मंसिरमा सम्झौता, वैशाखमै फरफारक


आदर्श अनलाइन, बागलुङ
बागलुङ जिल्लाको जैमिनी नगरपालिकाले असारे विकासको अन्त्य गर्न थालेको छ ।
नगरपालिकाले चालु आर्थिक वर्षमा सञ्चालित अधिकांश योजना वैशाख महिनामै सम्पन्न गरिसकेको जैमिनी नगरपालिकाले जनाएको छ ।

नवनिर्वाचित जनप्रतिनिधि आएको पहिलो आर्थिक वर्षमानै नगरपालिकाले मंसिर भित्र सबै योजना सम्झौता गरिसकेको छ र वैशाखमै सबै योजना सम्पन्न गरिसकेको छ । नगरपालिकाले नीति तथा कार्यक्रममा समावेश गरेका सबै योजनाहरु मंसिर भित्रै सम्झौता गरेर वैशाखमै सम्पन्न गरेको जैमिनी नगरपालिकाले जनाएको छ ।

नगरपालिकामा पछि थप भएका तथा रकामान्तरण गरेका १० प्रतिशत योजना मात्रै अहिले कार्यान्वयनको चरणमा रहेको र अन्य सबै योजना सम्पन्न भएको जैमिनी नगरपालिकाका नगर उपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो ।

जैमिनी नगरपालिकामा चालु आर्थिक वर्षमा सञ्चालित ४०० योजना मध्ये अधिकांश योजनाहरु फरफारक गरिसकिएको शर्माले जानकारी दिनुभयो । नगरपालिकामा संघीय सरकार, प्रदेश सरकारबाट स्थानीय सरकारलाई प्राप्त साझेदारी र समपुरक योजनाहरुको समेत कार्यान्वयन भइसकेको छ ।

“नगरपालिकाले चालु आर्थिक वर्षको मंसिर मसान्त भित्रै सम्झौता गर्ने र वैशाख भित्रै योजना सम्झौता गर्ने उपभोक्ता समितिलाई आगमी वर्ष प्राथमिकताका आधारमा थप योजना दिने तर वैशाखमा योजना नसक्ने उपभोक्ता समितिलाई आगमी वर्ष बजेट नदिने नीति छ” नगर उपप्रमुख शर्माले भन्नुभयो “१० वटा वडा रहेको नगरपालिकामा सात वटा वडाका सबै योजनाहरु फरफारक भइसकेका छन्, तीन वटा वडाको पाँच योजनाको बजेट फ्रिज भएको हो ।”

नगरपालिकाको वडा नम्बर ८ मा ३ वटा, वडा नम्बर ७ मा १ वटा, वडा नम्बर ४ मा १ वटा मात्रै योजना असफल भएको र अन्य सबै वडाका योजना सम्पन्न भइसकेको छ । उपप्रमुख शर्माका अनुसार मंसिर पछि आवश्यकताका आधारमा थप गरेका योजना र रकामान्तर गरेका योजना बाहेक सबै योजना सम्पन्न भइसकेको छ । बाँकी रहेका बहुवर्षीय, सर्शत र साझेदारीका ५० योजना यही वैशाख मसान्त भित्र सकिने नगरपालिकाको भनाई छ ।

नगरपालिकाले योजनाको सही कार्यान्वयन, अनुगमन तथा दीगोपनलाई ध्यानमा राखेर योजना लगेर कार्यान्वयन गर्न नसकी बजेट फ्रिज गर्नेलाई आगमी वर्ष उक्त योजनामा बजेट नदिने, वर्षमा उत्कृष्ट उपभोक्त समितिलाई पुरस्कृत गर्ने र कार्यसम्पादनमा नगरपालिकाको एक शाखालाई उत्कृष्ट घोषणा गर्ने नगरपालिकाको भनाई छ ।

नगरपालिकाको दुर्गम क्षेत्र खोलाखानीमा सडक पु¥याइएको र आगमी दिनमा निर्माण गरिने सडकलाई दीर्घकालिन र पक्की बनाउने नगरप्रमुख नर बहादुर पुनले जानकारी दिनुभयो । नगरपालिका भित्र सञ्चालित १३ वटा दीर्घकालिन सडकका योजनालाई घुम्ती सडक पक्की बनाउने र थोरै भएपनि पक्की नाली बनाउनेगरी अगाडी बढिएको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *