सहकारीका बारेमा फैलाइएका अफवाह रोक्न सदस्य जुटौ : जि.सी.

आदर्श अनलाइन, म्याग्दी
राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारीहरु डुबे भन्दै फैलाइएको अफवाह रोक्नका लागि सहकारीका सदस्यहरु जागरुक हुनु पर्नेमा जोड दिनु भएको छ ।

राष्ट्रिय सहकारी बैंक लिमिटेडको प्रविधिक सहयोगमा ज्यामरुककोट महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बेनी नगरपालिका वडा नं. २ ज्यामरुककोटले आयोजना गरेको २ दिने सहकारी शिक्षा तालिममा सहजीकरण गर्दै जिसीले यस्तो बताउनु भएको हो ।

ठुला शहर बजारमा केही सहकारीहरुको व्यवस्थापकीय कमजोरीका कारण वचत फिर्ता गर्न नसक्ने अवस्था सिर्जना भएपछि आम समुदायमा सबै सहकारी डुबे, सबै सहकारी यस्तै हुन् भन्ने अफवाह फैलाइएको छ, जिसीले भन्नुभयो, केही सहकारीमा आएको समस्यालाई देखाएर सबै सहकारीलाई खराव देखाउने प्रवृतिका विरुद्ध सहकारीका सदस्यहरु जुट्नु पर्दछ ।

सहकारीहरुले संकलन गरेको वचत डिपार्टमेण्टल स्टोर चलाउन, घरजग्गा खरिद गर्न, गाडी खरिद विक्री गर्न वा अन्य कुनै व्यवसायमा लगाउन पाइदैन, सदस्यबाट संकलित वचत रकम सदस्यहरुलाई नै ऋणका रुपमा लगानी गर्ने हो, जुन सहकारीले वचत रकम सदस्यहरुमा लगानी गरेका छन् ति सहकारीमा समस्या छैन, जसले वचत रकम अन्य व्यवसायमा लगाएका छन्, त्यहाँ समस्या देखिएको छ । गलत गर्ने सहकारीमा आएको समस्यालाई देखाएर सबै सहकारीलाई गलत सावित गर्ने जुन प्रयास भएको छ, यसलाई रोक्नका लागि सदस्यहरुमा जागरुकता आउनु पर्नेमा जिसीको जोड थियो ।

No description available.

सदस्य केन्द्रीत भएर सञ्चालन भएका सहकारीहरुमा तरलताको समस्या देखिन सक्छ, आफ्नो सहकारीमा आउने समस्या समाधानको जिम्मेवारी सदस्यहरुको पनि भएको भन्दै जिसीले भन्नुभयो, सदस्यहरुको काम संस्था राम्रो हुदाँ नाफा र ब्याज लिने मात्र होइन, संस्थामा समस्या आउदा सहयोग गर्नु पनि हो ।

ज्यामरुककोट महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष मन कुमारी थापा (विष्णु) ले बजार क्षेत्रका केही सहकारीमा वचत फिर्ता हुन नसकेको समाचार सञ्चारमाध्यम र सामाजिक सञ्जालमा देखेर गाउँका सहकारीहरु पनि डुब्ने हुन् कि भन्ने शंका शेयर सदस्यहरुमा देखिएकाले सहकारी शिक्षा कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

६ सय जना दिदी बहिनी संगठित भएर सहकारी चलाएका छौ, मासिक २५ रुपैया संकलन गरेर शुरु भएको संस्थामा यतिबेला ५० लाख शेयर रकम, १ करोड ४५ लाख वचत रकम र २ करोड ऋण लगानी छ, संस्थाका अध्यक्ष थापाले भन्नुभयो, हामीले संस्थामा जम्मा भएको रकम ३ सय जना दिदी बहिनीहरुलाई ऋण लगानी गरेका छौ, सदस्यबाट संकलन गरेको वचत र शेयर रकम सदस्यहरुमा नै लगानी भएकाले संस्थामा समस्या आउदैन, सबै ढुक्क हुनुहोस् ।

तालिमका सहभागी सदस्यहरुले आफुहरुले संकलन गरेको शेयर र वचत रकम आफुहरुमै ऋण लगानीमा रहेकोले संस्थामा कुनै पनि समस्या नआउने भन्दै सञ्चालकहरुलाई थप योजना र कार्यक्रम ल्याउन आग्रह गरेका छन् ।

संस्थाका सचिव उमा शर्माले बजारमा ठुलठुला घरमा सञ्चालन भएका सहकारीहरु त समस्यामा परे, हाम्रो त झन महिलाले सञ्चालन गरेको सहकारी के होला ? भन्ने त्रास सदस्यहरुमा देखिएको चर्चा गर्दै दुई दिने तालिमपछि सबैमा उत्साह देखिएको र सहकारी सुरक्षित कसरी हुन्छन् भन्ने बारेमा सबै सचेत बनेको बताउनुभयो ।

कार्यक्रममा बेनी नगरपालिका वडा नंं २ का वडा सदस्य विष्णु कुमारी सार्की, संंस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक गिता शर्मा लगायतले तालिम सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।

बेनी नगरपालिका वडा नं. २ कार्यक्षेत्र रहेको संस्थाले ६ सय जना शेयर सदस्यसंग मासिक वचत संकलन लगायत सदस्यहरुको क्षमता विकासका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *