सहकारीमा देखिएका समस्या समाधानका लागि पहल भैरहेको छ : जिल्ला सहकारी संघ

आदर्श अनलाइन, बागलुङ
जिल्ला सहकारी संघ लिमिटेड बागलुङले समस्या देखिएका सहकारीका सञ्चालक र व्यवस्थापनसंग समस्या समाधानका विषयमा छलफल भैरहेकोले धैर्यता गर्न सरोकारवालाहरुलाई आव्हान गरेको छ ।

जिल्लाका केही सहकारीमा बचत फिर्ताको समस्या देखिएपछि आज बिहान बसेको जिल्ला सहकारी संघको आकष्मिक बैठकले समस्या आएका सहकारीका सञ्चालकहरुसंग बसेर बचत फिर्ताको वातावरण बनाउन निरन्तर पहल गर्ने निर्णय गरेको हो ।

पछिल्लो समय शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था र इमेज बचत तथा ऋण सहकारी संस्थामा बचत फिर्ताको समस्या आएको छ, हामीले दुवै सहकारीका सञ्चालकहरुसंग समन्वय गर्ने प्रयत्न गरेका छौ, शिव शिखरको टिम सम्पर्क आउन चाहिरहेको छैन, इमेजका सञ्चालकहरुसंग नियमित सम्पर्क र छलफल भैरहको छ, जिल्ला सहकारी संघका अध्यक्ष हुमा कुमारी जिसीले भन्नुभयो,–‘सदस्यहरुको वचत जोखिममा पर्न नदिनका लागि हाम्रो प्रयास निरन्तर जारी छ, र इमेजको टिमले प्रतिवद्धता पनि व्यक्त गरेकोछ, सदस्यहरुको रकम डुब्न नदिन हामीले थप पहल गर्नेछौ ।’

समस्या देखिएका सहकारीहरुमा नियमित छलफल गरी सदस्यको रकम डुब्न नदिन पहल भैरहेको र अन्य सहकारी संस्थाहरुलाई समेत सदस्यहरुकाबीचमा गएर नियमित सम्पर्क गर्न, सहकारी सचेतनाका कार्यक्रम सञ्चालन गर्न, जिल्ला सहकारी संघ लगायत सरोकारवालाहरुसंग समन्वय गरेर काम गर्न वैठकले निर्देशन दिने निर्णय गरेको जिल्ला सहकारी संघका सचिव तेज प्रसाद शर्माले जानकारी दिनुभयो ।

बिहान बसेको संघको बैठकपछि संघका अध्यक्ष हुमा कुमारी जि.सी.
(अञ्जु) ले एक विज्ञप्ती प्रकाशित गरी देशभर वित्तीय क्षेत्रमा देखिएको तरलता अभावको असर सहकारी क्षेत्रमा पनि परेको र कतिपय सहकारीहरुले वचत फिर्ता गर्न नसकेको विषयप्रति संघको गंभिर ध्यानाकर्षण भएको जनाउनु भएको छ ।

संघले सम्पूर्ण सहकारी संघ संस्थाहरुलाई सदस्यहरुले संस्थामा गरेको शेयर लगानी र वचतलाई सुुरक्षित गर्न, संस्थालाई विधिसम्मत रुपमा सञ्चालन गर्न, शेयर सदस्यहरुलाई नियमित रुपमा सहकारी सम्बन्धी सचेतना प्रदान गर्न, सदस्यहरुसंग नियमित सम्पर्क गरी संस्थाको विषयमा पारदर्शी रुपमा जानकारी गराउन तथा समस्या सिर्जना भएपछि सदस्यहरुलाई रकम सुरक्षित रहेको प्रतिवद्धता र विश्वासको वातावरण सिर्जना गर्न सहकारी संस्थाका सञ्चालक समिति र व्यवस्थापनलाई आग्रह गरेको छ ।

सहकारीहरुले आफ्ना सदस्यहरुसंग वचत संकलन गर्ने र संकलन गरेको वचत रकमको ८०प्रतिशतसम्म कर्जा लगानी गर्ने प्रावधान रहेको, सदस्यहरुबाट संकलित वचतको १० देखि १५ प्रतिशत रकम तरलतामा राख्ने र अरु ऋण लगानी गरिने गरेको, तोकिएको तरलता रकम भन्दा बढी रकम एकै पटक फिर्ता गर्न आउदा जुनसुकै संस्थाले पनि फिर्ता दिन नसक्ने अवस्था हुने भएकाले सम्पूर्ण शेयर सदस्यहरुलाई एकैपटक सबैजना बचत फिर्ता लिन आउने वातावरण नबन्नेतर्फ सचेत रहन आव्हान गरेको छ ।

सहकारी संस्थामा कारोबार गर्दा शेयर सदस्य बनेर मात्र कारोबार गर्न, संस्थाका सञ्चालकहरु को को हुन भन्ने पहिचान गरेर, संस्था विधिसम्म्त चले नचलेको जानकारी लिएर तथा संस्थाले संकलन गरेको रकम आफ्ना शेयर सदस्यहरुलाई ऋण लगानी गरे नगरेको पहिचान गरेर कारोबार गर्न समेत संघले अनुरोध गरेको छ ।

अर्थतन्त्रमा देखिएको वर्तमान चुनौतीलाई ध्यानमा राखेर सदस्यहरुले धैर्यतापूर्वक कारोबार गर्न, सहकारीको सदस्य बन्नु भनेकै संस्थाको दायित्व बहन गर्ने, नीति निर्माणमा समेत सहभागी हुनु भएकाले सदस्यहरुले संकटमा संस्थालाई ंस्थाजोगाउन सहयोग गर्न समेत संघले सदस्यहरुलाई आव्हान गरेको छ ।

साथै संघले विश्वव्यापी रुपमा देखिएको आर्थिक संकुचन सहकारी क्षेत्रमा मात्रै होइन, समग्र क्षेत्रमा देखिएको, कतिपय विधिसम्मत सञ्चालन नभएका सहकारीका कारण सिंगो सहकारी अभियानलाई नै बदनाम गर्ने मनसायले गैर कानुनी क्रियाकलाप हुन थालेको भन्दै स्थानीय तह र स्थानीय प्रशासनलाईसंवेदनशिल हुन समेत अनुरोध गरेको छ ।

केही व्यक्ति तथा समुहले सहकारीको ऋण नतिर्न खुल्ला रुपमा अफवाह फैलाएको विषयमा राज्यको ध्यानाकर्षण गराउदै सहकारीका विरुद्ध गैर कानुनुी क्रियाकलाप गर्ने व्यक्तिहरुलाई कार्वाहीगर्न तथा यस्ता घटना हुन नदिनका लागि राज्यबाट सहकारी संघ संस्था, कर्मचारी, सञ्चालक तथा सदस्यको सुरक्षाको पूर्ण प्रत्याभूति गराउन संघले आग्रह गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *