संसदलाई ‘मजाक’को थलो नबनाउ

सम्पादकीय
संसद जनताको आवाज र आवश्यकता प्रतिबिम्बित हुने थलो हो । जनताको मतबाट निर्वाचित भएर गठित हुने जनप्रतिनिधिमूलक संस्था संसद् (प्रतिनिधिसभा, प्रदेशसभा, नगरसभा, गाउँ सभा) लोकतन्त्रमा सबै भन्दा तागतवर स्थल मानिन्छ । जनताले आफूमा निहित सार्वभौम सत्ताको अधिकारको प्रयोग गर्ने आफ्ना प्रतिनिधि अर्थात् सांसद मार्फत भएकाले यसको छुट्टै गरिमा छ । जहाँ जनता र देशका समस्या, आवश्यकता माथि छलफल, मन्थन मात्र होइन, तत्काल सरकारलाई समाधानका लागि जिम्मेवार, जवाफदेही बनाउने निकाय पनि हो । संसदमा सांसदहरुले बोलेका हर कुराहरुको रेकर्ड हुन्छ । हर गतिविधिहरु प्रत्यक्ष निगरानीमा हुन्छन् । यहाँ सीमित समयमा बोलिएका कुराहरुमा राज्य, सरकार बेवास्ता गरेर हिँड्न मिल्दैन । अतः लोकतन्त्रमा संसद निकै शक्तिशाली मानिन्छ ।

नेपालको संसद भने कतिपय सांसदहरुकै कारण बदनाम छ । त्यो भन्दा धेरै सांसदहरुकै कारण फितलो बनिरहेको छ । मर्यादित संसदमा हुने अमर्यादित गतिविधिका कारण थुप्रै प्रश्न र संशय छ । पछिल्लो पटक संसदमै नांगिए स्वतन्त्र सांसद अमरेश कुमार सिंह । गत सोमबारको प्रतिनिधि सभाको बैठकमा बोल्नका लागि आकस्मिक समय माग गरेकोमा सभामुखले नदिए पछि विरोधमा सर्ट र गञ्जी खोलेर बैठक स्थलमै मिल्काएका थिए । त्यसलगत्तै बोलेका एक संसदले उनको स्वास्थ्य जाँचको माग गरे । बुधवार मात्रै संसदमै विदुशी शब्दका विषयमा थुप्रै आरोप प्रत्यारोप चल्यो । यी त ताजा प्रतिनिधि घटना हो । संसदमा यस्तै कैयन अस्वभाविक घटना, परिदृश्य देखिएका छन्, जसले मर्यादित संसदको प्रतिष्ठामा गम्भिर आँच पु¥याइरहेका छन् । विरोध गर्ने स्वतन्त्रता छ, संसदमै विरोधका अरु अनेकन रचनात्मक उपायहरु पनि छन् । तर, सांसदले बिसिर्नु हुन्न कि संसदको आफ्नै नियम, मर्यादाहरु छन् । संसदमा अशिष्ट, अश्लिल, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकुल हुने गरी बोल्न र कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिंगलाई होच्याउने वा अरु कुनै किसिमले असर पर्ने गरी बोल्न र असंसदीय शब्द प्रयोग गर्न नहुने संसदीय मर्यादा छ । त्यसबारे सांसदहरु बेखबर छ अवश्य छैनन् ।

जनप्रतिनिधिमूलक संसद साँच्चिकै संसद जस्तो चलेको नागरिक देख्न चाहन्छन् । निर्वाचनबाट निर्वाचित भएर संसद पुगेकाहरुको भूमिका सोही किसिमको होस् भन्ने चाहन्छन् । संसदको मर्म, भावना, आवश्यकता जे छ, त्यसलाई अर्थपूर्ण र उपलब्धिमूलक बनाउन सबै सांसदहरुको सशक्त भूमिका भएको हेर्न चाहन्छन् । दुर्भाग्य भन्नुपर्छ, तिनै सांसदहरु अनेकन विवादास्पद काण्डहरुमा मुछिरहेका छन्, जनताको बिचमा अवैध कर्म र धन्दाहरुले नांगिरहेका छन् । संसद भित्रै पनि संसदको मर्यादामा खलल पुग्ने गतिविधि गरिरहेका छन् । संसद् बैठक गणपूरक संख्या नै नपुगेर स्थगित गर्नु परिरहेको छ । जसले सरकारलाई जनता र देशका सवालमा जिम्मेवार, जवाफदेही बनाउने जनउत्तरदायी संसदलाई मजाकको थलो बनाउने खतरा देखिन थालेको छ । यसमा सरकार, सभामुख, सांसद सबै गम्भिर बन्नु आवश्यक छ । अहिलेको आर्थिक मन्दी र अरु थुप्र जटिलता भोगिरहेको देशमा सांसद र संसदको भूमिका अझ तेज बनेको छ । यसलाई गहिरोबोध गरेर अघि बढ्न सक्नुपर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *