नयाँ वर्षको शुभकामना

सम्पादकीय
आजदेखि नयाँ वर्ष २०८० शुभारम्भ र वर्ष २०७९ को अवसान भएको छ । कुनै वर्ष बित्नु केबल समय मात्र होइन । समयसँगै समय सापेक्ष रुपमा गरिएका कर्म र उपलब्धिहरु त्यसका मापक हुन् । कुनै पनि व्यक्ति या संस्था या सरकारको उपलब्धि वर्षमा होइन, उसले छोटो या लामो अवधिमा गरेको कर्म र उपलब्धिहरुकै आधारमा मापन हुन्छ र गरिन्छ । गएको एक वर्षलाई पनि त्यसरी नै हेर्नुपर्छ । चाहे त्यो नितान्त निजी जिन्दगीको गएको एक वर्ष होस् या संघ संस्था, कम्पनी, व्यवसाय या सरकार । सबैले गत वर्षको समिक्षा गर्दा मुख्यतः यसलाई आधार बनाइनु पर्छ । जसले भोलिको प्रगति, उपलब्धिको थप आधार दिन सक्छ । उसो त कुनै उमेर या वर्ष बित्नु उति सुखद र खुसीको विषय होइन । जति नयाँ वर्षको आगमनमा उत्साह, उमंग हुन्छ । आज त्यही उत्साह, उमंगको नयाँ अध्याय सुरु भएको छ । यसलाई नयाँ उर्जा, उत्साह सहित उपलब्धिमा बदल्ने प्रेरणाका रुपमा ग्रहण गर्नुपर्छ ।

बितेको वर्ष नेपालीहरुका लागि उति सुखद रहेन । तीन वर्ष अघि विश्वव्यापी रुपमा सुरु भएको कोरोना भाइरसको संक्रमण र भयाबहले सर्वत्र आक्रान्त बनायो । वर्ष २०७९ को आरम्भसँगै कोरोना प्रभाव न्यून भइसकेको थियो । क्रमशः आम मानिसको दैनिकी सामान्य बन्दै जान थालेको थियो । २०७९ नेपाली राजनीतिमा नयाँ आयाम थप्ने वर्ष हुने आम नेपालीले अपेक्षा गरेका थिए । यो वर्ष चुनावी वर्षको रुपमा रह्यो । नयाँ सत्ता बन्ने र पुरानो सत्ता ढल्ने ढलाउने खेलको नियति भोग्दै आएको देशले निर्वाचन पनि नयाँ स्थायी सरकार पाउनेमा आम नेपाली विश्वस्त थिए । तर, ०७९ मा निर्वाचन मात्र भएन नेपालको राजनीतिक भेरियन्ट कोरोनाको भन्दा खतरनाक हुने अवस्था देखिन थाल्यो । पाँच वर्षका लागि स्थायी सरकरको अपेक्षा गरेका जनताले वितेको एक वर्षमा निर्वाचन पछि मात्र ५ महिनामा स्वार्थमा सरकार बनाउने र ढाल्ने पुरानै फोहोरी दलदल देख्न बाध्य भए ।

यतिमात्र होइन अर्काे दुर्भाग्य भन्नुपर्छ रुस र यक्रेनको विचमा सुरु भएको युद्धको प्रभाव पनि यतिबेलन नेपालको अर्थतन्त्रमा पनि देखिन थालेको छ । तरलताको अभाव र बढ्दो महंगीले उद्योग व्यवसाय टाट पल्टिने खतरा बढ्न थालेको छ । कोभिडले हल्लाएको अर्थतन्त्र उकालो नलाग्दै पुनः खतरामा पर्न थालेको छ । युवाहरुको विदेश पलायन, जनतामा देखिएको निरासा, देशको परिस्थती र सरकारको मनस्थिती विल्कुल फरक देखिन्छ । सरकार जनमुखी हुन नसक्दा विगतका वर्ष जे जति उत्साहप्रद र नेपालका लागि उपलब्धिमूलक हुने ठानिएको थियो त्यो हुन सकेन । अबको यस वर्षमा विगतमा नेपाल र नेपालीले भोग्नुपरेका खराब काम र कदमहरु भोग्न नपरोस् । देश र जनताको सेवा सरकार, राजनीतिक दलको सर्वोपरी विषय बनोस् । मुलुकको अर्थतन्त्र संकटमा पर्ने खतरा बढेको छ, सरकारले समयमै यथोचित कदम चालेर लयमा हिँडोस्, र हर नागरिकको आर्थिक अवस्थामा पनि उत्तिकै चलायमान होेस् । छुद्र आरोप प्रत्यारोपको राजनीति त्यागेर स्वच्छ र स्वस्थ प्रतिस्पर्धाको संस्कार बसोस् । नयाँ वर्ष २०८० को शुभारम्भका अवसरमा हाम्रा प्रिय पाठक, बिज्ञापनदाता, शुभचिन्तक, शुभेच्छुक महानुभावहरुमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *