बागलुङ नगर अस्पताल : सम्झौता सकिनै लाग्दा २० प्रतिशत काम


खेमराज गौतम, बागलुङ

बागलुङ नगरपालिकाको १५ शैयाको अस्पतालको पहिलो तला ढलानको तयारी गरेकै छ महिना वित्यो । छ महिना देखि अलपत्र अवस्थामा रहेको अस्पताल भवनको छडमा खिया लाग्न थालेको छ ।

ढलानका लागि खरिद गरिएका कच्चा सामाग्रीहरु पतकरले छोपिएका छन् ।

अलपत्र अवस्थामा रहेको अस्पताल भवनको ठेक्का मिति सकिने बेला सम्म कामले गति नलिदा त्यहाँका स्थानीयहरुले निर्माण व्यवसायीको चर्को आलोचना गरेका छन् ।

छ महिना देखि अस्पतालको पहिलो ढलान गर्न नसक्ने ठेकेदारलाई कार्वाही गर्नु पर्ने बागलुङ नगरपालिका प्रति स्थानीयको माग छ । निर्माण सम्झौताको २१ महिनामा पहिलो तला समेत ढलान गर्न नसक्ने निर्माण व्यवसायीको यहाँका स्थानीयले चर्को आलोचना गरेका छन् ।

“नगर अस्पतालले पुरानो भवनबाट सेवा दिन शुरु गरेकै दुई वर्ष भयो तर अस्पतालमा डाक्टर छैनन्, जनस्वास्थ्य निरिक्षकको भरमा अस्पताल छ, अस्पतालको निर्माणधीन नयाँ भवनको निर्माण कार्य ठप्प छ” स्थानीय बालकृष्ण शर्माले भन्नुभयो “स्वास्थ्य चौकीलाई स्तरोन्नती गरी नगर अस्पताल बनाएपनि सेवा स्वास्थ्य चौकीकै छ, १५ शैयाको अस्पताल भवन निर्माण कार्य ठप्प भएको छ ।” अहिले जम्मा २० प्रतिश मात्रै काम भएको प्राििवधिकको भनाई छ ।

लामो समयको प्रयास र पहलपछि बागलुङ नगरपालिकाको नगर अस्पताल बागलुङ नगरपालिका–१३ पैयुपाटामा १५ शैयाको नगर अस्पताल भवन निर्माण अघि बढेपनि निर्माण व्यवसायीको चरम लापरवाहीका कारण भवन निर्माणले गति लिन नसकेको हो ।

अस्पताल सम्पन्न गर्नुपर्ने मिति आउन मात्रै जम्मा तीन महिना मात्रै बाँकी रहँदा पहिलो तला ढलान हुन नसक्नु दुखद् विषय बनेको बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले बताउनुभयो । “निर्माण व्यवसायीलाई ताकेता गरिरहेका छौं, अस्पतालको सेवा थप गर्नका लागि डाक्टरको माग गरी पदपूर्ती गरेपनि डाक्टर बस्नुभएन, पुन अहिले हेल्थ असिस्टेन र ल्याव टेक्निसिय थपेका छौं तर डाक्टरका लागि आवेदन आएको छैन” खड्काले भन्नुभयो “निर्माण व्यवसायीको कमजोरीका कारण नगरपालिका प्रति स्थानीय रुष्ट छन्, निर्माण व्यवसायीलाई तुरुन्तै सम्झौता अनुसार काम गर्न निर्देशन गर्नेछु ।”

बागलुङ नगरपालिका–१३ पैयुपाटा स्वास्थ्य चौकीलाईनै नगर अस्पतालको रुपमा नामाकरण गरेको बागलुङ नगरपालिकाले नयाँ भवन निर्माणका लागि रु. १२ करोड ८७ लाखमा ठेक्का सम्झौता गरेपनि निर्माण व्यवसायीको ढिलासुस्तीका कारण अस्पताल भवन निर्माण कहिले सकिने टुङ्गो नलागेको बागलुङ नगरपालिका–१३ पैयुँपाटाका वडा अध्यक्ष नारायण पौडेलले बताउनुभयो ।

“बागलुङ नगरपालिकाको वलेवा क्षेत्र सदरमुकामको पहुँचबाट अल्लि टाढा भएका कारण नगर अस्पताल यही बनाउने गरी नगरपालिकाको अघिल्लो नेतृत्वले सकरात्मक सुरुवात गरेको थियो, अस्पातलका लागि आवश्यक जग्गा जुटाइयो” शर्माले भन्नुभयो “एकातिर अस्पतालको सेवा पुरानो स्वास्थ्य चौकीबाट शुरु गरियो भने नयाँ भवन निर्माण समेत थालियो तर दुखका साथ भन्नु पर्छ सम्झौता सकिने बेला सम्म अस्पताल निर्माणले गति नलिदा समस्या भएको छ ।”

सरकारले प्रत्येक पालिकामा १५, १० र ५ शैयाको आधारभूत अस्पताल निर्माण गर्ने लक्ष्य अनुसार स्वास्थ्यको पहुँचबाट टाढा रहेको नगरपालिकाको दक्षिण भेगलाई लक्षित गरी नगर अस्पताल निर्माण थालिएको भएपनि अस्पताल भवन निर्माणमा ढिलाई हुनु र अस्पतालको स्वास्थ्य सेवा प्रभावकारी नहुँदा समस्या भएको छ ।

१५ शैयाको अस्पताल भवन निर्माण गर्न श्री महालक्ष्मी जुगल जेभी संग २०७८ असार २३ गते रु. १२ करोड ८७ लाखमा सम्झौता भएको थियो । उक्त भवन २०८० साल असार २० गतेसम्म सक्नुपर्ने सम्झौता रहेको छ । अस्पतालको प्रवेशद्वार, पार्कीङ लगायतका संरचना सहित तीन तलाको विद्युतीय भ¥याङ सहितको अस्पताल निर्माण हुने छ ।

बागलुङ नगरपालिकाको रायडाँडा, पैयुपाटा, अमलाचौर र नारायणस्थनका बासिन्दालाई अस्पताल निर्माण संगै स्वास्थ्य सेवा लिन सहज हुँने गरी नगर अस्पताल घोषणा गरिएको नगर स्वास्थय शाखा प्रमुख राम प्रसाद खनालले जानकारी दिनुभयो । खनालका अनुसार अस्पतालमा एमडिजिपि सहित तीन जना चिकित्सक आवश्यक रहेपनि अहिले मेडिकल अधिकृत समेत राख्न नसकिएको बताउनुभयो । नगरपालिकाले दुई पटक चिकित्सकका लागि आवदेन खुलाउदा समेत समृत डाक्टर राख्न नसकिएको खनालको भनाई छ ।

स्थानीयको रु. नौ रोपनी जग्गा नगर अस्पतालका नाममा पास गरेपछि अस्पताल निर्माण अघि बढेको थियो । ठेक्का सम्झौता भौगोलिक जटिलता, निर्माण सामाग्रीको अभाव तथा सडकमार्गको अबरुद्धका कारण भवन निर्माणले गति लिन नसकेको बताउदै भवन निर्माणको जिम्मा पाएको महालक्ष्मी जुगल जेभीका प्रतिनिधि नरेश ओझाले अब निर्माणले गति दिने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *