फेरी साँघुरो बाटोको यात्रामा !

सम्पादकीय
हाम्रो समाज संकुचनबाट चल्यो । जसको शक्ति, उसको भक्ति भन्ने उखान लामै समय चरितार्थ भयो । शक्ति आड लाउनेहरुले आफ्नो स्वार्थ अनुकुल सत्ता र त्यसको उच्च पदमा पुगेकाहरुबाट प्रत्यक्ष परोक्ष लाभ लिइरहे । सामान्य सर्वसाधारण नागरिक अवसर र सेवाको लाभबाट किनारामा परिरहे । संकिर्ण सोच र साँघुरो दायराबाट बाहिर आउन निकै कठिन भयो । अर्थात पुरानो ती समाज विकासका बाधक बनेका संकुचित पर्खालहरु तोड्न ठुलै आन्दोलन र अभियानको आवश्यकता प¥यो । जसका लागि कैयनले ज्यान समेत गुमाए । सैयनले आफ्ना व्यक्तिगत, पारिवारिक खुशी र सुखहरु त्याग गरे । आज समाज र देश प्रतिको दायित्व, एकताको भावनाको गठजोडमा व्यवस्था परिवर्तन भयो तर अवस्था र प्रवृत्ति उस्तै ?

यसको पछिल्ला अवस्था र प्रवृत्ति बुझ्न केही उदाहरणहरु काफी छन् । बागलुङ बजार पुरानो शहर हो । जतिबेला यो बजार बन्दै थियो । त्यसबेला नै बजार व्यवस्थित, यहाँका सडक, भवन निर्माणका बैज्ञानिक मापदण्ड बनेका भए आज यो शहर सुन्दर शहर बजारका रुपमा स्थापित हुने थियो । हामीले त्यो सौभाग्य प्राप्त गर्न सकेनौ । देउराली चोक जस्तो साँघुरो बाटो, चोक, गल्लीहरुमा सकसको यात्रा गर्नुपर्ने मनोदशामा बाँच्नुपरेको छ भने अर्को तर्फ बजार कुरुप जस्तो देखिने तर यो शहरमा अब सजिलो निर्णय र प्रयत्नबाट सुन्दर सुसज्जित बजार बनाउन नसकिने बिद्यमान अवस्था पनि देखिएको छ । यति मात्र होइन, हाम्रो समाजमा जे जस्तो व्यथिति विगतमा थियो । त्यो अझै बिद्यमान छ । फलस्वरुप अहिले बागलुङ नगरपालिकामा समावेश भएका बलेवा क्षेत्र होस् या सिगाना, तित्याङ, भकुण्डे र रायडाँडा किन नहोस् । ती ठाउँहरुमा भोली व्यवस्थित बजार या गाउँ बन्ने बनाउने हो भने अहिले देखिनै दीर्घकालिन योजना आवश्यक हुन्छ । त्यसका लागि नगरपालिकाका तर्फबाट केही प्रयास शुरुवात पनि भएको थियो । १० मिटरको सडक मापदण्ड अहिले ७ मिटरमा झरेको अवस्था छ । अहिले नै किन फराकिलो बनाउने ? जतिबेला आवश्यक हुन्छ, त्यही बेला गर्नुपर्छ भन्ने कमजोर तर्कका बलमा एउटा व्यवस्थित विकास रोकिने अवस्था छ । सडक मापदण्ड, भवन निर्माण मापदण्डहरु नागरिककै चर्को दबाबका बीच फेरी जनप्रतिनिधि लचक निर्णय गर्नुपर्ने अवस्थामा पुगेका छन् । यो वर्तमान समाजको बिडम्बनापूर्ण क्षण र अवस्था हो ।

जिल्लाका बलेवा एउटा व्यवस्थित बजार बन्ने सम्भावना राख्छ । त्यसमा आजको व्यवहारिक समस्याको कारण र बाहनामा भोलीको सुन्दर बजार बन्ने सम्भावनालाई लचकता अपनाएर बन्देज लगाउनु हुँदैन । अरु भुगोल अनुसारका गाउँ ठाउँहरुलाई पनि त्यही किसिमको तत्कालिन र दीर्घकालिन योजना आवश्यक जरुर देखिएको छ । बरु अहिले नै त्यो योजनावद्ध विकासको खाका कोरिनुपर्छ । नागरिकलाई सके सम्म भोलीको सुन्दर भविष्य र योजनाबारे बुझाउनु पर्छ । यदी सहज हिसावबाट प्रयास गर्दा हाम्रो व्यथितिग्रस्त समाजमा केही अवरोधहरु देखिए भने पनि भोलीका लागि जर्बजस्त विकासको दुस्साहस पनि जरुरी हुन सक्छ । त्यसका लागि हाम्रा जनप्रतिनिधिहरु पनि तयार हुनुपर्छ । अरु कर्मचारी र नागरिकहरुमा पनि त्यसका लागि तयार हुनुपर्छ । हामीले हाम्रो भावी पुस्तालाई कुरुप शहर गाउँ दिने की सुन्दर, र व्यवस्थित गाउँ शहर हस्तान्तरण गर्ने त्यो हाम्रै हातमा छ । हिजोका हाम्रा अग्रज राजनीतिकर्मी, नेता र उच्च पदस्थ व्यक्तिहरुले योजनावद्ध रुपमा विकास नसोचिएका कारण अर्थात बजारवासी बजारकोे भविष्य भन्दा पनि हात हातको घडेरीको हिसाव किताव गर्दा जस्तो संकुचन र समस्याहरु देखिएका छन् । त्यसबाट निश्चय पनि हामीले पाठ सिकेर सामाजिक उत्तरदायित्वको भावना सहित सामुहिक पहल र प्रयत्न गरिनुपर्छ । विगतका संकिर्ण सोच र योजनाको दायरालाई फराकिलो बनाउने कुरामा कोही पनि चुक्नुहुँदैन । -जागरण दैनिकबाट

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *