लोकमार्गको काममा अब कुनै बाहनाबाजी नहोस्

सम्पादकीय
राष्ट्रिय गौरवको आयोजना मध्येको एक हो पुष्पलाल मध्यपहाडी लोकमार्ग । यस लोकमार्गको बागलुङ अक्षते–घोडाबाँधे सडक खण्ड लामो समयदेखि चर्चा, विवाद र अलपत्र परेका कारण पटक पटक बहसमा छ । किनकि लोकमार्गको यस खण्डमा ट्रयाक खुलेको साढे दुई दशक बिति सक्यो । यतिका समयसम्म पनि यस खण्डको अधिकांश सडक कालोपत्रे हुन नसक्नुको दुःखद नियति जिल्लाबासीले भोग्दै आएका छन् । त्यो पनि जिल्लाको काठेखोला गाउँपालिकादेखि गलकोट नगरपालिका, ताराखोला गाउँपालिका, बडिगाड गाउँपालिका, ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाका नागरिकले दैनिकजसो सास्ती र सकस खेप्न बाध्य छन् । बर्खामासमा हिलाम्य भएर गाडी फस्ने र दुर्घटनाको जोखिम हुन्छ भने हिउँदमा धुलाम्य भएर यात्रा सकसपूर्ण हुन्छ । वर्षौदेखि नागरिकले दैनिक यसरी सास्ती र सकस पाउँदा पनि सरकार र सरोकारवालाको यथोचित ध्यान समयमै लोकमार्गको कालोपत्रे गर्न गराउनमा पुग्न सकेको छैन भने ठेकेदारले सत्ता र शक्तिको आडमा आयोजना अलपत्र पार्ने र म्याद थप गर्दै आएको छ ।

बागलुङ अक्षते–घोडाबाँधे सडकको करिब २६ किलोमिटर सडक मध्ये लामो समय पछि अहिले उपल्लाचौर–अक्षते खण्डमा धमाधम काम भइरहेको । माथिल्लो बिहुँ खण्डमा भने अझै काम हुन सकेको छैन । लोकमार्ग कार्यालयले बागलुङ बजारदेखि घोडाबाँधेसम्मको सडक दुई खण्डमा विभाजन गरि ठेक्का दिँदै आएको छ । दुई वटा खण्ड कालोपत्रेका लागि वि.सं. २०७२ र २०७३ मा सम्झौता भएको थियो । हालसम्म १२ किलोमिटर सडक कालोपत्रे भए पनि अझै १३ किलोमिटर सडक कालोपत्रे गर्न बाँकी छ । बिहुँ खण्डको जिम्मा एपी एस सिएफ इसिसी जेवीले र तल्लो खण्डको जिम्मा भरत सिद्धि शाही जेवीले लिएको थियो । बिहुँ खण्डको आगामी असार ५ गते थपिएको म्याद पनि सकिदै छ भने अक्षते खण्डको असार मसान्तसम्म छ । बिहुँ खण्डमा निर्माण कम्पनीले निकै सुस्त गतिमा काम गर्दा असार मसान्तसम्म सकिनेमा नागरिक संशकित छन् । तल्लो खण्डमा भने यसपटक आशातित उपलब्धि हासिल हुनेमा नागरिक आशावादी छन् ।

पटक पटक सरकार र कर्मचारीतन्त्रमा आउने फेरबदलको असर लोकमार्ग आयोजनामा परेको त छ नै, त्यसबाहेक कोरोना संक्रमण र अरु कारण पनि ठेकेदारका लागि बाहनाको विषय बन्ने गरेको छ । ठेकेदार यति जिम्मेवारपूर्ण रुपमा दृढ भएर आयोजनाको काममा लागेको भए र सरकार, सम्बन्धित निकायले पनि सोही किसिमको भूमिका र सहजिकरण गरिदिएको भए आज सम्म बागलुङ अक्षते–घोडाबाँधे सडक खण्ड निश्चय पनि कालोपत्रे भइसकेको हुने थियो । यसमा ठेकदार कम्पनी मात्र होइन, सरकार, सरोकारवाला निकाय पनि पटक पटक चुकिरहेको छ । बागलुङ बुर्तिबाङ सडक खण्डका ग्रामीण क्षेत्रका अधिकांश भाग धेरै वर्ष पहिले नै विस्तार र कालोपत्रे भइसक्दा समेत सदरमुकामकै आसपासमा सडकको जुन दुर्दशा र नियति देखिन्छ, त्यसबाट दैनिक नागरिक समस्या र सकस बेहोर्न अभिसप्त छन् । यो अब अति भइसकेको छ । अब पनि चरम लापरवाही र बेवास्ता गरिरहे कदापि जिल्लाबासीले धैर्यता र संयमता देखाइरहन बाध्य हुने छैनन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *