उर्जा सम्मेलन, नेपाल र अपेक्षा

सम्पादकीय
नेपाल प्राकृतिक स्रोत साधनले भरिपूर्ण छ । यद्यपि, त्यसको उपयोगका विषयमा भने राज्य स्तरबाट यथोचित कदम चाल्न नसक्दा देशले अपेक्षित विकास र परिवर्तनको गति पक्रिन सकिरहेको छैन । नेपाल जलस्रोतमा त विश्वमै दोस्रो धनी देश हो । भलै यति धेरै जलस्रोतको यथेष्ट उपयोग गर्ने राज्यको न त राम्रो नीति, योजना छ, न त भएका नीति, योजनाको कार्यान्वयनमा गम्भिरता नै । जसका कारण देश बिभिन्न हिसाबले अब्बल हुँदा हुँदै पनि परनिर्भरतामा गुज्रिरहेको छ । सत्ता बाहिर हुँदा राम्रा र मिठा कुरा गरेर सत्ताको आसनमा पुग्दा पुरै बदलिएर देश र जनताका मुद्धा बिर्सिने प्रवृत्ति हिजोका दिनमा जस्तो थियो, आजको व्यवस्था र दिनमा पनि करिब उस्तै उस्तै प्रवृत्ति व्याप्त देखिन्छ । व्यवस्थाहरुमा जति चामत्कारिक परिवर्तन आयो, अवस्थामा परिवर्तन ल्याउने कुरामा राज्य, राजनीतिक दल र नेताहरु बिफल प्रायः छन् ।

यद्यपि, नेपालमा पछिल्लो केही वर्ष यता केही क्षेत्रमा भने उल्लेख्य सुधार र परिवर्तन भएका छन् । जसमध्येको एक हो उर्जा अर्थात् विद्युतको क्षेत्र । चरम अन्धकार, लोडसेडिङको सास्ती र सकस भोगिरहेको नेपाल र नेपालीलाई अहिले भने पहिलेको सास्ती केही छैन । विद्युतका क्षेत्रमा तिब्रतर गतिमा सुधार भइरहेको छ । यही क्रममा काठमाडौंमा दुई दिने उर्जा सम्मेलन सुरु भएको छ । ‘हरित उर्जाको बजार विस्तारिकरण’ गर्ने मुख्य अभिप्रायले आयोजित सम्मेलमा भारत, बंगलादेश, भुटान, श्रीलंका लगायत ३० भन्दा बढी देशका ३ सय अन्तर्राष्टिय प्रतिनिधिहरु सहभागी छन् । यसमा उर्जा, जलस्रोत, सिञ्चाई मन्त्रालयका उच्च अधिकारीहरु, पावर ट्रेडिङ कम्पनी, विद्युत उत्पादक, वित्तीय संस्था, प्रसारण तथा वितरण कम्पनी, परामर्शदाता कम्पनीहरु लगायत उर्जा क्षेत्रका सरोकारवाला पनि सहभागी हुनेछन् । अर्को सुखद कुरा यही सम्मेलनमा नेपाल जलबिद्युत आयोजना र भारतीय क्रेताबीच प्रत्यक्ष बिद्युत खरिद सम्झौता, नवीकरणीय उर्जा विकास र बजार विस्तारका लागि एमओयूमा हस्ताक्षर समेत हुनेछ ।

अहिलेको आर्थिक मन्दीका बिच नेपालमा जे उद्धेश्य र अभिप्रायले उर्जा सम्मेलन आयोजना गरिएको छ, त्यस हिसाबले यो कदम र कार्यक्रम सकारात्मक छ । अब उर्जा सम्मेलनमा विद्युतको लागत घटाउने विषयमा बिभिन्न देशको अनुभव आदान प्रदान हुनेछ । जुन नेपालको उर्जा क्षेत्रको बजार विस्तारमा कोशेढुंगा पनि बन्न सक्नेछ । तर, यी र यस्ता कैयन सम्मेलन र कार्यक्रमहरु केबल औपचारिकता, कर्मकाण्डी जस्ता पनि देखिने गरेका छन् । सरकारी स्रोत यस्ता कार्यक्रम गरेर बालुवामा पानी जस्तो भएको दर्जनौ दृष्टान्त छ । अतः यस उर्जा सम्मेलन हर हिसाबले छलफल मन्थन हुन सकोस्, त्यसमा उठेका सवाल, भिजनहरुबाट नेपालले उर्जा क्षेत्रमा थप चुस्त योजनावद्ध विकास र विस्तारको खाका कोर्न सक्नुपर्छ । अन्यथा, यो केबल नियमितता र कर्मकाण्डमै सीमित भएको मानिनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *