बागलुङको विकास निर्माणमा प्रधानमन्त्रीको ध्यानाकर्षण


आदर्श अनलाइन, बागलुङ
बागलुङ जिल्लाबाट प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित सांसदहरुले जिल्लाको विकासका निम्ती प्रधानमन्त्रीलाई भेटेर ध्यानकर्षण गराएका छन् ।

संघ र प्रदेशमा बागलुङ जिल्लाबाट निर्वाचित १४ जना सांसदले प्रधानमन्त्री पुस्पकमल दाहाल (प्रचण्ड) पुर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, जनता सामाजबादीका नेता उपेन्द्र यादव, लोसपका अध्यक्ष महन्थ ठाकुर लगायतका शिर्ष नेताहरुलाई एकै ठाउँमा भेटेर जिल्लाको विकासका निम्ती ध्यानकर्षण गराएका छन ।

सांसदहरुले मुलुककै एक मात्र सिकार आरक्ष क्षेत्र ढोरपाटन क्षेत्र, उत्तरगंगा जलाशययुक्त जलविद्युतको काम अगाडी बढाउनुका साथै समग्र जिल्लाको जिल्लाका अन्य योजनाहरुका बारेमा प्रधानमन्त्री सहित शिर्ष नेतालाई भेटेर ध्यानआकर्षण गरिएको छ ।

सांसदहरुले ढोरपाटन विकास परियोजना बनाउनका निम्ती सरकारले ढोरपाटन एकिकृत समिति गठन गरी सम्भाव्यता अध्यनको थालनी गर्नुपर्ने कुरामा जोड दिएको बताएका छन् । सांसदहरुले आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम र बजेटमा बागलुङका लागि संघिय सरकारले सम्बोधन गर्नुपर्ने योजनाहरुको बारेमा समेत प्रधानमन्त्रीलाई जानकारी गराएको गण्डकी प्रदेश सांसद कृष्ण पाठकले जानकारी दिनुभयो ।

प्रधानमन्त्री समक्ष ढोरपाटन क्षेत्रको विकासका निम्ती नेपाल सरकारबाट नितिगत निर्णय गर्नुपर्नेका साथै यहाँको सम्भाव्यता अध्ययनका निम्ती आगामी आर्थिक वर्षमा उचित बजेट व्यवस्थापन गर्न आग्रह गरिको गण्डकी प्रदेश सांसद जीत शेरचनले जानकारी दिनुभयो । सांसदहरुले राष्ट्रिय गौरको आयोजनाको रुपमा रहेको उत्तरगंगा जलविद्युत आयोजना छिटोभन्दा छिटो सम्पन्न गर्न आवश्यक पहल गर्न माग गरेका छन ।

जिल्लाका ग्रामिण भेगका नागरिकले प्रशासनिक कामका लागि कठिनाई परेको हुँदा यसको सहजताका लागि गलकोट र बरेङ क्षेत्रमा ईलाका प्रशासन, मालपोत कार्यालय नापी कार्यालयको स्थापना गर्नुपर्ने प्रधानमन्त्री समक्ष माग गरिएको छ ।

गलकोट र बरेङ क्षेत्रका जनताले प्रशासनिक सेवा लिनका निम्ती सदरमुकाम नै आउनुपर्ने बाध्यता रहेका कारण आम जनताको सहजताका लागि दुई स्थानमा नै इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रधानमन्त्री समक्ष माग गरिएको हो । त्यसैगरी राष्ट्रिय गौरवका आयोजना मध्यपहाडी लोकमार्ग र कालिगण्डकी करिडोर र सालझण्डी ढोरपाटन सडक निर्माण काम तिब्रता र प्रभावकारी रुपमा निर्माणका लागि माग गरिएको छ ।

प्रधानमन्त्री सहित शिर्ष नेतालाई भेट्न बागलुङका संघीय सांसदहरु चित्रबहादुर केसी, देवेन्द्र पौडेल, देवी भट्टचन, गण्डकी प्रदेश सभाका सांसदहरु चम्पादेवी खड्का, जित शेरचन, डिल्लीराम सुवेदी, दिपेन्द्र बहादुर थापा, कुशुम बुढा, लिलाबहादुर थापा कृष्ण प्रसाद पाठक पुगेका थिए । जिल्लाको विकासका निम्ती उठाएका मागलाई गण्डकी प्रदेश सभाका उपसभामुख विनाकुमारी थापा, प्रदेश सभा सदस्य द्रोर्ण कुँवर, दिलमाया पौवी, गोविन्द नेपाली र म्याग्दीका संघिय सांसद खमबहादुर गर्बुजाले समेत सहमती जनाएका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *