोजना गरेको प्रतियोगितामा देशभरका १० समूह सहभागी थिए ।

नगरपालिकाले २०७४ सालमा गण्डकी प्रदेश स्तरिय मेयर कप फुटवल प्रतियोगिता सञ्चालन गरेको थियो । उक्त पहिलो सँस्करणको उपाधि वालिङ नगरपालिका स्याङ्जाले पोखरालाई पराजित गर्दै जितेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *