तीन करोडको स्वास्थ्यचौकी प्रयोग बिहिन


खेमराज गौतम, बागलुङ

स्वास्थ्य चौकीको प्राङ्गण चिरा–चिरा परेको छ । स्वास्थ्य चौकीको प्रवेशद्वारा अघि तितेपाती झार उम्रेको छ । छतमा गरेको प्लाष्टर उप्किएको छ भने केही विद्युतीय संरचनाहरु तोड/फोड समेत गरिएको छ ।

यो दृश्य बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–२ भिमापोखरा स्वास्थ्य चौकीको नव निर्मित भवनको हो ।

समयमै स्वास्थ्य चौकीको भवन सम्पन्न नहुँदा साँघुरो भवनबाट जनतालाई स्वास्थ्य सेवा दिन बाध्य भएको छ भिमापोखरा स्वास्थ्य चौकी । स्वास्थ्य चौकीका कोठामा एक वर्ष देखि ताला लगाइएको छ । ताला कस्ले लगाइएको हो भन्ने विषयमा समेत स्वास्थ्य चौकी र स्थानीय जनप्रतिनिधि अनविज्ञ रहेको पाइएको छ ।

स्वास्थ्य चौकीमा रङ्ग रोगन गरेपनि च्यानल गेट, तारबार, झ्याल र सिसाको काम अझै बाँकी रहेको काठेखोला गाउँपालिका–२ भिमापोखराका वडा अध्यक्ष विद्यापती शर्माले जानकारी दिनुभयो ।

“एक वर्षदेखि स्वास्थ्य चौकी यो अवस्थामा रहँदा जनतालाई स्वास्थ्य सेवा भने पुरानो भवनबाट प्रदान गर्न बाध्य भइरहेका छौं, आर्थिक वर्ष २०७५÷७६ बाट बन्न थालेको भवन एक वर्ष देखि प्रयोग बिहिन छ,” शर्माले भन्नुभयो “भवन हस्तान्तरण भए वडालेनै लगानी गरेर मर्मत गरेर सेवा दिन सक्थ्यो, यहाँ त न भवन हस्तान्तरण हुन्छ नत सम्पन्न नै, भवनको गुणस्तरमा समेत समस्या देखिएको छ ।”

यस विषयमा गाउँपालिकामा समेत पटक–पटक कुरा उठेकाले गाउँपालिकाले स्वास्थ्य चौकी छिट्टै सञ्चालन गर्ने आश्वासन दिएको छ । घर अघि भवन ठडिएको एक वर्ष भयो, तर स्वास्थ्य सेवा पुरानै भवनबाट दिइएकाले नागरिकलाई समस्या भएको स्थानीय भक्तिनाथ गौतमले गुनासो गर्नुभयो ।

भवन हस्तान्तरण नहुँदा पुरानै भवनबाट सेवा दिन बाध्य भएको स्वास्थ्य चौकीका इन्चार्ज आषिस सापकोटाले जानकारी दिनुभयो । सापकोटाका अनुसार ६ जना दरबन्दी रहेको स्वास्थ्यचौकीमा अहिले तीन जना मात्रै कार्यरत रहेको बताउनुभयो ।

दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा एक वर्ष देखि बर्थिङ सेवा ठप्प रहेको सापकोटाको भनाई छ । “भवन साँघुरो छ, प्रशासनीक कक्ष छैन, निर्माण भएको भवन निर्माण व्यवसायीले नबुझाउदा सेवा दिन पाइएको छैन, भवन सम्पन्न समेत नभइसकेको देखिन्छ, ठेकेदारले काम छोडेर गयको गाउँपालिकाले बताउदै आएको छ, दुई पटक ठेक्का लगाएको भन्ने सुनिन्छ ।”

काठेखोला गाउँपालिकाका इन्जिनियर बिनोद लामिछानेका अनुसार स्वास्थ्य चौकीको भवन तत्कालै सेवा दिनेगरी गाउँपालिकाले कदम चाल्ने जानकारी दिनुभयो । स्वास्थ्य चौकी भवन निर्माणमा केही समस्या देखिएको बताउदै लामिछानेले निर्माण व्यवसायीसंग परामर्श गरेर भवन निर्माणमा देखिएको त्रुटी सञ्चाएर भवन हस्तान्तरण गर्ने बताउनुभयो ।

रु. तीन करोड लागतमा संघीय सरकारको बजेटमा निर्माण गरिएको भवनबाट गुणस्तरीय स्वास्थ्य सेवा दिनेगरी गाउँपालिकाले निर्माण व्यवसायीसंग परामर्श गरिरहेको छ ।

“ठेकेदारले काम छोडेको अवस्था हो, बजेट समेत गत असारमै फ्रिज भइसक्यो, बैंक धरौटी रकमबाटै भएपनि भवन मर्मत गरेर स्वास्थ्य सेवा दिने हाम्रो योजना छ, भवन निर्माणमा देखिएका समस्या सच्चाउने र बंैक धरौटी रकम कटौती गर्न पालिका पछि पर्दैन” अधिकारीले भन्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *