सम्झौता सकिने बेला करिडोरमा धमाधम पुल बन्दै

डम्मर बुढा मगर, बागलुङ
राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङ जैमिनी अन्तरगत जैदी–छिस्ती खण्डमा निर्माण थालिएको चौडीखोला पक्की पुल निर्माणले गति लिएको छ । वि.सं. २०७७ असार २१ गते सम्झौता गरि काम थालेको ठेकेदार कम्पनी राजेश्वरी कन्ट्रक्सनले पछिल्लो समय कामलाई तीव्रता दिएको हो ।

वि.सं. २०८० साल असार मसान्त भित्र निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि चौडीखोलामा रहेको बेली ब्रिज नेपाली सेनाले नहटाउँदा काम ढिलो सुरु भएको थियो । ठेकेदार कम्पनीले सम्झौता गरेको करिब एक वर्षपछि मात्र काम थालेको सुपरभाईजर केशव सुवेदीले बताउनुभयो ।

उहाँले सम्झौता अवधिमा काम सकिनेमा भने आशँका व्यक्त गर्नुभयो । “दुई वर्ष अगाडि पुल निर्माणका लागि सम्झौता भएको थियो, विभिन्न समस्याका कारण करिब एक वर्षसम्म काम गर्न पाएनौँ, असार मसान्तसम्म म्याद छ, हेरौँ कस्तो हुन्छ, हामीहरु जसरी पनि सक्ने गरि काम गरि रहेका छौँ, यदी सकिएन भने थोरै समय थप मागेर काम सक्ने छौँ ।”

अहिले ११ मिटर चौडाई र ३५ मिटर लम्बाई रहेको पुल ढलान गर्ने तयारी गरिएको छ । हालसम्म चौडीखोलामा ग्याबिन भर्ने लगायतका करिब ४० प्रतिशत काम सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ ।

पुल तीन करोड ८० लाख ५४ हजार रुपैयाँ लागतमा निर्माण थालिएको हो । पुल निर्माण थालिएसँगै नेपाल, भारत र चीन जोड्ने रेशमी मार्गको रुपमा रहेको कालीगण्डकी करिडोरमा यात्रा गर्न सहज हुने छ ।

कालीगण्डकी करिडोर जैमिनी खण्डमा पर्नेे पालुङखोला, लौवाखोला र जैमिनी घाटमा पुल निर्माणको लागि प्रक्रिया अघि बढाउने तयारी थालिएको छ । पुल समयमै निर्माण नहुँदा जैमिनी नगरपालिका–७ र ८ का स्थानीयसहित कोरिडोरमा यात्रा गर्ने यात्रुले सास्ती भोग्नु परेको उपप्रमुख हरिहर शर्माले बताउनुभयो ।

उपप्रमुख शर्मा भन्नुहुन्छ– “निर्माण कम्पनीलाई असार मसान्तसम्म काम सक्नका लागि ताकेता गरि रहेका छौँ, बर्खामा दुई महिनामा सिधा यातायात हुँदैन, त्यसले गर्दा कोरिडोरमा यात्रा गर्ने यात्रुहरु अलपत्र पर्ने, समयमै गन्तव्यमा पुग्न नसक्ने अवस्था छ, स्थानीय बिरामी परे भने समयै उद्धार गर्न समस्या हुँदै आएको छ, आशा गरौँ नयाँ वर्षबाट पुल संचालन हुने छ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *