कुपोषित बालबालिकाको खोजी गर्दै ढोरपाटन नगरपालिका


डम्मर बुढा मगर, बागलुङ

ढोरपाटन, बागलुङका धेरै गाउँहरुमा अहिले पनि शिक्षा र शिक्षाको सहज पहुँच पुग्न सकेको छैन । भौगोलिक विकटता र रुढिवादी परम्पराका कारण दुर्गम गाउँका बालबालिकाहरु अहिले पनि धेरै कुपोषित र पोख लगाउनबाट वञ्चित भइरहेका छन् । कतिपय गाउँमा स्वास्थ्यको सहज सेवा पुगे पनि त्यसको उपयोग नगर्ने पनि धेरै छन् । जिल्लाको ढोरपाटन नगरपालिकाले पछिल्लो समय गाउँ–गाउँमा पुगेर पूर्ण खोप लगाउनबाट वञ्चित भएका र कुपोषित बालबालिकाको खोजी गरि रहेको छ ।
नगरपालिकाका स्वास्थ्य शाखाले अहिले गाउँमा गएर स्वास्थ्य आमा समूह गठन गर्ने र बालबालिकालाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन थालेको छ । नगरपालिकाको विभिन्न गाउँहरुमा अहिले पनि जनचेतनाको कमी तथा अशिक्षाका कारण बालबालिका कुपोषित हुने र पूर्ण खोप नलगाएको पाइएको छ । स्वास्थ्य शाखाले स्वास्थ्यकर्मीसहित गाउँमै पुगेर स्वास्थ्य आमा समूहलाई स्वास्थ्य शिक्षा दिने, पूर्ण खोपका बारेमा जानकारी दिने र कुपोषित बच्चाको खोजी गर्न सिकाउन लगायतका कार्यहरु गरि रहेको छ ।

नगरपालिकाले नौ वटै वडामा पुगेर खोप लगाउने तथा कुपोषित बच्चाको पहिचान गरि रहेको स्वास्थ्य शाखा प्रमुख केशव थापाले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्गम गाउँहरुमा धेरै बालबालिका कुपोषित र पूर्ण खोप नलगाएका भेटिने गरेका छन् । उनीहरुलाई खोप दिने र कुपोषित बच्चालाई पोषण उपलब्ध गराउने गरको प्रमुख थापाले बताउनुभयो । अघिल्लो वर्ष केही वडामा २९ जना बालबालिका कुपोषित र अहिले १५ जनामा त्यो समस्या फेला परेको उहाँको भनाई छ ।

“यस वर्ष वडा नम्बर ४, ६, ३ र १ मा पुगेर कुपोषित र पूर्ण खोप नलगाएका बालबालिका भेट्यौँ, अधै पाँच वटा वडामा पुग्न बाँकी छ, अझै धेरै कुपोषित बालबालिका भेटिने आँकलन गरेका छौँ, १३ जनाले पूर्ण खोप नलगाएको पाइयो, उनीहरुलाई खोप दियौँ,” थापाले भन्नुभयो– “यो समस्या अभिभावक अशिक्षित भएकै कारण उत्पन्न भएको हो, सुरुमा बच्चालाई खोप लगाएर ल्याउँछन्, खोप लगाएपछि दुखेर रुने हुँदा त्यसपछिका चरणका खोप लगाउनै नलगेको पाइयो ।”
बालबालिकालाई कुपोषित हुनबाट रोक्न तथा पूर्ण खोप लगाउनका लागि रहेक गाउँको टोल–टोलमा स्वास्थ्य आमा समूह गठन गर्ने र उनीहरुलाई खोप लगाउने समय, कस्तो बच्च कुपोषित हो भन्ने छुट्याउने र समयमै स्वास्थ्य संस्थामा लैजानु पर्ने विषयमा प्रशिक्षति गरे रहेको थापाले बताउनुभयो ।

ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण)ले स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरि रहेको बताउनुभयो । उहाँले समय–समयमा स्वास्थ्यकर्मीलाई नागरिकको स्वास्थ्य समस्या बुझ्न गाउँ–गाउँमा पठाउने गरेको र सोही अनुसार स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन तर्फ लागेको कायतले बताउनुभयो ।

उहाँले भन्नुभयो– “ढोरपाटन नगरपालिका अलिकति पिछडिएको क्षेत्र पनि हो, यहाँका धेरै नागरिकमा बल्ल जनचेतना वृद्धि हुँदैछ, स्वास्थ्य र शिक्षाको सहज पहुँच पुग्दैछ, अहिले पनि बिरामी हुँदा अस्पतालभन्दा धामी झाँक्री खोज्ने प्रचलन छ, यद्यपी हामीहरु अन्धविश्वासलाई हटाएर नागरिकलाई सचेत बनाउने कार्यमा लागेका छौँ, पछिल्लो समय यहाँको स्वास्थ्यमा केही सुधार आएको महशुस भएको छ, स्वास्थ्य संस्था तथा औषधी व्यवस्थापन लगायतका विषयमा हामीहरु गम्भीर भएर लागेका छौँ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *