दलका सहकारी विभागका नेताहरु भन्छन्, : राज्यले सहकारीको अभिभावकत्व ग्रहण गर्नुपर्छ

आदर्श अनलाइन, बागलुङ
राजनीतिक दलका सहकारी विभागका नेताहरुले सहकारी क्षेत्रमा उत्पन्न समस्या समाधानका लागि राज्यले अभिभावकत्व प्रदान गर्नु पर्नेमा जोड दिएका छन् । सहकारीका समस्या समाधानका लागि पहल गर्र्ने प्रतिवद्धता पनि नेताहरुले गरेका छन् ।

राष्ट्रिय सहकारी महासंघद्वारा गठित सहकारी समस्या समाधान संयोजन समितिको आयोजनामा बैशाख १३ गते राजधानीमा भएको दलका सहकारी विभागका नेताहरुसँगको अन्तक्रियामा नेताहरुले सहकारीको विषयमा ऐक्यवद्धता जनाएका हुन् ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव लिलामणि पाख्रेल, नेकपा एमालेका सहकारी विभागका उप– संयोजक निर्मल भट्टराई, नेपाली कांग्रेसका केन्द्रीय सदस्य राधा घले, नेकपा एकीकृत समाजवादीका सहकारी विभाग प्रमुख गोविन्द्र प्रसाद कोइराला, नेपाल समाजवादी पार्टीका राजन गोतामे, राप्रपाका सचिव धु्रव प्रसाद खनाल, राष्ट्रिय प्रजातन्त्र पार्टी सहकारी समन्वय विभागका प्रमुख सुदर्शन थापालगायतले अन्तक्रियामा सहकारी अभियानको हितका लागि आ आफ्नो दलबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

नेपालको संविधानले सहकारीलाई अर्थतन्त्रको एउटा महत्वपूर्ण खम्बाका रुपमा लिएकाले राजनीतिक दलहरु सहकारीको प्रवद्र्धन र विकासका लागि जिम्मेवार बनेर काम गर्ने उहाँहरुको भनाइ थियो ।

वित्तीय क्षेत्रमा देखिएको विषम परिस्थितिमा सरकारले सहकारी क्षेत्रलाई प्राथमिकतामा राखेर आवश्यक निर्णय गर्नुपर्ने महासंघका अध्यक्ष मिनराड कडेलले बताउनुभयो । महासंघका वरिष्ठ उपाध्यक्ष तथा संयोजन समितिका संयोजक ओमदेवी मल्लले देशभरिका सहकारीकर्मीसँग सुझाव संकलन गरेर राज्यलाई सहकारी अभियानकोतर्फबाट माग पत्र बुझाउने तयारी भैरहेकाले दलहरुबाट आवश्यक सहयोगको अपेक्षा गरेको बताउनुभएको थियो । अन्तक्रियामा सरकारले सहकारीको अभिभावकत्व ग्रहण गर्नुपर्ने, सकारात्मक सन्देश प्रवाहका लागि जागरण अभियान संचालन गर्नुपर्ने, राष्ट्रिय सहकारी बैंक मार्फत परिचालन हुनेगरी सरकारले सहुलियत पूर्ण कर्जा दिनुपर्ने, सदस्यको बचत सुरक्षाको प्रत्याभुति हुने वातावरण सिर्जना गर्नुपर्ने, कर्जा असुलीमा राज्यले सहजीकरण गर्नुपर्ने, सहकारीका संचालक र कर्मचारीलाई निर्धक्कसाथ संस्था संचालन गर्न निर्भय वातावरण सृजना गर्नुपर्ने लगायतका मागहरु राख्नुपर्ने विषयमा छलफल भएको थियो ।

कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष केशव बडाल, उपाध्यक्ष रमेश पोखरेल, महासंघका संचालक तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेती, संचालकहरु शिव डाँगी, राजेन्द्र पौडेल, नेफ्स्कुनका अध्यक्ष परितोष पौडेल, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, जडिबुटी केन्द्रीय सहकारी संघका अध्यक्ष ईश्वर प्रसाद पाण्डेलगायतको सहभागिता रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *