डम्मर बुढा मगर, बागलुङ
काठेखोला गाउँपालिका–१ पाल आरकोटमा डेढ दशक अगाडि चार वटा पोखरी थिए । पोखरी वरपर बर पिपलका चौतारी थिए । पोखरीमा गाउँलेले भैँसीलाई पानी खुवाउने र आहाल खेलाउने गर्थे भने चौतारीको छहारीमा स्थानीयले बसेर थकाई मार्ने गर्थे । अहिले उक्त ठाउँमा एउटा मात्रै पोखरी छ । चौतारामा बर पिपल बिरुवा हुर्किदै छन् । त्यही एउटा पोखरीमा स्थानीयले पशुचौपायालाई पानी खुवाउने गर्थे । थकाई मार्नका लागि चौपारी बनाइएको छ ।
पछिल्लो समय गाउँमा गाईभैँसी पालन कम हुने र जथाभाबी रुपमा निर्माण गरिएका सडकले पानीको मुल पुरिने र पोखरीको अस्तित्वनै संकटमा पर्दै गएको छ । बर पिपल संरक्षण गर्न छोडेपछि सितल प्रदान गर्ने छहारी पनि पाउनै मुस्किल पर्छ । पहिले गाउँका टोल, छिमेक र डाँडामा बर पिपल रोपेर चौतारा निर्माण गरिन्थ्यो भने अहिले हराउँदै गएका सम्पदाको संरक्षण गर्न तर्फ कसैको ध्यान पुगेको छैन । पुराना मौलिक सम्पदाहरु हराउँदै गएपछि बुढापाकाले चिन्ता व्यक्त गरेका छन् ।
धर्म संस्कृतिसँग जोडिएको पोखरी र चौतारा बसाइँसराइ तथा आधुनिकताले ओझेलिएको हो । पहिले–पहिले स्थानीयले पोखरी निर्माण गर्दा र चौतारी बनाउँदा पुण्य कमाइने मान्यता रहे पनि अहिले कसैले पनि यस्ता काम नगर्ने काठेखोला गाउँपालिका–१ का ६० वर्षीय डिलबहादुर परियारले बताउनुभयो । बुढापाकाले काम गर्न नसक्ने र युवा पुस्ताले यस्ता धार्मिक काम गर्न तर्फ चासो नदिँदा पोखरी र चौपारी हराउँदै गएको सुनाउनुभयो ।
परियारले भन्नुभयो– “यो ठाउँमा पहिले चार वटा पोखरी थिए, यही पोखरीमा गाउँभरीका भैँसी ल्याएर पानी खुवाउने, आहाल खेलाउने र चौरमा चराउने गर्थे, दुईभन्दा बढी भैँसीलाई यहाँका चार वटा पोखरीमा पानी खुवाउने गरिन्थ्यो अहिले त १०/१५ वटा पनि हुँदैनन्, अरु तीन वटा पोखरी सुके, नाम निसाना मेटिए, अहिलेसम्म यही एउटा मात्रै बाँकी छ, यो पनि दुई/चार वर्षमा पहिलेका पोखरीको हालतमा पुग्छन् होला, अबका मान्छेले यसरी पोखरीमा भैँसी लिएर पानीसमेत खुवाउँदैनन् होला ।”
अहिले यहाँको पोखरीमा १०/१२ वटा भैँसीले मात्रै आहाल खेल्ने र पानी पिउने गर्छन् । स्थानीयले पोखरीको प्रयोग गर्न छोडेपछि पोखरी सुख्खा जमिनमा परिणत हुँदै गएको स्थानीय ६० वर्षीय भूमिराज खत्रीले बताउनुभयो । उहाँले पहिले गाउँको धेरै ठाउँमा पोखरी संरक्षण गरेर राखे पनि अहिले अधिकांश पोखरी सडकले पुरिएको बताउनुहुन्छ । अहिले गाउँको केही ठाउँमा मात्रै पोरी संरक्षित रहेको उहाँको भनाई छ । पहिले एक घर एक धारा नहुँदा एउटा धारो सामुहिक रुपमा प्रयोग गर्ने हुँदा पानी पु¥याउनै मुस्किल हुने गरेको र पशुचौपायालाई पोखरीमा लगेर पानी खुवाउने गरेको खत्रीले बताउनुभयो ।
“उतिबेला अहिलेको जस्तो खानेपानीको सुबिस्ता (सुविधा) थिएन, एक गाग्री पानीका लागि घण्टाँै धाउने पर्ने अवस्था थियो, पशुलाई बोकेर पानी खुवाउन पनि सकिदैनथ्यो, त्यही भएर पोखरीमा लगिन्थ्यो,” खत्रीले भन्नुभयो– “अहिले सबैका घर–घरमा धारा बने खानेपानीको खाँचो छैन, गाईभैँसीलाई घरमै भरेर पानी खुवाउन थाले, त्यसले गर्दा पोखरीको प्रयोग घट्यो र अहिले हराउँदै जान थाले ।”
उहाँले पोखरी तथा चौतारीसँग पहिचान जोडिएको बताउनुभयो । मौलिक सम्पदाका रुपमा रहेका पोखरी तथा चौतारी संरक्षणमा स्थानीय सरकारले चासो दिए, पानीको मुलको संरक्षण हुने र वातावरणलाई हराबरा बनाउन मद्दत पुग्ने खत्री बताउनुहुन्छ । उहाँले विकाससँगै गाउँमा विनाश पनि हुँदै गएको बताउनुहुन्छ । पछिल्लो समय गाउँमा खानेपानीको मुहान पनि सुक्दै गएको उहाँको भनाई छ ।
काठेखोला गाउँपालिकाले पालिकामा रहेको परम्परागत पोखरी संरक्षणमा जुटेको प्रवक्ता टिका संगम विकले बताउनुभयो । उहाँले यस वर्ष वडा नम्बर ४ को तंग्राममा रहेका पोखरीहरुको संरक्षण गर्न सुरु गरेको भन्दै आगामी वर्षदेखि सबै वडामा संकटमा रहेका पोखरीहरु पुनर्निमाण गर्ने बताउनुभयो । गाउँपालिकाले यस वर्ष तंग्रामको तापखोर र परम्दीमा रहेका पोखरी संरक्षणका लागि ३० लाख विनियोजन गरेको र अहिले काम भइरहेको बताउनुभयो ।
प्रवक्ता विकले भन्नुभयो– “पोखरी र चौतारा त गाउँले जनजीवनसँग जोडिएको पहिचान हो, मौलिक सम्पदा संरक्षण गर्ने पालिकाको जिम्मेवारी पनि हो, पोखरीसँगै अन्य महत्वपूर्ण सम्पदालाई पनि प्राथमिकतामा राखेर संरक्षण गर्ने योजना बनाएका छौँ, अहिले चार नम्बरबाट सुरु भएको छ, आगमी वर्ष धरै पोखरीहरुको पुनर्निर्माण हुने छन् भने केही नयाँ पोखरी पनि निर्माण गर्ने छौँ ।”
विकले सडक निर्माण गर्दा पोखरी, कुवा तथा चौताराहरु जोगाएको बताउनुभयो । धेरै गाउँहरुमा अहिले सडक पुगेको र केही गाउँमा मौलिक सम्पदामा क्षति पुगेको भन्दै अब नयाँ संरचना गर्दा ध्यान दिने उहाँको भनाई छ । गाउँका विभिन्न स्थानसँगै जंगलका केही ठाउँहरुमा पनि पोखरी निर्माण गर्न जरुरी रहेको प्रवक्ता विक बताउनुहुन्छ ।