सम्पादकीय
कोरोना पछि विश्व समुदायलाई पटक पटक प्रभावित तुल्याइरहेको रोग हो डेंगु । यो एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो । लामखुट्टेको टोकाइबाट सर्ने डेंगुबाट गत वर्ष कयौंले अकालमै ज्यान गुमाउन समेत बाध्य बने । कतिले लामो समय स्वास्थ्यको सकसपूर्ण समय व्यतित गर्न बिबश बने । नेपाल पनि यो समस्याबाट केही वर्ष यता प्रताडित छ । अहिले पनि डेंगुको संक्रमण क्रमशः फैलिरहेको छ । पछिल्लो १५ पुस देखि हाल सम्मको तथ्यांक हेर्दा ५२ जिल्लामा डेंगुको संक्रमण देखिएको छ । यसवर्ष जाडो याममा समेत संक्रमण शून्यमा नझरेको डेंगु फेरि बढ्ने खतरा सर्वत्र देखिएको छ । गत वर्ष असारदेखि फैलिएको डेंगु यसवर्ष बर्खा मौसम सुरु नहुँदै फैलिन थालेको छ ।
अंग्रेजी वर्षको जनवरी १ देखि अहिले सम्मको तथ्यांक हेर्दा ५ सय १ जना डेंगु संक्रमित भइसकेका छन् । काठमाडौं उपत्यका सहित छिमेकी जिल्ला म्याग्दी लगायतका १ सय १२ पालिकामा डेंगु संक्रमण छ । पछिल्लो २०२२ को तथ्यांक अनुसार ५४ हजार ७ सय ४ जना संक्रमित बनेकोमा ८ जनाले त ज्यान नै गुमाए । अझ समुदाय स्तरमा फैलिएको संक्रमणको गणना गर्ने हो भने गत वर्ष झण्डै २ लाख संक्रमित बनेको अनुमान छ । संक्रमित र मृत्युको संख्या नेपालमा डेंगु संक्रमण सुरु भए पश्चात सन् २००४ यताकै धेरै हो । जाडो र त्यसपछिका साढे तीन महिनामा करिब पाँच सय मानिसमा डेंगु देखिनुले अबको महिनामा स्वतः संक्रमणको जोखिम बढेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको ठम्याई छ । किनकी जाडो मौसममा पनि डेंगु शून्य अवस्थामा नपुग्नुले लामखुट्टेले प्रशस्त मात्रामा अण्डा पारिरहेको विज्ञहरुको आँकलन छ । लामखुट्टेले पारेको अण्डा पानी पर्ने समय नआए सम्म सुरक्षित रहने भएकाले १० महिना सम्म जम्मा भएर बसेको अण्डा पानी पर्न साथ हुर्कन थाल्छन् । अब प्रि मौसम सुरु भएर गर्मी बढ्ना साथ अण्डाहरु लार्भा, प्युपा हुँदै लामखुट्टे बन्नेछन् । विगतमा पनि यही क्रम दोहोरिदा डेंगुले हजारौ नागरिकलाई समस्याग्रस्त बनायो । यसपटक पनि सरकारले समयमै रोकथाम र सचेतनाका कार्यक्रम सञ्चालन नगर्ने हो भने संक्रमणको खतरा बढ्नेछ ।
डेंगुलाई सरकारले अघिल्लो वर्ष कम आँकलन गर्दा या आवश्यक तयारी नगर्दा महामारीको रुप लिएको थियो । डेंगु नियन्त्रण रोकथाममा सरकारी संयन्त्र पुरै बिफल प्रायः भयो । काठमाडौं उपत्यकामै अस्पतालमा उपचारका लागि शैया अभाव भयो । समयमै उपचार सेवा नपाएर कतिको ज्यान गयो । यसवर्ष पनि सरकार पुरानै नियतिबाट गुज्रिने खतरा देखिन्छ । अघिल्लो वर्ष डेंगु नियन्त्रणमा स्थानीय तहलाई बजेट पठाएको सरकारसँग यसवर्ष त डेंगुका लागि बजेट पठाउने अवस्था समेत छैन । अर्को तर्फ तत्काल लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान जरुर चलाउनु पर्ने आवश्यकता छ । यसमै सरकार चुक्ने हो भने निःसन्देह डेंगुले अबको बर्खा याममा महामारीकै रुप लिन सक्नेछ । डेंगुको खतरा भनेको यसको कुनै खास उपचार नै छैन । डेंगुका बिरामीले चिकित्सकीय सल्लाह अनुसार स्वास्थ्य र खानपानमा ध्यान दिनुपर्छ । डेंगुको सम्भावित जोखिमयुक्त स्थानको पहिचान गरी समयमै सरकार र सम्बन्धित निकायले आवश्यक पहलकदमी र सचेतना फैलाउनु पर्छ । र हरेक नागरिकले आफु र आफ्नो परिवारका सदस्यलाई लामखुट्टेको टोकाइबाट बच्न बचाउन यथेष्ट सुरक्षा सजगता अपरिहार्य अपनाउनु पर्दछ ।