पोखराबाट अन्तर्राष्ट्रिय उडान छिटो होस्

सम्पादकीय
पोखराबाट अन्तर्राष्ट्रिय विमानस्थल, यसको निर्माणको सुरुवाती खबरदेखि सम्पन्न हुने बेला सम्म पोखरेली निकै उत्साहित भए । उद्घाटनको बेला त ठुलै उत्सवको रुपमा लिएर रमाए । तर, धुमधामका साथ निर्माण सम्पन्न भएको खबर सहित उद्घाटन गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिले सम्म अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । जुन अवस्था र खबरले फेरि पोखरेली र गण्डकी प्रदेशका नागरिक एकाएक निराश बन्नुपर्ने बिडम्बनापूर्ण अवस्थामा पुगेका छन् । पोखराबाट अन्तर्राष्ट्रिय उडान अहिले सम्म त हुन सकेन नै, अब कहिलेदेखि उडान हुन्छ ? भन्ने समेत अनिश्चयकै भूमरीमा छ । जसले राष्ट्रिय गौरवको रुपमा लिइएको यस विमानस्थलको भविष्यमा गम्भिर प्रश्न र संशय उठाइरहेको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्न पोखराका उद्योगी, व्यवसायीले माग गरेका छन् । पोखरा पर्यटन परिषदको नेतृत्वमा काठमाडौं पुगेका व्यवसायीले धुमधामका साथ सरकारकै प्रधानमन्त्री, मन्त्रीको उपस्थितिमा उद्घाट गरिएको अन्तर्राष्ट्रिय विमानस्थलबाट तत्काल उडान भर्न माग नै गर्नुपर्ने आउनु आफैमा दुर्भाग्यपूर्ण कुरा हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष सिंहदरबारमा भेट गरी पोखरेली व्यवसायीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नाम मात्रैको नबनाउन आग्रह गरेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रधानमन्त्री प्रचण्डले नै जनवरी १ मा उद्घाटन गरेका थिए । यसको तीन महिना महिना बितिसकेको छ । अहिले प्रधानमन्त्री स्वयंमले उद्घाटन गरेको विमानस्थल अहिले नाम अन्तर्राष्ट्रिय तर उडान काठमाडौंजस्तो मात्र भइरहेको अवस्था छ । जबकि यस विमानस्थलबाट भारत, चीन, बंगलादेश लगायत देशमा तत्काल उडान थाल्न नीतिगत पहल अपरिहार्य छ ।

अन्तर्राष्ट्रिय विमानस्थल पोखरामा निर्धारित समय भन्दा ढिलै भए पनि बन्नु सुखद विषय हो । भलै यसको सुरुवाती घोषणादेखि निर्माणका बेला नै सञ्चालन र निरन्तरतामा अनेकन आशंका र सशंय व्यक्त भइरहेका थिए । सरकारको तदारुकता नदेखिदा ती आशंका र सशंयमा बल मिलेको छ । अरबौ खर्चेर निर्माण गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुने हो भने त्यसबाट मुलुकले ठुलो घाटा बेहोर्नु पर्ने निश्चित छ । अतः अन्तर्राष्ट्रिय विमानस्थल र उडानको यथोचित बिश्लेषण सहित सरकारले तत्काल सुझबुझ पूर्ण निर्णय र पहल गर्नु जरुरी छ । नेपाल एयरलाइन्स पूर्ण व्यवसायिक बनाई आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरु सञ्चालन गर्न अवश्यक जहाजहरू खरिद गर्नुपर्ने समेत आवश्यकता छ । कम्तीमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि नेपाल एयरलाइन्सको जहाज उडानको व्यवस्थासहित हवाइ सञ्जाल बिस्तार गर्ने हो भने यसको उपयोगिता र निर्माणको औचित्य देखिनेछ । अन्यथा, यो सेतो हात्ती बन्ने निश्चित छ । सरकारले समयमै सचेत कदम चालोस् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *