पोखराको हेम्जामा आलु महोत्सव सुरु

आदर्श अनलाइन, पोखरा
कास्कीको हेम्जामा आइतबारदेखि आलु महोत्सव सुरु भएको छ । सुन्दर ठाउँ हेम्जा आजौ आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक भन्ने मुल नाराका साथ एघारौं संस्करणको आलु महोत्सव आइतबारदेखी सुरु भएको हो ।

स्थानीय विष्णुपादुका क्लवको आयोजनामा सुरु भएको महोत्सवको गण्डकी प्रदेश सरकारका कृषि उर्जा तथा जलश्रोत मन्त्री वेद बहादुर गुरुङले उद्घाटन गर्नुभयो ।
महोत्सवको उद्घाटन गर्दै गुरुङलेप्रदेश सरकार किसानको पक्षमा रहेको बताउँदै नेपालमा कृषिलाई व्यवसायिक बनाउनुपर्नेमा जोड दिनुभयो । कृषि नीति सुधार्ने तयारीमा आफ्नो मन्त्रालय रहेको बताउदै आगामी बजेट किसानमुखी बनाउनेतर्फ आफुहरुले पहल गरिरहेको समेत बताउनुभयो ।

प्रदेशसभा सदस्य गणेशमान गुरुङले कृषि कर्म गर्दा खुशी हुने संस्कारको सुरुवात गर्नुपर्ने स्पष्ट पार्दै कृषि पेशालाई प्रविधिमैत्री बनाउन आवश्यक रहेको बताउनुभयो । निर्वाहमुखी खेतीले केही नहुने स्पष्ट पार्दै गुरुङले महोत्सवसँगै उत्पादनमा जोडिन समेत आग्रह गर्नुभयो ।

कृषि मन्त्रालयका सचिव सहदेव प्रसाद हुमागाईले हेमजा र आलु पर्याय जस्तै भएको बताउँदै आयोजक प्रति आभार प्रकट गर्नुभयो । आलु विज्ञ श्यामप्रसाद ढकालले हेमजा वासीलाई नियमित खाने र उद्योगसँग जोड्ने गरी आलुको उत्पादनमा लाग्न सुझाव दिनुभयो ।

पोखरा २५ का वडाध्यक्ष मोतिलाल तिम्सिनाले आलु महोत्सवले हेमजालाई मात्र नभई समग्र पोखरा क्षेत्रलाई नै विश्वभर चिनाएको बताउदै उहांले बुहुउद्देश्यीय किसान सहकारीले सुरुवात गरेको महोत्सवलाई निरन्तरता दिएकोमा आयोजक क्लव प्रति आभार प्रकट गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका भरतराज ढकाल, हेमजाका अगुवा कृषक चित्रनाथ पौडेल लगायतले असली कृषक समक्ष अनुदान पुग्नुपर्ने, मुल्य श्रृङखला व्यवस्थापन गरी उत्पादनमा जट्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमकाबीच सहयोगदाता जेके क्रसर, कृषि अनुसन्धान निर्देशनालय लुम्ले, पोखरा महानगर कृषि महाशाखा, कृषि विकास निर्देशनालय गण्डकी प्रदेश, कृषि ज्ञान केन्द्र, मुख्य प्रायोजक, मुक्तिनाथ र एनएम्वि बैक, हाई ग्राउन्ड एडभेन्चर प्रा.लि सहित गुरुकुल विद्या सदनलाई सम्मान गरिएको थियो ।

महोत्सव सुरु हुनुपुर्व मिलनचोकबाट महोत्सव स्थल विष्णुपादुका खेलमैदान सम्म कृषि झाँकी सहित शोभा यात्रा निकालिएको थियो । उक्त शोभा यात्रामा सयौं हेमजावासीले आलुका साथै कृषि उपजका माला लगाई नाचगान गर्दै रमाइलो गरे ।

महोत्सव अन्र्तगत आलु तथा ताजा तरकारीको बृह प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन तथा प्रशिक्षण, माटो, बोटविरुवाको परीक्षण तथा रोगको निधान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, विभिन्न कृषि उपज, विउविजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार लगायतका कार्यक्रम गरिने आयोजकले जनाएको छ ।

यो पनि पढ्नुहोस्