सहकारीमा समस्या आउन नदिन सदस्य जागरुक बनौँ : जि.सी.

आदर्श अनलाइन, पर्वत
राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारी क्षेत्रमा आउन सक्ने समस्या समाधानका लागि शेयर सदस्यहरुको जागरुकता आवश्यक रहेको बताउनु भएको छ ।

पर्वतको जलजला गाउँपालिका वडा नं. ७ मिलनचोकमा सञ्चालित कृष्णगंगा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १५ औं स्थापना दिवसका अवसरमा शनिवार आयोजित शेयर सदस्यहरुसंगको अन्तरक्रिया कार्यक्रममा बोल्दै जिसीले यस्तो बताउनु भएको हो ।

No description available.

कृष्ण गंगा सहकारीमा १ हजार जना शेयर सदस्य हुनुहुन्छ, यो संस्था बनाएको, चलाएको सबै तपाईहरुले हो, यसलाई राम्रो बनाउने, सहज रुपमा सञ्चालन गर्ने वा भताभुंग पार्ने भन्ने कुरा तपाई सदस्यहरुको हातमा छ, बैकका सञ्चालक जिसीले भन्नुभयो,–‘कृष्णगंगा सहकारीलाई सपार्न र विगार्न अन्यत्रबाट कोही आउदैनन, यसका सञ्चालक, कर्मचारी र शेयर सदस्य चनाखो भए संस्थामा कुनै समस्या आउदैन ।

सहकारीले सदस्यसंग संकलन गरेको वचत संस्थाका शेयर सदस्यहरुलाई नै ऋण लगानी गर्ने हो, ऋण लैजाने सदस्यले तिरेको ब्याजबाट वचतकर्ताले ब्याज पाउने हो, सदस्यलाई लगानी गरेको ऋण नउठ्ने र वचत गरेका सदस्यहरुले वचत फिर्ताका लागि दवाव बढाउदा ऋणी सदस्यहरुलाई समस्या पर्ने भएकाले ऋण लगेर नतिर्ने सदस्यहरुलाई सचेत हुन उहाँले आग्रह गर्नु भयो ।

No description available.

सहकारीमा जम्मा भएको वचत रकममा सञ्चालकहरुले बढी आँखा लगाएर घरजग्गा र अन्य व्वसायमा लगानी गरेका कारण केही सहकारीमा समस्या आएको चर्चा गर्दै जिसीले सहकारीले आफ्ना सदस्यलाई ऋण लगानी गरेको छ भने समस्या नआउने बताउनुभयो ।

सहकारी ऐनको दफा ५० को ६ मा सहकारी संस्थाले सदस्यसंग संकलन गरेकोे वचत रकम सदस्यहरुलाई ऋण लगानी गर्न, नेपाल सरकारले जारी गरेको ऋणपत्र वा नेपाल राष्ट्र बैंकले जारी गरेको ट्रेजरी बिल खरिद गर्न बाहेक सम्पत्ती खरिद गर्न, पूर्वाधार निर्माण गर्न, कारोबारमा लगानी गर्न, कुनै फर्म वा कम्पनीमा लगानी गर्न नपाइने व्यवस्था गरेको छ, तर कतिपय सहकारीहरुले ऐनमा भएको व्यवस्था भन्दा विपरित सदस्यसंग वचत संकलन गरेर अन्यत्र लगानी गरेका कारण समस्या सिर्जना भएको उहाँले बताउनुभयो ।

सहकारी ऐनले सहकारी बैंकको शेयर खरिद बाहेक वचत रकमबाट कुनै पनि बैंक वा कम्पनीको शेयर खरिद गर्न नपाइने व्यवस्था गरेको समेत जिसीले बताउनुभयो ।

कार्यक्रममा संस्थाका सल्लाहकार जमुना आचार्यले सहकारी सदस्यहरुको हो, सदस्यहरु सहकारीका मालिक हुन, सदस्यहरुले आफु संस्थाको मालिक भएको अनुभूति गर्न सके सहकारीमा समस्या नआउने बताउनुभयो ।

सबै शेयर सदस्यहरुलाई आफ्नो संस्थाको बारेमा जानकारी लिन, सुझाव दिन तथा संस्थामा आउन सक्ने समस्यामा साथ दिन समेत आग्रह गर्दै आचार्यले सहकारीको मर्म र भावना विपरित काम गर्ने सहकारीहरुमा समस्या आएको बताउनुभयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष गोविन्दराज जैसी, उपाध्यक्ष रुद्रलाल उपाध्याय, सचिव भेषराज आचार्य र कोषाध्यक्ष बम बहादुर बरुवालले संस्थाको अवस्थाका बारेमा जानकारी गराउदै हल्लाका पछि नलागी निर्धक्क भएर संस्थामा कारोबार गर्न शेयर सदस्यहरुलाई आव्हान गर्नु भएको थियो ।

तपाइहरुले संस्थामा लगानी गरेको शेयर र वचत रकम सदस्यहरुमै लगानीमा छ, सदस्यमा लगानी भएको रकम सुरक्षित छ, त्यसैले निर्धक्क रहन आव्हान गर्दै उहाँहरुले संस्थामा आउन सक्ने समस्याको समाधानका लागि सहयोग गर्न समेत आग्रह गर्नुभयो ।

९ सय ८० जना शेयर सदस्य रहेको कृष्णगंगा बहुउद्देश्यीय सहकारी संस्थामा ३ करोड ३८ लाख शेयर रकम, १५ करोड ३१ लाख वचत रकम, १९ करोड ५१ लाख ऋण लगानी, १ करोड कोष सहित कुल सम्पत्ती २२ करोड रहेको संस्थाका प्रवन्धक ओम प्रकाश शर्माले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *