सम्पादकीय
गण्डकी प्रदेश प्राकृतिक स्रोत, साधन र सुन्दरताले जति सम्पन्न र शक्तिशाली छ । अब परिचय त्यतिमा मात्र सीमित रहने छैन । देशका ७ प्रदेश मध्ये सबै भन्दा बढी अस्थिर र फोहोरी खेलिने प्रदेशमा पनि गण्डकी प्रदेश दर्ज छ । अघिल्लो कार्यकालमा सुरुवाती दुई वर्ष उत्कृष्ट कार्य गरेर देशमै पृथक परिचय बनाएको गण्डकी प्रदेश सरकार त्यस यता निरन्तर धर्मरायो । पटक पटक सरकार जोगाउन र ढलाउन अनेकन हर्कत गरियो । सांसदहरु एकाएक गुमनाम हुनेदेखि अस्पतालको आइसियूमा भर्ना भएको प्रकरणले सिंगो संसदीय व्यवस्था र संघीयता बदनाम भयो । प्रदेश सरकार र संरचना प्रति थप बितृष्णा बढ्यो । फलतः यी र यस्तै गतिविधि, पात्र र प्रवृत्तिहरुले संघीयताको विपक्षमा जनमत बढेको छ । प्रदेश सरकार र संरचना खारेज गरेर केन्द्र र स्थानीय तह मात्र राख्नुपर्ने आवाज बढ्दो छ । अहिले पनि गण्डकी प्रदेश सरकार बनेको हनिमुन अवधि काट्न साथ सरकार ढल्ने अवस्थामा पुगेको छ ।
हामीकहाँ संघीय अभ्यास भए पनि प्रदेश र स्थानीय सरकार केन्द्र सरकारकै निर्णय र गतिविधिबाट पूर्णतः प्रभावित छ । नेपाली राजनीति तरंगित हुने गरी माओवादी एमाले समीकरणमा नयाँ सरकार बन्यो । कांग्रेस, एकीकृत समाजवादी लगायतका चुनावमा गठबन्धन गरेका दल किनारा लागे । तर, त्यसको तीन महिना पुरा नहुँदै राष्ट्रिय राजनीतिमा फेरि नयाँ बदलाव आयो र संघीय सरकार ढल्यो । राष्ट्रपति निर्वाचन सम्म आइपुग्दा पुनः माओवादी कांग्रेस लगायतकै गठबन्धन बन्यो । जसबाट एमाले सरकारबाट बाहिरियो भने प्रदेश तहमा माओवादी कांग्रेस गठबन्धनको सरकार बन्ने बनाउने चरणमा छ । त्यही केन्द्रीय राजनीतिको प्रभावका कारण गण्डकी प्रदेशमा पनि सरकार बनेको १ सय ४ दिनमै बदलिने निश्चित भएको छ । नेकपा एमालेबाट मुख्यमन्त्री बनेका खगराज अधिकारीले विश्वासको मत पाएनन् । ३० सांसदको समर्थन पाउनु पर्नेमा एमालेका २२ र राप्रपाका २ गरेर जम्मा २४ मत पाए । कांग्रेसको २७ र माओवादीको ७ गर्दा स्पष्ट बहुमत गठबन्धनको पक्षमा छ । अब सत्ता गठबन्धनको सहमति अनुसार कांग्रेस माओवादीले आलोपालो मुख्यमन्त्री सम्हाल्नेछन् । पहिलो चरणमा कांग्रेसबाट गोरखाका सुरेन्द्र पाण्डे मुख्यमन्त्री बन्नेछन् । सहमति यदि कार्यान्वयन हुने विन्दु सम्म गठबन्धन पुग्यो भने दोस्रो चरणमा माओवादीका हरिबहादुर चुमान मुख्यमन्त्री बन्नेछन् ।
नेपाली राजनीतिको बिडम्बना या दुर्भाग्य भन्नुपर्छ, कुनै एक दललाई प्रष्ट बहुमत छैन । फलस्वरुप बिभिन्न राजनीतिक दल मिलेर मात्र सरकार बन्ने अवस्था छ । प्राप्त जनमतका आधारमा यसअघि माओवादी एमाले सरकार बन्यो । यो तीन महिना पुरा हुँदै गर्दा ढलेर माओवादी कांग्रेस सरकार बन्दैछ । सरकार जुनसुकै दलले बनाउन्, जो सुकै मुख्यमन्त्री मन्त्री बनुन् । त्यो चिन्ताको विषय होइन, चिन्ताको विषय त यो हो कि यसरी ३, ३ महिनामा सरकार बदलिने राजनीतिले हाम्रो देश, प्रदेशको विकास, समृद्धि कहिले हुन्छ ? यस्तो अभ्यासले केबल नेताहरुलाई क्षणिक समय भए पनि मान पदवी मिल्छ । सत्ता स्वार्थमा रमाउने र अनेकन लाभ उठाउने अवसर हुन्छ । त्यसबाहेक देश र जनताको हित हुने कुरा गौण बन्दै आइरहेको छ, सरकार र राजनीति अस्थिर हुँदा साथ स्वभाविक त्यसको असर पर्छ । अतः गण्डकी प्रदेशमा अब फेरि सत्ताको फोहोरी खेल खेलेर प्रदेशलाई अस्थिर बनाउने काम नहोस् ।