जहाँ खानेपानी समस्या, त्यहाँ समाधान गर्दै नेवा : यस वर्ष १५ सय धारा निर्माण

डम्मर बुढा मगर, बागलुङ
बागलुङको बडिगाड गाउँपालिका–३ सिसाखानीमा एक वर्ष अगाडिसम्म खानेपानीको हाहाकार थियो । स्थानीयले एक गाग्री पानी भर्न चार घण्टा हिँडेर टाढा पुग्नु पथ्र्यो । तर अहिले स्थानीयको घर–घरमा धारा बनेका छन् । गाउँभन्दा खानेपानीको मुहान टाढा हुँदा स्थानीयले वर्षौँदेखि सास्ती खेप्नु परेको थियो । अघिल्लो वर्ष नेपाल स्वास्थ्यका लागि पानी (नेवा) र बडिगाड गाउँपालिकाको सहकार्यमा सिसाखानी गाउँमा एक घर एक धारा बन्यो । एक घर एक धारा निर्माण भएपछि सिसाखानीवासीको वर्षौँदेखिको समस्या समाधान भएको छ ।

अहिले गाउँगन छेउकै धारामा प्रसस्त पानी आउन थालेपछि स्थानीयको दैनिकीसमेत फेरिएको छ । गाउँमा खानेपानीको चरम अभाव भएपछि नेवा र बडिगाड गाउँपालिकाले ७० लाख ३७ हजार ७२ रुपैयाँ लागतमा एक घर एक धारा निर्माण गरि दिएका हुन् । गाउँमा निर्माण भएको ८३ वटा धारोबाट सयौँ स्थानीय लाभान्वित भएका छन् । एक घर एक धारा निर्माणका लागि नेवाले ५३ लाख ५७ हजार ५८ र बडिगाड गाउँपालिकाले ६ लाख ८० हजार १४ लगानी गरेका छन् । नेवाले जिल्लाका धेरै गाउँहरुमा एक घर एक धारा निर्माण गरि रहेको छ ।

जहाँ खानेपानीको हाहाकार छ, नेवा त्यहाँका स्थानीयको सारथी बनि रहेको छ । वर्षौँदेखि घण्टौँ लगाएर पानी बोकेर उपभोग गर्दै आएका स्थानीय घरमै धारा बनेपछि दंग परेका छन् । खानेपानीकै लागि घण्टौँ खर्चने स्थानीय अहिले अन्य काममा व्यस्त हुन थालेका छन् । घर–घरमा धारा बनेपछि गाउँलेको दैनिकीमा परिवर्तन आएको बडिगाड गाउँपालिका–३ सिसाखानी स्थित सोलीघोप्टे खानेपानी आयोजनाकी अध्यक्ष फुलमाया विकले बताउनुभयो । उहाँले विहान अँध्यारै उठेर पानी ल्याउन पँधेरो जाने र फर्किदा बालबालिकालाई विद्यालय पढाउन ढिला हुने गरेको बताउनुभयो ।

विकले भन्नुभयो – “यो गाउँमा खानेपानीको समस्या भएको वर्षौँदेखि हो, अहिले बल्ल घरघरमा धारा बन्यो र पानी आउन थाल्यो, घरैमा धारो बन्ला भनेर मैले पहिले सोँचेको पनि थिएन, चार घण्टा पुरै लगाएर खानेपानी ल्याउनु पथ्र्यो, अहिले पानी बोक्नका लागि गाग्रीसमेत उचाल्न परेको छैन, अहिले त केटाकेटीलाई स्कुल समयमै पठाइन्छ, सरसफाइ र तरकारी खेतीमा पनि सहज भएको छ, गाउँलेको जीवननै बदलिएको छ, म त निकै खुसी भएको छु, अब पहिलेको जस्तो दिन आउँदैन होला ।”

घरमा धारो नबन्दा चार घण्टा लगाएर स्यालाखोला, छहराखोलाबाट पानी लिएर उपभोग गरेको विक बताउनुहुन्छ । नेवाले जिल्लाको निसीखोला गाउँपालिका–६ जाउलेपानीमा पनि एक घर एक धारा निर्माण गरि दिएको छ । निसीखोला गाउँपालिकाको सहकार्यमा नेवाले यहाँ ८७ धारा निर्माण गरेको छ । जाउलेपानीमा ४७ लाख ६५ हजार १२२ रुपैयाँको लागतमा धारा निर्माण गरिएको नेवाका सभ ओभरसियर धनवीर सावतले जानकारी दिनुभयो । गाउँपालिकाको चार लाख ९६ हजार ६४५ र नेवाको ४२ लाख ६८ हजार ४७७ रुपैयाँको लागतमा यस गाउँमा सहज खानेपानीको व्यवस्थापन गरेको सावतको भनाई छ ।

स्थानीय धाटबहादुर घर्ती मगर व्यवस्थित धारा नहुँदा दुषित पानी उपभोग गर्दै आएको भन्दै अहिले घरमै शुद्ध पानी आउने गरेको बताउनुभयो । जाउलेपानी खानेपानी आयोजनाका अध्यक्षसमेत रहनु भएका घर्ती मगरले पहिले गाउँमा एउटा धारा एउटो टोलले प्रयोग गर्दा समय–समयमा झैझगडा हुने र सहज रुपमा पानी भर्न नपाएको बताउनुभयो । घरमै धारो बनेपछि बारीमा तरकारी लगाउन र पशुचौपायालाई पेटभरी खुवाउन पाएको उहाँको भनाई छ ।

“गाउँमा पहिला पनि धारा त थिए तर अहिलेको जस्तो एक घर एक धारा थिएनन्, एउटा धारोबाट ८÷१० घरकाले पानी खानु पथ्र्यो, अहिले त त्यो समस्या हट्यो,” अध्यक्ष घर्ती मगरले भन्नुभयो– “पहिला खुला दिशामुक्त गाउँ घोषणा भए पनि पानीको समस्या हुँदा समस्या थियो, अहिले बल्ल पूर्ण रुपमा कार्यान्वयन हुँदैछ, अब कोही पनि पानीका लागि झगडा गर्नु पर्दैन, अहिले त गाउँलेहरु पनि धेरै खुसी भएका छन्, नेवाले ठूलो सहयोग ग¥यो, हामीहरुले पनि जनश्रमदान ग¥यौँ ।”

नेवाले यस वर्ष जिल्ला भर एक हजार पाँच सय चार वटा धारा निर्माण गर्ने लक्ष्य राखको छ । चालु आर्थिक वर्षको हालसम्म आठ सय १० वटा धारा निर्माण गरिसकेको र अझै छ सय ९४ धारा निर्माणाधिन अवस्थामा रहेको नेपाल स्वास्थ्यका लागि पानी (नेवा) बागलुङका कार्यक्रम अधिकृत विनोद कोइरालाले जानकारी दिनुभयो । नेवाले चालु आर्थिक वर्षमा छ करोड ६७ लाख ४९ हजार चार सय ९८ रुपैयाँको बजेटमा जिल्लाभर धारा बनाउन थालेको कोइरालाले बताउनुभयो ।

हालसम्म छ करोड चालिस लाख बढी रुपैयाँको योजना सम्पन्न भएको उहाँको भनाई छ । संस्थाले खानेपानीको चरम अभाव भएका स्थानका नागरिकहरुलाई सहज रुपमा खानेपानीको पहुँच पु¥याउने उद्देश्यले काम गरिरहेको भन्दै यस वर्षको योजना सम्पन्न भए पछि धेरैले खानेपानीकै लागि धेरै सास्ती खेप्नु नपर्ने उहाँको भनाई छ । खानेपानीको अभाव भएका ठाउँबाट माग गरे अनुसार नेवाले आवश्यकताको आधारमा काम गरिरहेको भन्दै धेरैलाई खानेपानीको सहजता प्रदान गर्न आफूहरु लागि परेको बताउनुभयो ।

कोइराला भन्नुहुन्छ– “हाम्रो मुख्य उद्देश्य नागरिकलाई सहज रुपमा स्वच्छ र सफा पानी खुवाउनु हो, सोही अनुसार संस्थाले काम गरि रहेका छौँ, अहिले धेरै नागरिकलाई सहज हुँदै गएको छ, यस वर्षका योजना सकिए भने धेरै नागरिक खानेपानीको सहज पहुँचमा आउँछन्, हामीले पनि धेरैलाई सहज पु¥याउने उद्देश्यले काम गरिरहेका छौँ, अहिले योजना नपरेका ठाउँमा आगामी वर्षमा हुने छ ।”

चालु वर्षमा जनश्रमदान, समुदायको सहयोग, गाउँपालिका तथा नगरपालिका र नेवाको गरि ११ करोड १७ लाख ४० हजार २१२ रुपैयाँ लागतको काम भइरहेको नेवा बागलुङले जनाएको छ । नेवाले यस वर्षदेखि म्याग्दीमा पनि काम गर्न थालेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *