अन्नपूर्णमा अध्यक्ष कप

अमृत बास्कुने, म्याग्दी
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको अध्यक्ष कप खेलकुद प्रतियोगिता सकिएको छ । घराम्दीमा शुक्रबार सकिएको प्रतियोगिताको चार मध्य दुई वटा खेलमा स्वर्ण र एउटामा रजत पदक जित्दै वडा नम्बर ५, शिखले खेलकुदमा आफ्नो बलियो पकड देखाएको छ ।

चैत २७ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा वडा नम्बर ४ नारच्याङ एक स्वर्ण र एक रजत पदक जितेको छ । नव वर्ष २०८० को अवसरमा आयोजित प्रतियोगितामा महिला पुरुष भलिबल, पुरुष बास्केट बल तथा पुरुष प्रौढ भलिबल प्रतियोगिता आयोजना गरिएको थियो ।
शिखले महिला भलिबल, पुरुष बास्केटबलमा स्वर्ण र प्रौद्ध भलिबलमा रजत पदक जितेको छ । नारच्याङले पुरुष भलिबलमा स्वर्ण र महिला भलिबलमा रजत पदक जितेको गाउँपालिकाका शिक्षा अधिकृत गणेश कटुवालले जानकारी दिनुभयो ।

पुरुष भलिबलमा अन्नपुर्ण गाउँपालिका ४, नारच्याङले वडा नम्बर ६ घारलाई २४–२६, २५–११, २५–२२ र २५–१९ अन्तरले जितेको छ । महिला भलिबलमा शिखले नारच्याङलाई २३–२५, २५–१८, २५–१७, २५–१८ अन्तरले जित्यो । पुरुष वास्केटबलमा शिखले वडा नम्बर ८ राम्चेलाई ६२ का विरुद्ध ७६ स्कोरले जित निकालेको थियो । प्रौद्ध भलिबलमा वडा नम्बर ७ हिस्तानले शिखलाई २३–२५, २५–२०, २५–१६, २०–२५ र १५–९ अन्तरले जित्यो ।

पाँच दिनसम्म सञ्चालन भएको प्रतियोगितामा पुरुष, महिला भलिबल, पुरुष वास्केटबल र प्रौद्ध भलिबल खेलमा ८ वटा वडाबाट छनौट भएका खेलाडीहरु सहभागी भएका थिए । प्रत्येक बिधामा प्रथम र द्वितीय हुने वडाले ३० हजार रुपियाँ र २० हजार रुपियाँका दरले पुरस्कार प्राप्त गरेका छन् । खेलाडी सहभागिताका लागि प्रत्येक वडालाई ५० हजारका दरले अनुदान दिइएको अन्नपुर्ण गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीले बताउनुभयो ।

बिजेता र उपबिजेतालाई गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, उपाध्यक्ष दिवा तिलिजा पुन, प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले ट्रफि, मेडल, प्रमाणपत्र र पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगिता समापन समारोहमा हिस्तानकी महिला भलिबल खेलाडी सजिना बुढाथोकीलाई हाल बेलायतमा रहनुभएका घराम्दीका धनबहादुर पाईजाले व्यक्तिगत रुपमा रु. २५ हजार प्रोत्साहन रकम प्रदान गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *