भेडी गोठमै बित्यो, रनबहादुरको साढे छ दशक

डम्मर बुढा मगर, बागलुङ
तमानखोला गाउँपालिका–५ खुङ्खानीका रन बहादुर सिर्पाली उमेरले सात दशक पार गर्नु भयो । उमेर घर्कदै गए पनि उहाँमा काम गर्ने जोस जाँगर भने तन्नेरीको भन्दा कम छैन । विहान उठेदेखि राति नसुतुन्जेलसम्म भेडाबाख्राको स्याहार सुसारमा लाग्ने सिर्पालीका दुई सय पचास बढी भेडाबाख्रा छन् । जाडो बढेपछि मंसिरमा बेसी झर्नु भएका सिर्पाली गर्मी याम सुरु भएपछि भेडाबाख्रा लिएर बुकी चढ्न थाल्नु भएको छ । सिपार्ली आफ्ना भाई देवबहादुर सिर्पालीसँग बुकी चढ्ने तयारीमा हुनुहुन्छ ।

देवबहादुरका डेढ सय र रनबहादुरका साढे दुई सय गरि चार सय भेडा बुकी लैजाने तयारी छ । तमानखोला गाउँपालिकाको केन्द्र बोङ्गादोभानदेखि नर्जाखानी जाने सडक उनीहरुको भेडाले ढाकिएका छन् । ठूलो भेडाको बथानमा केही काला र केही खैरो रंगका भेडा देखिन्छन् । यस क्षेत्रका अधिकांश स्थानीय पशुपालनमै निर्भर छन् । ७१ वर्षीय रनबहादुर भेडापालनमा लागेको ६४ वर्ष भयो । सात वर्षदेखि भेडा गोठालो गर्दै आउनु भएका सिर्पालीको यात्रा अहिले पनि नडमगाई निरन्तर चलि रहेको छ ।

बाउबाजेको पेसालाई अँगाल्दै आउनु भएका रनबहादुर नयाँ पुस्ता भेडापालनमा नलाग्दा परम्परागत पेसा हराउना थालेको प्रति चिन्तित हुनुहुन्छ । भाई देवबहादुरले पनि सानै उमेरदेखि यही पेसामा आवद्ध हुँदै आउनु भएको छ । ६० वषीय देवबहादुर भेडापालनमा लागेको ५२ वर्ष भयो । आठ वर्षकै उमेरदेखि भेडा चराउन सुरु गर्नु भएको सिर्पाली अहिले दाईसँग सहकार्य गर्दै आउनु भएको छ । उहाँहरुले भेडाहरु हुलमुलमा हराउने डरले सिङमा रातो, हरियो लगायतका रंगहरु लगाइ दिनुभएको छ । भेडापालन पुख्र्यौली पेसा भएको हुँदा यसको संरक्षण गर्नु पर्ने रनबहादुरको भनाइ छ ।

उहाँले आफ्ना पालामा अहिलेको जस्तो पढ्ने लेख्ने जमाना नभएको भन्दै जान्ने बुझ्ने भएदेखिनै गाईभैँसी र भेडाबाख्रा पाल्न थालेको बताउनुभयो । रनबहादुरले समय परिवर्तनसँगै गाउँघरमा पेसा पनि फेरिदै गएको बताउनुभयो । आफ्ना बाउबाजेले कृषि र पशुपालन गर्न सिकाएको स्मरण गर्दै अहिलेका अभिभावकले पढ्न लेख्न र विदेश जान सिकाउने गरेको उहाँको भनाइ छ ।

“पहिले–पहिले एकै जनाको दुई÷तीन हजार भेडा हुन्थे, अहिले त भेडापाल्ने मान्छे घट्दै गए, थोरैले मात्रै पाल्छन्, हामीहरुको जन्मनै भेडी गोठमा भयो, गोठमै जन्मेको, गोठमै हुर्केको हुँदा हाम्रो पेसा भेडापाल्ने भयो” रनबहादुर भन्नुहुन्छ– “हामीहरुले अरु केही गर्न जानिएन, जानेको यही पशुचौपायाको गोठाला गर्न हो, दुःख पाउनेको कोखमा जन्म भयो, दुःख पाउने पेसानै गर्नु प¥यो, सहज बजार त हाम्रो लागि बिरानो लाग्छ, दुःख भए पनि गाठनै रमाइलो हुन्छ ।”

पछिल्लो समय युवा पुस्ताले यो पेसा अँगाल्न नचाँहदा परम्परागत भेडापालन बिस्तारै हराउँदै गएको छ । केही समय अगाडीसम्म बागलुङको उच्च पहाडी क्षेत्रहरुमा भेडा गोठाले र भेडाहरु प्रशस्त मात्रामा भेट्याउन सकिन्थ्यो । पहिले पहिले भेडीगोठ जाँदा धेरै जिल्लाका धेरै ठाउँका भेडी गोठालेहरुको जमघट हुने गरेको तर पछिल्लो समय गोठाले कम भएको रनबहादुर बताउनुहुन्छ ।

भेडापालनबाटै परिवार चलाउँदै आएको देवबहादुरले बताउनुभयो । उहाँले पाँच भाईबहिनी छोराछोरी यही पेसाबाटै हुर्काउने र पढाउने गरेको बताउनुभयो । तीन छोरा र दुई छोरीको विवाहसमेत भेडा बेचेरै गरेको उहाँको भनाई छ । आफूहरुले अहिलेसम्म भेडापालन गर्दै आए पनि छोराछोरीले यस तर्फ चासोनै नदिएको देवबहादुर बताउनुहुन्छ । बुढापाकाले भेडापाल्न नसक्ने अवस्थामा पुगेको भन्दै अबको एक दशकमा वनपाखाहरु सुनसान हुने उहाँको भनाइ छ ।

देवबहादुर भन्नुहुन्छ– “भेडा चराउन निकै टाढा–टाढा पुग्नु पर्छ, हिमालको काखदेखि अग्लो पहाडका टाकुरासम्म पुग्ने गर्छौँ, केही वर्ष अगाडीसम्म भेडा लगेरमाथि बुकी तिर जाँदा हामी जस्तै धेरै भेडा गोठालेहरुको भेट हुन्थ्यो, अहिले त निकै कम भएको छ, बुढाहरु मरे होलान्, अहिलेका युवा तन्नेरीले यस्तो काम गर्दैनन्, यही हिसाबले त हामी मरेपछि त भेडाहरु पनि पाल्न छोड्छन् होला, पढ्ने लेख्ने मान्छेले भेडा पाल्न गाह्रो मान्छन् ।”

भेडाको सुरक्षाका लागि उहाँहरुले तीन वटा कुकुरसमेत पाल्नुभएको छ । उहाँहरु जता जानुहुन्छ, भेडा र कुकुर पनि र उतै लैजाने गर्नुहुन्छ । अबको एक सातामा बुकी पुग्ने देवबहादुरको भनाई छ । उहाँहरुले अहिले नर्जाखोलाको छेउमा सानो त्रिपालको छाप्रो बनाएर बस्दै आउनु भएको छ । उहाँ राती सुत्ने बेला पनि भेँडा उहाँहरुकै छेउँछाउमा बस्ने गर्नुहुन्छ । भेडाको बथानमा केही ठूला, केही साना र भर्खर सुत्केरी भएका बाख्रासमेत छन् ।

सरकारले कृषकहरुलाई अनुदानसमेत दिने गरेको छ । टाठाबाठा कृषकहरुले अनुदान लिने गरेका छन् । देवबहादुर र रनबहादुर जस्ता दुर्गम ठाउँका कृषकहरुलाई अनुदान भनेको थाहानै छैन । उनीहरुलाई सरकारले सहयोग गर्छ भन्दा अनौठो मान्छन् । तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले भेडापालक कृषकलाई गाउँपालिकाले करको दायरामा लिएर सेवा सुविधा दिन थालेको बताउनुभयो । उहाँले तमानखोलामा धेरै पशुपालक कृषक रहेको भन्दै उनीहरुलाई पालिकाबाट प्रदान हुने कुनै पनि सुविधाबाट वञ्चित नगराएको बताउनुभयो ।

“पशुपालनका लागि तमानखोला उर्वर मानिन्छ, यहाँ घना जंगल र भईँ घाँसका लागि प्रसस्त ठाउँहरु छन्, परापूर्वकदेखिनै यहाँका स्थानीयले भेडा पालन गर्ने र आफ्नो जीविकोपार्जन गर्दै आएको हुँदा अहिले पनि त्यो पेसा कायमै छ, बुढापाकाले निरन्तरता दिँदै आउनु भएको छ,” अध्यक्ष बुढा मगरले भन्नुभयो– “उहाँहरुलाई पाल, लाइट र आवश्यक सामग्रीहरु दिँदै आएका छौँ, परम्परागत रुपमा गर्दै आएकोमा अब आधुनिक प्रबिधिसँग जोड्ने प्रयास पनि भइ रहेको छ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *