देशभरका सहकारीकर्मीबीच अन्तरक्रिया ‘ऐन कार्यान्वयनका लागि सरकारसंग दरिलो सम्वाद गरौ’

आदर्श अनलाइन, बागलुङ

मुलुकभरका सहकारीकर्मीहरुले सहकारी ऐन २०७४ मा व्यवस्था भएका कर्जा सूचना केन्द्र लगायतका प्रावधान तत्काल लागु गर्नका लागि दरिलो सम्वाद गर्न नेतृत्वलाई सुझाव दिएका छन् ।

राष्ट्रिय सहकारी महासंघ नेपालले सहकारीका समस्या समाधान गर्नका लागि बनाएको संयोजन समितिले बिहीवार आयोजना गरेको भर्चुअल छलफल कार्यक्रमका सहभागीहरुले सरकारसंग सम्वाद गरी माग पुरा गर्न सुझाव दिएका थिए । सरकारले सहकारीका माग पुरा नगरे दवावमुलक कार्यक्रम समेत गर्नु पर्ने सहकारीकर्मीहरुको जोड थियो ।

पछिल्लो समय सहकारी क्षेत्रमा देखिएका चुनौतीलाई समाधान गर्नका लागि सरकारले कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधीकरण लगायतका व्यवस्था तत्काल कार्यान्वयन गर्नु पर्नेमा उनीहरुको जोड थियो ।

संविधानमा व्यवस्था भएको तीन खम्बे अर्थनीतिको एक खम्बा सहकारीलाई राज्यले उपेक्षा गरेको भन्दै सहभागीहरुले अलि सुन्ने गरी झकझकाउन सुझाव दिएका छन् । शान्तिपूर्ण रुपमा माग पुरा गर्नका लागि दिएको समय भित्र माग पुरा नभए देशभरका सहकारीकर्मीहरु आन्दोलन गर्न समेत पछि नपर्ने उनीहरुको भनाइ थियो ।

सहकारीका समसामयिक विषय र सहकारी अभियानको तर्फबाट भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, सहकारी विभाग, नेपाल राष्ट्र बैंक लगायतका निकायहरुमा पेश गर्ने मागहरुमा सुझाव संकलन गर्ने उदेश्यले भर्चुअल रुपमा छलफल कार्यक्रमको आयोजना गरिएको महासंघका वरिष्ठ उपाध्यक्ष तथा संयोजन समितिका संयोजक ओमदेवी मल्लले जानकारी दिनुभयो ।

देशभरका सहकारीकर्मीहरुको सुझावका आधारमा माग पत्रलाई पूर्णता दिएर सरकारलाई बुझाउने र माग पुरा गर्नका लागि १५ दिनको समय दिने तयारीमा छौ, मल्ले भन्नुभयो, हामीले दिएको समयसिमा भित्र सरकारले हाम्रा माग पुरा नगरे दोस्रो चरणका कार्यक्रम बनाएर थप दवाव दिने छौ ।

छलफल कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले छलफलबाट प्राप्त सुझावलाई समावेश गरेर माग पत्र सरकारका विभिन्न निकायमा बुझाउन लागिएको बताउनुभयो । कार्यक्रमको उद्देश्यका बारेमा जानकारी दिदै महासंघका सञ्चालक तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी.उप्रेतीले सहकारी क्षेत्रमा देखिएको विद्यमान समस्या समाधानका लागि सरकार गंभिर हुनु पर्नेमा जोड दिनुभएको थियो ।

माग पत्रका बारेमा संयोजन समितिका सदस्य तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामहरि बजगाईले जानकारी गराउनु भएको थियो । देशभरका सहकारीकर्मीहरुको सहभागिता रहेको कार्यक्रमको सञ्चालन महासंघका सञ्चालक तथा संयोजन समितिका सदस्य राजेन्द्र पौडेलले गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *